जटिल प्रसुतिसेवा नहुँदा स्वास्थ्य चौकीमै गर्भवतीको मृत्यु

 मंसिर १९, २०७५ बुधबार ६:४२:१३ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – बेलका नगरपालिका– ६ मा बच्चा जन्माउन नसक्दा मंगलबार साँझ स्वास्थ्यचौकीमै एक गर्भवतीको ज्यान गएको छ । बेलका– ६ की १९ वर्षीया सम्झना राईको रामपुर स्वास्थ्यचौकीमा ज्यान गएको हो ।

जटिल प्रकारको प्रसूति सेवा स्वास्थ्य चौकीमा उपलब्ध  नभएकै कारण गर्भवती राईको स्वास्थ्य चौकीमा ज्यान गएको बेलकाकी उपप्रमुख राजकुमारी चौधरीले जानकारी दिनुभयो । 

मुटुको समस्या भएकी सम्झनालाई सुत्केरी व्याथा लागेपछि स्थानीय बर्थिङ सेन्टरमा लगिएको थियो ।  चौधरीले भन्नुभयो, ‘गर्भ जाँच गर्न आउँदा स्वास्थ्यमा समस्या छ, सुविधा सम्पन्न अस्पतालमा लैजानु भनेर स्वास्थ्यकर्मीले भनेका रहेछन् परिवारका सदस्यले लापर्वाही गर्दा उहाँको ज्यान गयो ।’ 

जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी दुनियाँलाल यादवले भन्नुभयो, ‘गर्भवती सम्झनालाई सुत्केरी व्यथा लागेपछि अटोमा स्वास्थ्य चौकी पठाएर श्रीमान् निशान राई पैसाको जोहो गर्न  लागेको भन्ने पनि सुनेको छु ।’ श्रीमान् अस्पताल पुग्दा सम्झनाको ज्यान गइसकेको थियो । 

बच्चा जन्माउन नसक्दा आमा र बच्चाको मृत्यु हुन विडम्बना रहेको यादवको भनाई छ । उहाँले भन्नुभयो, ‘बच्चा जन्माउन नसकेकै कारण गर्भवतीको मृत्यु हुनु गम्भीर कुरा हो ।’
 

अन्तिम अपडेट: चैत १४, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया