मनमोहक मर्दी (फोटो फिचर)

 मंसिर २२, २०७५ शनिबार १४:४५:९ | कृष्ण गुरागाईं
unn.prixa.net

जीवनमा केही कुरा निश्चित छ भने त्यो 'अनिश्चिता' नै हो । त्यस्तै मर्दी हिमाल बेस क्याम्पसम्मको पदयात्रा गर्दा आफूले निश्चित गरेका धेरै कुरा 'अनिश्चत' भइदिन्छन् ।

कास्की जिल्लामा पर्ने मर्दी हिमालको बेसक्याम्प पदयात्रा सुरु गर्नका लागि ३ वटा चलनचल्तीका ठाँउ छन् । बुझ्न सजिलोका लागि पोखरालाई केन्द्र बनाउँ । पोखरा-बागलुङ भूपी शेरचन राजमार्गमा पर्ने हेम्जा, फेदी वा घट्टेखोला हुँदै धम्पुस र काँडेबाट पदयात्रा सुरु गर्न सकिन्छ ।

समय पनि थोरै छ भने हेम्जाबाट जीप चढेर सिदिङ जाने र नाक ठोकिने उकालो चढ्ने । हेम्जाबाट २ घण्टा जीप चढेर सिदिङ र त्यहाँबाट लोक्याम्प, बादले डाँडा, हाइक्याम्प, भ्यू-प्वाइन्ट हुँदै बेसक्याम्प । २ देखि ३ दिनमा यो बाटो हुँदै मर्दी हिमाल बेसक्याम्प पुगेर पोखरा फर्किन सकिन्छ । हिँड्न चाहिँ दैनिक १०-१२ घण्टा हिँड्नु पर्छ । त्यो पनि नाक ठोक्किने उकालो र त्यस्तै ओरालो बाटो ।

अर्को रुट, हेम्जाबाट अलि अगाडि बढेपछि धम्पुस जाने बाटो समात्ने । धम्पुससम्म मोटरबाट जाने हो भने घट्टेखोला हुँदै उकालो चढ्नुपर्छ । हिँड्ने हो भने फेदीबाट उकालो चढ्ने । यो बाटो धम्पुस, पोथना, प्रितम देउराली, फरेष्ट क्याम्प हुँदै लोक्याम्प पुग्छ । लो क्याम्प पुगेपछि सिदिङ भएर आउने बाटो पनि भेटिन्छ र एउटै बाटो बादले डाँडा हुँदै उकालो लाग्न सकिन्छ ।

तेश्रो चाहिँ हेम्जा, घट्टै खोला हुँदै भूपि शेरचन राजमार्गमा अलि अगाडि बढेपछि काँडे पुगिन्छ । काँडेबाट सुरु भएको यात्रा अष्ट्रेलियन क्याम्प हुँदै पोथनामा पुग्छ । पोथनाबाट प्रितम देउराली, फरेष्ट क्याम्प हुँदै लोक्याम्प पुग्छ । अनि बादलेडाडाँ हुँदै हाइक्याम्प र भ्यू-प्वाइन्ट ।

प्रितम देउरालीबाट फरेष्ट क्याम्प पुग्न सामान्य हिँडाईले ४ देखि ५ घण्टा लाग्छ । यो हिँडाईमा जम्मा १ गोठ भेटिन्छ । बाँकी जंगलैजंगल । फरेष्ट क्याम्पबाट उकालो लागेपछि १-२ घण्टाको फरकमा टी-हाउस पाइए पनि हिमाल छ्याङ्ग देख्न चाहिँ बादले डाँडा नै पुग्नुपर्छ ।

धेरै सुनेको, पढेको र कम समयमा पूरा गर्न सकिने भएकोले जाऔं न त भन्दै दसैँको टीकाको पर्सिपल्ट हामी पोखराबाट धम्पुस हुँदै उकालो लाग्यौँ । मर्दी बेस क्याम्प पदयात्रासम्बन्धी युट्यूबमा उपलब्ध केही भिडियो सामग्री हेरेकोले दैनिक हाम्रो यात्राको निश्चित तालिका थियो ।

खाना खाने, खाजा खाने र बास बस्ने । र, सम्बन्धित ठाँउमा १ हप्ता अघिदेखि बासका लागि होटललाई अग्रिम जानकारी दिने । तर हामीले निश्चित गरेको तालिकाको पहिलो दिन नै टिकेन । हाम्रो मात्र होइन, धेरै जनाले यसरी निश्चित गरेको तालिका हाम्रो जसरी नै खलबलिएको देखियो । महिनौं अघिदेखि योजना बनाउने विदेशी पर्यटकको त के कुरा, पथ प्रदर्शकको पनि उस्तै हालत ।

हामीले पहिलो दिनका लागि फरेष्ट क्याम्पको एउटा गेष्ट हाउसमा बास बस्नका लागि कोठा फोनबाट अग्रिम रुपमा प्रबन्ध गरेका थियौँ । त्यो पनि एकपल्ट होइन, ५-७ पटक फोन गरेर निधो गरेको । तर जब होटल पुगियो केही बेर अघिसम्म फोनमा कोठा राखिदिएको बताउने साहुसाहुनीले हामीले फोन गरेको भनेर पटक्कै मानेनन् ।

मोबाइल सेटमा डायल भएको नम्बर देखाउँदा पनि उनीहरु टसको मस भएनन् । किनकी त्यो दिन यति धेरै मान्छे मर्दीको उकालो चढेका थिए कि भान्सा, गाईगोठ, आँगनका टेन्ट भरिएर बासको खोजीमा जताततै मान्छे नै मान्छे थिए ।

सुरुमा होटलवालासँग झनक्क रिस उठे पनि उस्तै परे गोठ पनि नपाइने बुझेपछि हामीले चुपचाप भान्सामा रात काट्ने निर्णय गर्यौं । हामीभन्दा पछि आउनेले गोठ, डेस्क, बेन्च, कुर्सीमा बिना ओढ्ने ओछ्याउने रात काटे ।

पहिला-पहिला एबीसी यात्रामा मान्छे भान्सामा सुत्थे भनेर सुनेको मात्र । आफैँले मर्दी यात्राको पहिलो रात भान्सामा कटाउनु पर्यो ।

त्यसपछि उकालो लागेपछि होटल पाउन उस्तै कठिन । एउटा कोठामा ८-१० जना त सामान्य । हो पनि, न नजिकै गाँउ छ, न त अरु केही विकल्प । ओत लाग्ने ठाँउ पाउनु चिठ्ठा परेजस्तै ।

अरु दिन पनि हामीले बासका लागि एउटा होइन, २-३ वटा होटलमा फोनबाट बासको प्रबन्ध निश्चित गरेका थियौँ । तर समस्या उस्तै । बास बस्नका लागि हामीले भात पकाउनेदेखि भाँडा माझ्नेसम्मका काम गर्नुपर्यो ।

केही वर्षदेखि धेरै नेपालीहरुको रोजाईमा परेको यो पदयात्रामा बास बस्नका लागि होटल कम छन् । फरेष्ट क्याम्प, लोक्याम्प, हाइक्याम्पमा भएका होटलले पदयात्रीको चाप थेग्न सक्दैन । नजिकै कुनै गाँउ पनि नभएकोले आएजति मान्छेलाई खाना खुवाउनु र एकसरो ओढ्ने ओछ्याउने पुर्याउन गेस्ट हाउस सञ्चालकलाई हम्मेहम्मे पर्छ ।

३-४ दिनमा सकिने, सजिलो र पोखराबाट नजिकै भएकोले मर्दी हिमाल बेसक्याम्प जानेको संख्या दिनानुदिन बढेको बढ्यै छ । अझ चाडपर्वको आसपासमा त यो भिड साँच्चिकै थामी नसक्नुको । होटलवालाहरुको कुरा - आएका मान्छेलाई फर्काउन त मिलेन नि ।

हाइक्याम्पबाट बिहान ३-४ बजे उठेर उकालो लागेपछि लगभग २ घण्टामा भ्यू प्वाइन्ट पुगिन्छ । ३-४ बजे उठेर उकालो लाग्नुको कारण चाहिँ भ्यू प्वाइन्टबाट देखिने सूर्योदय र हिमश्रृंखलामा पर्ने सूर्यको किरण ।

धेरैले यात्रा ४२०० मिटरको उचाइमा रहेको भ्यू प्वाइन्टमा सकाएर फर्किन्छन् भने केही चाहिँ त्यहाँबाट अघि बढेर ४५०० मिटरमा अवस्थित मर्दी हिमाल बेसक्याम्पसम्म पुग्छन् । हामीले पनि भ्यूप्वाइन्टलाई अन्तिम बिन्दु बनाएर फर्कियौँ ।

भ्यू-प्वाइन्टमा पुगेपछि देखिने दृश्यले अघिल्ला दिनहरुमा बस्न र छ्याङ्ग हिमाल हेर्न नपाएको दु:ख मात्र बिर्साउँदैन्, केही दिन उतै माछापुच्छ्रेको फेदीतिरै बसौँबसौँ लाग्ने बनाउँछ ।

धेरै कुरा निश्चित नगरी जसो पर्छ त्यस्तै टर्छ भनेर मर्दी हिमाल बेसक्याम्पको पदयात्रा गर्ने हो भने साँच्चिकै रोमाञ्चक छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया