राहुलले रोके ‘मोदी लहर’ : तीन राज्यमा बीजेपी सत्ताबाट ‘आउट’

 मंसिर २५, २०७५ मंगलबार १९:७:२६ | एजेन्सी
unn.prixa.net

भारतको पाँच राज्यमा भएको विधानसभा चुनावमा भारतीय जनता पार्टी(बीजेपी)लाई भारतीय कांग्रेसले ठूलो झट्का दिएको छ । 

राजस्थान र छत्तीसगढमा भारतीय कांग्रेस सत्तामा फर्किने संकेत देखिएको छ । त्यस्तै मध्य प्रदेशमा पनि कांग्रेसले बीजेपीलाई कडा टक्कर दिएको छ । मध्य प्रदेशमा कुनै पनि दल बहुमतनजिक नपुग्ने हो कि भन्ने देखिएको छ । यदि त्यस्तो भएमा त्यहाँ त्रिशंकु सरकार बन्नेछ । 

मे २०१४ मा सत्तामा आएका नरेन्द्र मोदी नेतृत्वको सरकारलाई पछिल्लो मतपरिणामले ठूलो झट्का दिएको छ । किनकी बीजेपीलाई सरकारमा पुर्याउन यी राज्यले अहम भूमिका खेलेका थिए । छत्तीसगढ र मध्य प्रदेशमा १५ वर्षदेखि बीजेपीको सरकार रहेको छ भने राजस्थानमा पाँच वर्षअघि अशोक गहलोत नेतृत्वको कांग्रेस सरकारलाई हराएर बीजेपीकी बसुन्धरा राजेले सत्ता सम्हालेकी थिइन् । 

मध्य प्रदेश विधानसभामा  २३० सिट रहेको छ । जहाँ सरकार बनाउन ११६ सिट आवश्यक पर्छ । प्रारम्भिक मतपरिणाम अनुसार मध्य प्रदेशमा कांग्रेसले ११४ सिटमा अग्रता बनाइरहेको छ । मध्य प्रदेशको १०८ सिटमा भारतीय जनता पार्टी(बीजेपी) ले अग्रता बनाइरहेको छ । अन्य दल ८ सिटमा अग्रता लिइरहेका छन् । यहाँ कांग्रेसलाई सरकार बनाउन केवल २ सिट आवश्यक देखिन्छ ।

राजस्थान विधानसभामा २०० सिट भए पनि एक जना उम्मेदवारको निधन भएका कारण १९९ सिटमा चुनाव भएको थियो । राजस्थानमा सरकार बनाउन १०० सिट चाहिन्छ । राजस्थानको प्रारम्भिक मतपरिणामअनुसार कांग्रेस ९९ सिटमा अगाडि छ भने बीजेपी ७५ सिटमा अगाडि छ । राजस्थानमा सरकार बनाउन कांग्रेसलाई मात्रै एक सिट आवश्यक देखिन्छ । तर अहिलेसम्म पूरा मतपरिणाम नआएकाले राजस्थानमा सत्ताको चाबी अन्य दलको हातमा रहन सक्ने देखिन्छ । राजस्थानमा अन्य दलको खातामा २५ सिट रहेको छ । 

त्यस्तै ११९ विधानसभा सदस्य रहेको तेलंगानामा क्षेत्रीय दल तेलंगाना राष्ट्रिय समिति(टीआरएस) ८७ सिटमा अगाडि रहेको छ । अहिलेसम्मको घोषित नतिजाअनुसार टीआरएसले ४५ सिटमा जित हात पारेको छ ।  जहाँ सरकार बनाउन ६० सिट नै चाहिन्छ । त्यस्तै तेलंगनामा कांग्रेस २१ सिटमा अगाडि रहेको छ भने बीजेपी १ सिटमा अगाडि रहेको छ । 

४० सदस्य रहेको मिजोरममा क्षेत्रीय दल मिजो नेसनल फ्रन्ट(एमएनएफ) ले स्पष्ट बहुमत हात पारेको छ । एमएनएफले २६ सिटमा जित हात पारेको छ । यहाँ सरकार बनाउन २१ सिट आवश्यक पर्छ ।  मिजोरममा कांग्रेसले ५ सिटमा जित हात पार्दा बीजेपीले १ सिटमा जित हात पारेको छ । मिजोरममा ८ जना निर्दलीय उम्मेदवारले जित हात पारेका छन् । 

त्यस्तै छत्तीसगढमा ९० विधानसभा सदस्य संख्या रहेको छ । छत्तीसगढको पछिल्लो मतपरिणाम अनुसार कांग्रेसले दुई तिहाई बहुमतको सरकार बनाउने सम्भावना देखिएको छ । पछिल्लो मतपरिणामअनुसार ६५ सिटमा कांग्रेसले अग्रता बनाएको छ । बीजेपीले १६ सिटमा अग्रता बनाएको छ । 

पछिल्लो समय राहुल गान्धी कांग्रेस अध्यक्ष भएपछि पार्टीले लगातार नराम्रो नतिजा भोगिरहेको अवस्थामा पाँच राज्यको विधानसभा चुनाव भने राहुल गान्धीको नेतृत्वको असली परीक्षा हुने देखिएको छ । 

यीनै ५ राज्यको विधानसभा चुनावको मतपरिणामअनुसार सन् २०१९ को लोकसभा चुनावमा बीजेपी र कांग्रेसको कडा प्रतिस्पर्धा हुने देखिएको छ । पछिल्लो समय बेगवान रहेको मोदी लहर पनि यीनै ५ राज्यको विधानसभा चुनावको नतिजासँगै रोकिने संकेत देखिएको छ ।

त्यति मात्रै होइन, बारम्बार राहुल गान्धीको नेतृत्वमाथि प्रश्न उठाउने बीजेपीलाई पनि कांग्रेसले नतिजामार्फत नै उत्तर दिएको छ ।
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया