अन्तर्राष्ट्रिय स्तरको क्रिकेट पिच मासेर पार्क !

 मंसिर २७, २०७५ बिहिबार ९:३९:२९ | सुमन पुरी
unn.prixa.net

सुनसरी – नेपालमा पछिल्लो समय सबैभन्दा धेरै क्रिकेटकै चर्चा छ । चर्चा हुनु र विकास हुनुको मापन के हो भन्दा नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको सफलता । नेपाली क्रिकेटको नेपालमा भित्र मात्रै होइन अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि दबदबा बढ्दै गइरहेको छ । सँगै नेपाली क्रिकेटर पनि विश्व क्रिकेटमा छाउन थालेका छन् । 

नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने विश्व क्रिकेटका उदाउँदा स्टारको रुपमा आइरहेका छन् भने नेपाली राष्ट्रिय टोली पनि वान डे खेल्ने हैसियतमा पुगिसकेको छ । तर नेपालका नीति निर्माताहरु भने देशको पहिचानसँग जोडिएको क्रिकेट खेलको विकास र विस्तारमा लाग्नुको साट्टा नेपाली क्रिकेट मास्ने अभियानमा लागेको देखिन थालेको छ । यसको उदाहरण हो, इटहरी उपमहानगरपालिको निर्णय । 

इटहरी उप महानगरपालिकाले अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न क्रिकेट पिच मासेर पार्क बनाउने निर्णय गरेको छ । इटहरी वडा नम्बर ९ मा डीभीएम स्कुलसँगै जोडिएको क्रिकेट पिच मासेर पार्कको शिलान्यास प्रदेश सरकार मुख्य मन्त्री शेरधन राईले मंसिर २० गते गर्ने भनिए पनि विवाद चर्किँदै गएपछि उहाँ आउनुभएन । मुख्यमन्त्री नआए पनि स्थानीय जेष्ठनागरिकमार्फत पार्कको उद्घाटन इटहरी उपमहानगरले गरेको छ । अन्तर्राष्ट्रिय स्तरको क्रिकेट पिच मासेर पार्क बनाउने निर्णय शिलन्यास गर्नु अगाडि मंसिर १९ गते बसको उप महानगरपालिकाको कार्यपालिका बैठकले औपचारिक निर्णय गरेको हो । 

केही दिन अघि इटहरी आउनु भएका नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले यो पिचको अवलोकन गर्दै नेपालमा टीयू क्रिकेट मैदान पछिको दोस्रो राम्रो पिच भएको दावी गर्नुभएको थियो  । यति राम्रो पिच टीयू पछिको पहिलो हो । यहाँ केही पूर्वाधार विकास गर्न सके अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सकिने खड्काले बताउनुभएको थियो । 

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटका सबै म्याच यही पिचमा भएको थियो । यसैगरि यही मैदानमा दोस्रो प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता पनि भएको छ । यस्तै यही मैदानमा उमेर समूहको पहिलो लिग प्रतियोगिता अण्डर १९ राष्ट्रिय प्रिमियर लिग ७३ सालदेखि निरन्तर हुँदै  आएको छ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदा सरकारको लागानीमा यो पिच बनेको थियो भने यस पछि इटहरी क्षेत्रका क्रिकेट क्लब र क्रिकेटसँग सम्बद्ध संघ संस्थाले संरक्षण गर्दै आएका थिए । 

हचुवाका भरमा निर्णय 

इटहरी उप महानगरपालिकाको नगरसभाले इटहरी उप महानगरपालिका वडा नम्बर ५ मा पार्क बनाउने निर्णय गर्यो । तर जग्गा काहँँ भन्ने टुङ्गो लाग्न सकेको थिएन । बजेट भने ५० लाख विनियोजन गरेको थियो । आर्थिक वर्ष आधा भएपछि भने अहिले एका एक क्रिकेट पिच बनेको ९ नम्बर वडामा पार्क बनाउने र यसको शिलान्यास यही मंसिर २० गते भएको हो ।

सामान्यतया नगर सभाले पास गरेपनि कार्यपालिकाले पनि पास गरेपछि मात्रै निर्णय लागू हुन्छ तर इटहरी उपमहानगरका मेयर द्धवारीकलाल चौधरीले भने कार्यपालिकाबाट पास नै नगराई पार्क बनाउने तयारी गर्नु भएको थियो । 

पार्क कस्तो बनाउने भन्नेसमेत तयारी छैन उप महानगरका इन्जिनियर अर्जुन दाहालले भन्नुभयो ‘अहिले शिलान्यास गरेर घेराबार गर्ने हो त्यसपछि कस्तो र कसरी बनाउने भन्ने नक्सा बन्छ । इटहरी उप महानगरका मेयर द्धवारीकलाल चौधरीले भने क्रिकेट पिच अन्यत्रै बनाउने बताउनुभयो । उहाँले भन्नुभयो ‘हामी क्रिकेट मैदान पनि बनाउने तयारीमा छौँ तर त्यहाँ भने पार्क नै बन्छ ।’ कहाँ बन्छ त क्रिकेट मैदान ? जिज्ञासामा भन्नुभयो –‘अहिले नै भन्यौ भने त सुकुम्बासी बसिहाल्छन् नी ? उहाँले अहिले भने पार्क बनाउने र पिचको पनि संरक्षण गर्ने बताउनुभयो । उहाँले  घण्टाघर सहितको पार्क बनाउने जानकारी दिनुभयो । 

पार्क बनाउने विषयमा आलोचना 

इटहरी उप महानगरपालिकाले क्रिकेट पिच मासेर पार्क बनाउन लागेपछि अहिले खेल क्षेत्रमा लागेकाहरुले आलोचना र विरोध गरेका छन् । बल्ल बल्ल बनेको क्रिकेट पिच मासेर पार्क बनाउन लागेपछि इटहरी क्षेत्रका खेलप्रेमीहरु यसको विरोधमा लागेका हुन् । 

पार्क बनाउन अन्यत्र पनि जग्गा छ तर पिच नै मासेर किन पार्क बनाउनु पर्यो बुझ्न सकिएन इटहरी क्रिकेट एकेडमीका अध्यक्ष कैलाश बिष्टले बताउनुभयो । उहाँका अनुसार सरकारले लगानी गर्नु पर्नेमा उल्टै पिच मास्ने कामको विरोध गर्नेपर्ने बताउनुभयो । इटहरी क्षेत्रका  खेलप्रेमीहरुले इटहरी उप महानगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका छन् ।

इटहरी उप महानगरका उप मेयर लक्ष्मी गौतमलेसमेत छलफल र तयारी बिना काम थालिएकोमा असन्तुष्टी व्यक्त गर्दै आउनु भएको छ । उपमेयर लक्ष्मी गौतमले भन्नुभयो ‘यस विषयमा हाम्रोबीचमा सल्लाह भएको छैन ।’ 

यस्तो हो क्रिकेट पिचको जग्गा 

अहिले बनेको क्रिकेट मैदानको जग्गा सार्वजनिक जग्गा हो । क्रिकेट मैदान रहेको क्षेत्रमा झण्डै दुई विगाह जग्गा छ । तर त्यो जग्गा इटहरीमा रहेको डिभिएम स्कुलले हडपेको छ । भारतीय ट्रष्टको नाममा सञ्चालनमा रहेको सो बिद्यालयले सार्वजनिक जग्गा मिचेर वर्षौदेखि भोग चलन गर्दै आएको सार्वजनिक जग्गा हडपेको थाहा पाएपछि नगरपालिको गएको वर्ष जग्गा खाली गर्न डिभिएम स्कुललाई भनेको थियो तर पटक पटक भन्दा पनि अटेर गरेपछि अहिले पार्क बनाउन लागेको श्रोतको दावी छ । 

डिभिएम स्कुलका अध्यक्ष ध्रुव सुब्बा भने आफूहरुले योे जग्गा किनेको बताउनुहुन्छ । विद्यालय क्षेत्रमा पार्कको साटो क्रिकेट मैदान बनाउन हामी पनि सहमत नै थियौ तर उपमहानगरले जबरजस्ती पार्कको शिलान्यास गरेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया