कांग्रेसले आफ्नै कार्यकर्तालाई नै दुस्मनजस्तो व्यवहार गर्छ : पूर्व राष्ट्रपति यादव

 मंसिर २७, २०७५ बिहिबार १४:१२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – पूर्व राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान लागू गराउन जिम्मेवार बन्न नेपाली का‌ंग्रेसलाई सुझाव दिनु भएको छ । 

पूर्व राष्ट्रपति यादवले नेपाली कांग्रेसकै नेतृत्वमा जारी भएको संविधान कार्यान्वयन गराउने दायित्व कांग्रेसकै भएको पनि स्पष्ट पार्नुभयो । उहाँले आफूले जारी गरेको नयाँ संविधान निकै अग्रगामी भएको उल्लेख गर्दै त्यसलाई सफलतापूर्वक लागू गरे देश सफल राष्ट्र बन्ने विश्वास पनि व्यक्त गर्नुभयो । पूर्व राष्ट्रपति यादवले कांग्रेस नेतृत्वलाई गुट–उपगुट अन्त्य गर्दै एकतावद्ध भएर अघि बढन् पनि सचेत गराउनुभयो । 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको बिहीबार काठमाडौंमा विमोचन गर्दै पूर्व राष्ट्रपति यादवले नेपाली कांग्रेसको नेतृत्वले आफ्नै कार्यकर्तालाई दुस्मनजस्तै व्यवहार गर्ने गरेको भन्दै चिन्ता पनि व्यक्त गर्नुभयो । उहाँले पुस्तक विमोचन कार्यक्रम तराई, मधेशमा नगरेर कांग्रेसले त्यहाँको कार्यकतालाई पनि बिर्सँदै गएको स्मरण गराउनुभयो ।

पूर्व राष्ट्रपति यादवले कांग्रेस नागरिकमा नगएको उल्लेख गर्दै आफूलाई असाध्यै चिन्ता लाग्ने गरेको पनि दोहोर्‍याउनुभयो । उहाँले कांग्रेस महासमिति बैठक मधेशमा नगरेर किन काठमाडौंमा आयोजना गरिएको भन्दै कांग्रेस नेतृत्वलाई प्रश्न पनि गर्नुभयो ।

पूर्व राष्ट्रपति यादवले वरिष्ठ नेता पौडेलको पुस्तक उपयोगी रहेको भन्दै त्यसलाई पढेर पार्टीलाई सशक्त बनाउन पनि कांग्रेस नेतृत्वको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा बोल्दै पुस्तकका लेखक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी भित्र पुनर्निर्माण अभियान सुरु गर्न आफूले पुस्तक लेख्नु परेको बताउनुभयो । उहाँले पुस्तकमा कम्युनिष्टहरुले भन्ने गरेको समाजवाद र आफूहरुले भन्ने गरेको समाजवादबीचको फरकबारे पनि उल्लेख गरिएको जानकारी दिनुभयो ।

वरिष्ठ नेता पौडेलको पुस्तकमा कांग्रेसले अघि सार्दै आएको समाजवादी व्यवस्था स्थापना गर्ने लक्ष्य नयाँ संविधानमा उल्लेख गरिएको दावी पनि गरिएको छ । 
 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया