पर्यटक आगमनमा रेकर्ड ब्रेक, ११ महिनामा १० लाख पर्यटक नेपालमा

 मंसिर २७, २०७५ बिहिबार १६:२०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – नेपाल आउने पर्यटकको संख्यामा नयाँ रेकर्ड बनेको छ ।

सन् २०१८ को ११ महिनामा १० लाख १ हजार ९ सय पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो संख्या सन् २०१७ को तुलनामा १७ प्रतिशतले बढी हो ।

यो संख्यामा अक्टोबर र नोभेम्बर महिनामा स्थलमार्ग हुँदै नेपाल आउने पर्यटक समावेश गरिएको छैन । स्थलमार्ग हुँदै आएका पर्यटकको संख्या पनि जोड्दा पोहोरको ११ महिनाको तुलनामा यो वर्ष नेपाल आउने पर्यटकको संख्या २३ प्रतिशतले बढ्ने बोर्डले जनाएको छ । 

नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय रहेका छन् । ११ महिनामा २ लाख ६० हजार एक सय २४ पर्यटक नेपाल आएका छन् । त्यस्तै नेपाल आउनेमध्ये चिनियाँ पर्यटक पनि उल्लेख्य छन् । गएको ११ महिनामा १ लाख ३४ हजार ३ सय ६२ चिनियाँ पर्यटक नेपाल घुम्न आएका छन् । 

यस्तै युरोपेली देशबाट नेपाल आउने पर्यटकको संख्या २ लाख २४ हजार २ सय ६ रहेको छ । 

यस वर्ष नेपाल आउने अमेरिकी पर्यटक पनि बढेका छन् । अक्टोबर महिनामा ११ हजार ५ सय १७ र नोभेम्बरमा ९ हजार एक सय ९३ जना पर्यटक नेपाल आएका छन् । सन् २०१८ को ११ महिनामा ८२ हजार ८ सय ७० जना अमेरिकी पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले जनाएको छ । यो अवधिमा ३३ हजार ५ सय २८ जना अष्ट्रेलियन पर्यटक नेपाल आएका छन् । 

नेपाल विश्वकै प्रमुख पर्यटकीय गन्तव्य बन्छ : सीईओ जोशी

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सन् २०१८ को ११ महिनामा नेपाल आएका पयर्टकको संख्याले उत्साहित बनाएको बताउनुभएको छ । यो संख्याले नेपाल अब विश्वकै पर्यटकीय गन्तव्य बन्दै गरेको संकेत मिलेको पनि जोशीको दावी छ ।

बोर्डले थप कार्यक्रम बनाएर यो संख्या आउँदो वर्ष झनै बढाउने र सन् २०२० मा २० लाख पर्यटक नेपाल आउने उहाँको दावी छ । 

कुन देशका कति पर्यटक आए ?

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया