छोरीले नै आमालाई ‘चिन्दिन’ भनेपछि...

 मंसिर २४, २०७५ सोमबार ८:३९:२३ | सन्तोष थापा
unn.prixa.net

पर्वत – फलेवास नगरपालिका ४ मुडिकुवाकी नेत्रकुमारी कुँवर उमेरले ५६ वर्ष पुग्नुभयो । उहाँ बोल्न सक्नुहुन्न । आफैंले जन्म दिएकी छोरीले ‘चिन्दिन’ भन्दा उहाँले नागरिकता पाउन सक्नुभएको छैन । 

नेत्रकुमारीले २०४६ सालमा फलेवास ४ का छविलाल कुँवरसँग विवाह गर्नुभयो । पहिलो श्रीमतीबाट सन्तान नभएपछि छविलालले नेत्रकुमारीलाई भित्र्याउनुभएको हो ।

२०५३ सालमा नेत्रकुमारीबाट छोरीको जन्म भयो । अहिले छोरी सुस्मिता २२ वर्षको पुगिन् । सुस्मिताले नागरिकता प्रमाणपत्र बनाउने क्रममा नेत्रकुमारीलाई आफूले नचिन्ने प्रशासन समक्ष बताएपछि जिल्ला  प्रशासन कार्यालय समेत अन्योलमा परेको छ । 

‘समाजले उसैले जन्माएकी छोरी हो भनेर चिन्छ, तर छोरीले चिन्दिन भन्नुहुन्छ’ प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले भन्नुभयो, ‘आफैंलाई जन्माएकी आमालाई चिन्दिन भन्दा अचम्म परिएको छ ।’  

पीडित महिला नेत्रकुमारीका आफन्तहरुले दिएको जानकारी अनुसार उहाँका घर परिवारले सुस्मिताको जन्म भएपछि २० दिन नपुग्दै कुटपिट र गाली गलौज गरेर घर निकाला गरेका थिए । घर निकाला गरेपछि उहाँ माइतीघरमा बस्दै आएको र जन्म दिएकी छोरीलाई लिन जाँदा घरपरिवारलेसमेत बच्चालाई लुकाएर ल्याउन नदिएको परिवारका सदस्य नवराज भण्डारीले बताउनुभयो । 

छविलालकी जेठी श्रीमतीले नै सुस्मिताको पालन पोषण गर्दै आएकी थिइन् । छोरीसहित छविवालकी जेठी श्रीमती चन्द्रकलीलेसमेत जिल्ला प्रशासन कार्यालय समक्ष नै अस्वीकार गर्दा उहाँले नागरिकता पाउन समस्या खेप्नु परेको हो । नागरिकता पाउन नसकेपछि उहाँले सामाजिक सुरक्षा भत्ता समेत पाउन सक्नुभएको छैन । 

नागरिकता दिलाएर छाड्छौं : प्रजिअ ढकाल

पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पीडित नेत्रकुमारी कुँवरलाई नेपाली नागरिकता प्रमाणपत्र दिलाएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सकेसम्म परिवारकै सदस्यबाट सनाखत गराउने र असम्भव भए सामाजिक रुपमा समेत प्रमाणित गराई नागरिकता दिलाउने ढकालले बताउनुभयो । 

जन्म दिएकी छोरीले नै आमालाई नचिन्ने दावी गरेपछि समस्या परेको बताउँदै उहाँले जुनसुकै हालतमा नेत्रकुमारी कुँवरलाई नागरिकता दिलाउने बताउनुभयो ।

जिल्ला अदालत, वडा कार्यालयलगायतका कागजातबाट पनि नेत्रकुमारी छविलाल कुँवरको श्रीमती भएको प्रमाण फेला परेको हुँदा नागरिकता दिलाउन समस्या नरहेको उहाँको भनाई छ । 

अन्तिम अपडेट: चैत २८, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया