बलात्कारको अभियोगमा दुईजना जेल चलान, तीन वर्ष कैद सजायको फैसला

 मंसिर २१, २०७५ शुक्रबार १९:४७:५५ | शुभनारायण यादव
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सप्तरी – सप्तरीमा २५ वर्षीया एक महिलालाई बलात्कारको प्रयास गरेको अभियाेगमा जिल्ला अदालतले दुईजनालाई साढे तीन वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलाशले सप्तरीको विष्णुपुर गाउँपालिका– ५, का ३५ वर्षीय जिवछ राम र वडा नम्बर ३ का ३० वर्षीय इसराइल मियाँलाई साढे तीन वर्ष कैद सजायको फैसला गरेको अदालतले जनाएको छ ।

गाउँकै एक विवाह समारोहबाट घर फर्किरहेकी महिलालाई गएको फागुन २५ गते राति नियन्त्रणमा लिई गहुँ खेतमा लगेर बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले फागुन २७ गते उजुरी दर्ता गरेको थियो ।

घटनापछि फरार आरोपितलाई नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा भारत विहारको अन्ध्रामण्ठ थाना महथौर ग्राम पञ्चायतबाट गएको चैत ४ गते पक्राउ गरी सप्तरी ल्याएको थियो ।

दुवै आरोपित राजविराज कारागारमा चैत २९ गतेदेखि थुनामा थिए । आरोपितमाथि दायर भएको बलात्कारको मुद्दा पुष्टि हुन नसकेपछि त्यो मुद्दा जबरजस्ती करणी उद्योगमा परिणत भएको अदालतले जनाएको छ ।

जिल्ला अदालतका स्रेस्तेदार दीलकुमार बर्देवाका अनुसार सामूहिक रुपमा बलात्कार प्रयास गरेको आरोपमा उनीहरुलाई साढे तीन वर्ष कैदको सजाय सुनाइएको हो ।


 

अन्तिम अपडेट: चैत १०, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया