गण्डकी प्रदेश सांसद घर्तीको निधन

 मंसिर २७, २०७५ बिहिबार १८:९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

बागलुङ – बागलुङ क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ का गण्डकी प्रदेश सांसद टेकबहादुर घर्तीको निधन भएको छ । 

कलेजोसम्बन्धी समस्या देखिएपछि प्रदेश सांसद घर्तीको १७ दिन देखि काठमाडौंमा रहेको ग्राण्डी अस्पतालको आईसीयू कक्षमा उपचार भैरहेको थियो ।

ग्राण्डीले सांसद घर्तीको स्वास्थ्य अवस्था गम्भीर रहेको र थप उपचारका लागि भारत लैजान सुझाव दिएपछि मंगलबार थप उपचारका लागि एयर एम्बुलेन्सबाट दिल्लीको एपोलो अस्पताल लगिएको थियो । १४ दिनदेखि बेहोस अवस्थामा रहेका घर्तीको उपचारकै क्रममा ४६ वर्षको उमेरमा निधन भएको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापाले बताउनुभयो ।  

ढोरपाटन नगरपालिका वडा नम्बर –६, सइखोला निवासी सांसद घर्ती राष्ट्रिय जनमोर्चाबाट प्रदेश सांसदमा निर्वाचित हुनुभएको थियो । 

घर्ती केही महिनायता जण्डिस र कलेजोसम्बन्धी रोगबाट पीडित रहेको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थापाले बताउनुभयो । 

सांसद घर्तीको श्रीमतीसहित दुई छोरा र चार छोरी छन् । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया