विश्वकप फुटबल को–को हुनेछन् ‘मिस’

 जेठ ३१, २०७५ बिहिबार १२:५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

क्लब फुटबलमा राम्रो प्रदर्शन गरिरहेका केही खेलाडी विश्वकप फुटबलमा हुने छैनन् । कतिपयले आफ्नो देश विश्वकपमा छनोट नहुँदा खेल्न नपाएका हुन भने कतिपय घाइते भएका कारण । त्यस्तै, केही खेलाडी भने राम्रो प्रदर्शन गर्दा गर्दै पनि विभिन्न कारणले टिममा नअटाएका हुन् । उनीहरु प्रशिक्षकको नजरमा उत्कृष्ट खेलाडीमध्ये सर्वोत्कृष्ट भएनन् ।

सर्जियो रोमेरो– गोलकिपर (अर्जेन्टिना)

विश्वकपको अघिल्लो संस्करणमा अर्जेन्टिना उपविजेता बन्दा सर्जियो रोमेरोले प्रतियोगिताभरी नै उत्कृष्ट प्रदर्शन गरे । अघिल्लो महिनामात्र घुँडामा चोट बोकेका रोमेरो पूर्ण रुपमा फिट हुनका लागि कम्तिमा ६ हप्ता लाग्ने भएपछि उनी विश्वकप नखेल्ने पक्का भएको हो ।

मार्कोस अलोन्सो– डिफेन्डर (स्पेन)

इंग्लिस क्लब चेल्सीका डिफेन्डर अलोन्सोले प्रिमियर लिगमा यो सिजन राम्रो प्रदर्शन गरे । रक्षापङ्तिमा उत्कृष्ट प्रदर्शन मात्र होइन उनले यो सिजन सात गोल पनि गरे । तर, स्पेनको टिममा उनी नअटाउँदा केहीले आश्चर्य मानेर प्रतिक्रिया समेत दिए । तर स्पेनी टिममा उत्कृष्ट डिफेन्डरको उपस्थितिका कारण उनले विश्वकप टिममा स्थान बनाउन नसकेको आँकलन गरिएको छ ।

डेविड लुइज– डिफेन्डर (ब्राजिल)

विश्वका उत्कृष्ट डिफेन्डर मध्येका एक मानिने डेविड लुइज पनि रसिया विश्वकपमा देखिने छैनन् । ब्राजिलका लागि ५० अन्तर्राष्ट्रिय खेल खेलिसकेका लुइज घुँडा र कुर्कुच्चाको समस्याका कारण पछिल्लो चार महिना अभ्यास गर्न पनि पाएका छैनन् ।

ठूलो प्रतियोगितामा डेविड लुइज छुटेको यो दोस्रोपटक हो । यसअघि सन् २०१६ को कोपा अमेरिकामा पनि उनी टिममा परेका थिएनन् ।

डेनियल कार्भाहल– डिफेन्डर (स्पेन)

च्याम्पियन्स लिगको फाइनलमा खुट्टामा चोट लागेपछि ड्यानी कार्भाहलले विश्वकप गुमाउने भएका छन् । स्पेनका उत्कृष्ट डिफेन्डर कार्भहलको ह्यामट्रिङमा चोट लागेको थियो । सन् २०१६ को युरोकप पनि चोटका कारण गुमाएका कार्भाहल यो विश्वकपमा पनि अभागी बने ।

लेरोई साने– मिडफिल्डर (जर्मनी)

इंग्लिस प्रिमियर लिगको उत्कृष्ट युवा खेलाडीको उपाधि जितेका सानेले यो सिजन म्यान्चेष्टर सिटीका लागि १४ गोल र १९ गोलका लागि मद्दत गरेका थिए । तर उनको प्रदर्शनले जर्मनीका प्रशिक्षक जोचिम लोलाई प्रभावित गर्न सकेन । २३ सदस्यीय विश्वकप खेल्ने जर्मनीका खेलाडीको टोलीमा सानेको नाम थिएन ।

जर्मनी टिममा उत्कृष्ट खेलाडी भएका कारण सानेले स्थान नपाएको लोको प्रतिक्रिया थियो । तर धेरैले सानेको नाम नअटाउनु अविश्वसनीय भएको बताएका छन् । यसले इंग्लिस प्रिमियर लिग हेर्ने फुटबल प्रेमीलाई अझै अचम्मित बनाएको छ । 

मारियो गोट्जे– मिडफिल्डर (जर्मनी)

सन् २०१४ को विश्वकप जर्मनीलाई विजयी बनाउने गोल गरेका मारियो गोट्जेको प्रदर्शनको निकै प्रशंसा गरियो । तर उनीपनि प्रशिक्षक जोचिम लोको रोजाइमा पर्न सकेनन् । जर्मनीमा पर्याप्त खेलाडीहरु रहेका कारण उनले स्थान बनाउन नसकेको प्रशिक्षक लोको भनाइ छ ।

सान्ड्रो वाग्नर– स्ट्राइकर (जर्मनी)

जर्मनीका स्ट्राइकर सान्ड्रो वाग्नरले अघिल्लो बर्ष अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए । आठ खेलमा जर्मनीका लागि कुल ५ गोल गरिसकेका छन् । प्रशिक्षक जोचिम लोको अन्तिम २३ सदस्यिय टोलीमा अटाउन असफल भएपछि बायर्न म्युनिकबाट क्लब फुटबल खेलिरहेका वाग्नरले अन्तर्राष्ट्रिय खेलजिवनबाट यसै साता सन्यासको घोषणा समेत गरिसकेका छन् ।

 एलेक्स ओक्सेल च्याम्बरलिन–मिडफिल्डर (इंग्ल्याण्ड)

लिभरपुलको मिडफिल्डर एलेक्स ओक्सेल च्याम्बरलिन घुँडाको चोटका कारण विश्राममा छन् । घुँडाको लिगामेन्टमा चोट लागेका कारण उनले च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा रोमाविरुद्धको खेलमा घाइते भएका थिए । २४ वर्षे एलेक्स तीन सातापछि मात्र पूर्ण रुपमा निको हुनेछन् ।

माउरो इकार्डी– स्ट्राइकर (अर्जेन्टिना)

इटालियन शीर्ष डिभिजन लिग सिरिएका सर्वाधिक गोलकर्ता माउरो इकार्डी यो साता फुटबल सम्बन्धि खबरहरुको हेडलाइन बने । सिरिएमा खेलेको ३४ खेलमा २९ गोल गरेका इकार्डी जर्ज साम्पोलीको २३ सदस्यिय टिममा परेनन् । अग्रपङ्तिमा रहेका लियोनेल मेस्सी, गोन्जालो हिग्वेन, पाउलो डिबाला र सर्जियो एग्युरो जस्ता खेलाडी रहेका कारण उनी विश्वकप टिममा स्थान बनाउन असफल भएको आँकलन गरिएको छ ।

अल्भारो मोराटा– स्ट्राइकर (स्पेन)

चेल्सीका स्पेनिस स्ट्राइकर अल्भारो मोराटा पनि रसिया विश्वकपको टिममा परेनन् । मार्को असेन्सियो, लागो अस्पास, डिएगो कोस्टा, रोड्रिगो मोरोनो र लुकास भाज्क्वेज स्ट्राइकरका रुपमा छनोट भएपछि मोराटाले स्थान पाउन सकेनन् ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया