कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
सिन्धुपाल्चोक – नक्कली बाबु खडा गरी नेपाली नागरिकता प्रमाण–पत्र सिफारिस गरेको आरोपमा हेलम्बु गाउँपालिका–६, का वडा अध्यक्ष खेतनाथ घिमिरे काठमाडौंबाट पक्राउ परेका छन् ।
मेलम्ची नगरपालिका–९, ज्यामिरेका खुसी तामाङको नक्कली बाबु बनाएर हेलम्बु गाउँपालिका–६, इचोकबाट नागरिकता सिफारिस गरेको आरोपमा घिमिरे काठमाडौंबाट पक्राउ परेका हुन् ।
आशाराम तामाङलाई नक्कली बाबु खडा गरेर खुसी तामाङलाई स्थानीय वडा अध्यक्ष घिमिरेले नागरिकता सिफारिस दिएको खुलेको छ ।
नागरिकता सिफरिसपछि आशाराम दाइ बनेरै खुसीको नागरिकता समेत बनाएको प्रहरीले जानकारी दिएको छ ।
नक्कली नागरिकता बनाएपछि उनीहरु दुवै जनालाई बौद्ध प्रहरीले पक्राउ गरेर सिन्धुपाल्चोकमा पठाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी मोहनप्रसाद पोखरेलले जानकारी दिनुभएको छ ।
खुसी तामाङको बाबुको नाम बिर्खबहादुर तामाङ हो, तर नागरिकतामा भने आशारामको बाबुको नाम वीरबहादुर राखेर नागरिकता लिएको खुलेको छ ।
जेठ ११ गते जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट २४–०१–७५–०१०३५ नम्बरको नागरिकता प्रमाण–पत्र लिएर त्यही दिन नै राहदानीको सिफारिस समेत लिएको प्रहरीले जानकारी दिएको छ ।
खुसीले केन्द्रीय राहदानी विभागबाटै राहादानी समेत बनाइसकेको खुलेको छ ।
नक्कली दाइ बनेर नागरिकता सिफारिस गरेका आशारामको परिवारले आफ्नो परिवारको सदस्य भएर नागरिकता बनाएको थाहा पाएपछि बौद्ध प्रहरीलाई खबर गरेपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको थियो ।
ज्यामिरेकी महिलाले किन हेलम्बु गाउँपालिकाबाट नागरिकता लिइन् भन्ने चाहिँ गम्भीर विषय भएको प्रहरीले बताएको छ ।
‘अनुसन्धान सुरु गरेका छौँ,’ एसपी पोखरेलले बताउनुभएको छ ।
नक्कली दाइ बनेका आशाराम स्थानीय चुनावमा वडा अध्यक्ष घिमिरेका चालक रहेर काम गरेका थिए ।
लामो समय शिक्षण पेशामा आवद्ध घिमिरेले स्थानीय चुनावमा शिक्षकबाट राजीनामा दिएर वडा अध्यक्षमा नेपाली काँग्रेसबाट चुनावमा भाग लिएर विजयी भएका थिए ।