विद्यार्थी अभावले बन्द हुँदै सामुदायिक विद्यालय

 मंसिर २८, २०७५ शुक्रबार १४:२:५० | उषा तामाङ
unn.prixa.net

फाइल तस्बिर

दोलखा – विद्यार्थीको अभावमा नगरपालिका क्षेत्रकै सामुदायिक विद्यालय बन्द हुन थालेका छन् । यही आर्थिक वर्षमा भीमेश्वर नगरपालिका क्षेत्रका २ वटा सामुदायिक विद्यालय बन्द गरिएको छ ।

विद्यार्थीको संख्या अत्यन्तै न्यून तथा नयाँ विद्यार्थी भर्ना शून्य भएपछि विद्यालय बन्द गरिएको भीमेश्वर नगरपालिका शिक्षा शाखाले जनाएको छ । विद्यार्थीको अभाव भएपछि भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोचको शेरामा रहेको शेरादेवी प्राथमिक विद्यालय र वडा नम्बर ५ मा रहेको कालिदेवी प्राथमिक विद्यालय कात्तिके गएको जेठ महिनादेखि बन्द छ ।

विद्यार्थी संख्याभन्दा बढी शिक्षक भएपछि विद्यालय बन्द गरिएको भीमेश्वर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष नकुल केसीले जानकारी दिनुभयो । शेरादेवी प्राविको सम्पूर्ण सम्पत्ति त्यसै वडामा रहेको देवी माध्यमिक विद्यालयलाई बुझाइएको छ ।

त्यसैगरी कक्षा ३ सम्म पढाइ हुँदै आइरहेको लामिडाँडा प्राथमिक विद्यालयमा विद्यार्थी संख्या दुईजना रहेको र नयाँ विद्यार्थी भर्ना समेत शून्य भएपछि बन्द गरिएको हो ।

सदरमुकाम चरिकोट समेत पर्ने भीमेश्वर नगरपालिकाको वडाहरुमा रहेको विद्यालयमा क्रमशः विद्यार्थी संख्या न्यून रहेको जनाएको छ । नगरपालिका शिक्षा शाखा प्रमुख अर्जुन कार्कीले बालबालिकाको शिक्षाका लागि अभिभावक सदरमुकाम चरिकोटदेखि काठमाडौंसम्म जाने गरेकाले विद्यालयमा विद्यार्थी अभाव भएको बताउनुभयो ।

आगामी शैक्षिक सत्रमा पनि कम्तीमा ५ वटा विद्यालय बन्द गर्नुपर्ने अवस्थामा पुगेको भीमेश्वर नगरपालिकाले जनाएको छ । सामुदायिक विद्यालयप्रति अभिभावकले विश्वास नगरेकै कारण पनि विद्यालयहरु बन्द हुने अवस्थामा पुगेका हुन् । 


 

अन्तिम अपडेट: फागुन २८, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया