‘स्कुलकै बसले बच्चा किचेर मार्दा पनि प्रिन्सिपल हामीलार्इ भेट्नसम्म आएन’

 मंसिर २३, २०७५ आइतबार १९:५१:२९ | उज्यालो सहकर्मी

भक्तपुर – भक्तपुरको कमलविनायकमा रहेको रोम्बर इङ्लिस स्कुलको बसले आफ्नै विद्यार्थीलाई ठक्कर दिएर ज्यान गएको तीन दिन बितिसक्दा पनि प्रिन्सिपल सम्पर्कमा नअाएकाे भन्दै अाफन्तले प्रहरी परिसर घेराउ गरेका छन् । 

प्रिन्सिपल सम्पर्कमा नअार्इ फरार रहेको भन्दै पीडित परिवार र अभिभावकले आइतबार दिनभर महानगरीय प्रहरी परिसर घेराउ गर्नुका साथै सडक बन्द गराएका हुन् । 

गएको शुक्रबार त्यसै स्कुलमा कक्षा १ मा अध्ययनरत ७ वर्षीया बालिका प्रतिष्ठा खत्रीलाई स्कुलको बा.१ क. ७२८५ नम्बरको बसले ठक्कर दिँदा बालिकाको मृत्यु भएको थियो । 

आफ्नै स्कुलको विद्यार्थीको मृत्यु हुँदा पनि प्रिन्सिपल राजेन्द्र कोजू भने मृतक परिवार र आफन्तसँग सम्पर्कमै नआई लुकेर बसेको भन्दै चाँगुनारायण नगरपालिका–८, सुडालका अभिभावकले कोजूलाई पक्राऊ गर्न माग गर्दै प्रहरी परिसरमा नाराबाजी गरेका छन् । 

प्रहरीले शनिबार पक्राउ गरेर ल्याए पनि अपराह्न प्रिन्सिपललाई छोडेको र परिवारसँग नभेटी फरार भएको भन्दै प्रहरीले नै प्रिन्सिपल भगाएको उनीहरुको आरोप छ ।

मृतक बालिकाकी हजुरआमा मञ्जु खत्रीले स्कुलले बसमा एकजना सहचालक समेत नराखी चलाउँदा आफ्नी नातिनीको ज्यान गएको भन्दै फरार प्रिन्सिपललाई प्रहरीले नै भगाएको आरोप लगाउनुभयो । 

उहाँले भन्नुभयो, ‘तपार्इंको बच्चा पनि मेरै हो, म सुरक्षा गर्छु भनेर राजेन्द्र कोजूले बच्चा जिम्मा लिएर भर्ना गर्यो, अहिले त्यही स्कुलको बसले बच्चा किचेर मार्दा पनि प्रिन्सिपल हामीलाई सान्त्वना दिनसम्म आएन, त्यसलाई प्रहरीले भगायो, किन पक्राऊ गरेन ?’

यसअघि पनि बसमा सहचालक राख्न, भीड बसमा बच्चा नहाल्न, बस छिटो नचलाउन र विद्यार्थीलाई झारेपछि बाटो कटाएर मात्रै लैजान यहाँका अभिभावकले गुनासो गर्दा प्रिसिन्सपलले अटेर गरेको प्रहरी परिसर घेराउ गर्न आएका अभिभावकले बताएका छन् । 

गएको शुक्रबार बच्चालाई बसबाट झारेर बाटो नकटाई स्कुल बस अगाडि बढाउँदा बाटो काट्दै गरेकी बालिकालाई बसले ठक्कर दिएपछि उनको ज्यान गएको थियो । पीडित परिवार, आफन्त र अभिभावकले प्रहरी परिसर घेराउ गरेर नाराबाजी गर्दै भक्तपुर ब्यासी हुँदै कमलविनायक जाने सडक समेत बन्द गरेका छन् । 
अपरान्ह ४ः१५ बजेदेखि  ५ बजेसम्म प्रहरी, प्रशासन र स्कुलविरुद्ध नाराबाजी गर्दै सडक बन्द गराउँदा सयाैं बसहरु सडकमै अलपत्र परेका थिए ।

प्रिन्सिपललाई पक्राउ नगरेसम्म बालिकाको शव नउठाउने परिवारले जनाएको छ । शव भक्तपुर अस्पतालमा राखिएको छ । बस चालक भक्तपुर नगरपालिका–८, लिवाली बस्ने ३७ वर्षीय दिपक लाखेमरुलाइ भने प्रहरीले नियन्त्रणमा लिएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया