ए डिभिजन लिग : मनाङ र अार्मीको खेल अाज

 मंसिर २८, २०७५ शुक्रबार ७:२४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

पल्सर शहीद स्मारक ए डिभिजन लिगमा नहारेका सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम त्रिभुवन आर्मी क्लब शुक्रबार आमने–सामने हुँदैछन् ।

याे खेल एन्फा मैदान सातदोबाटोमा दिउँसो साढे २ बजे हुने छ । त्यसअघि ११ बजे विभागीय क्लब नेपाल पुलिस क्लब र फ्रेण्ड्स क्लबले खेल्ने छन् । पहिलो खेलको नतिजाले ए डिभिजन लिगको उपाधि होडमा त्यति असर नपारे पनि दोस्रो खेलको नतिजाले भने निकै प्रभाव पार्ने देखिन्छ ।

असोज १३ गतेदेखि सुरु भएको ए डिभिजन लिगमा अहिले आठौं चरणको खेल जारी छ । आठौं चरणसम्म आइपुग्दा मनाङ र आर्मी अहिलेसम्म हारेका छैनन् । मनाङले सतप्रतिशत नतिजा  निकाल्दै सात खेलबाट २१ अंक बनाउँदा आर्मीले भने २ खेलमा बराबरी गर्दा ५ खेल जित्दै १७ अंक जोडेको छ ।

आर्मीलाई २ खेलको बराबरी नै अहिलेसम्म महँगो परेको छ । आर्मीले लिगको उद्घाटन खेलमा न्यूरोड टिम एनआरटीसँग २–२ गोलको बराबरी खेलेको थियो भने कमजोर फ्रेण्ड्ससँग गोल रहित बराबरी गरेको थियो ।

त्यसबाहेक आर्मीले च्यासल र पुलिस माथि १–० को जित निकाल्दा जारी लिगको अर्को उत्कृष्ट क्लब संकटामाथि ५–१ गाेलकाे भारी जित हात पारेकाे थियाे । जुन जारी लिगकै फराकिलो अन्तरकाे जित हाे । यसैगरी हिमालयन शेर्पाविरुद्ध २–१ को जित निकालेको थियो ।

यस्तै मनाङले पहिलो खेलमा व्रिगेड ब्वाईजमाथि ३–१ को जित निकाल्दा एनाआरटी माथि २–० को जित निकालेको थियो । उपाधिको दावेदार मानिएको थ्रीस्टारविरुद्ध २–१ को जित निकालेको मनाङले सशस्त्रको एपीएफमाथि पनि २–१ कै नतिजा निकाल्न सफल भएको थियो । सरस्वती युवा क्लबलाई २–० ले पराजित गरेको मनाङले जवलाखेल र मछिन्द्रमाथि भने १–० को कठिन जित निकालेको थियो ।
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया