राप्ती राजमार्गको बेहाल : जीर्ण बेलिब्रिजमा खतराको घण्टी !

 मंसिर २८, २०७५ शुक्रबार १७:४३:५९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – बाटो मर्मत गरेको महिना नबित्दै भत्किन्छ, ओटासिल गरेको ३ महिनामै उप्किन्छ । वर्षायाममा गाडीले मान्छे हैन, मान्छेले गाडी तान्नुपर्ने अवस्था ज्यूँ को त्यूँ छ । कतै पुलको अभाव त, कतै बनेका पुलको अवस्था नाजुक ।

राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान–रुकुम सडकखण्डको दुर्दशा यस्तै छ । सडकको अवस्था नाजुक भएपनि सरोकारवाला निकायले भने कुनै चासो दिएको छैन ।

दाङ–सल्यान–रुकुम सडकखण्डको दर्जनौं स्थानमा सडक भत्किएको छ, कतै धुलाम्य छ, कतै सडकमै पानीको आहाल छ । राप्ती राजमार्ग अन्तरगत रुकुम पश्चिमको मुसिकोट ४ बैरागिठाँटीमा पर्ने बेलिब्रिजको अवस्था पनि बेहाल छ ।

मर्मत गरिएको एक वर्षमै ब्रिज जीर्ण भएको छ । २०६२ सालमा निर्माण भएको बेलिब्रिज जीर्ण बनेपछि गएको वर्ष मर्मत गरिएको थियो । सडक डिभिजन कार्यालय चौरजहारीको झण्डै २५ लाख रुपैयाँमा बेलिब्रिजको मर्मत गरे पनि मर्मतको एक वर्ष नबित्दै बेलिब्रिज पुनः जीर्ण बनेको हो ।

मर्मत गरिएको केही महिनामै फलामका पाताहरु उप्कन थालेका स्थानीयहरु बताउँछन् । पुलमा राखिएका फलामका पाता टुक्रिएर झर्न लागेका छन् । पुलमा दर्जन बढी ठूला प्वालहरु परेका छन् । केही पाताहरु भने उप्किएर ठडिएका छन् । ठूला प्वाल र पाताहरु उप्किएर ठाडिएकाले जोखिम बढेको छ ।
पुल जीर्ण बनेपछि दैनिक सयौं सवारी साधन जोखिम मोलर पुल वारपार गर्न भएका छन् । यस राजमार्ग भएर दैनिक सयौं गाडीहरु रुकुम भित्रिने तथा रुकुमबाट बाहिरिने गरेका छन् ।

प्रमुखविहीन डिभिजन कार्यालय

पुल जीर्ण बन्दा पनि सरोकारवाला निकायहरु भने मौन रहेका छन् । दिनहुँ पुल जीर्ण बन्दै गएको र जोखिम पनि बढ्दै गएको अवस्थामा पुलको मर्मतका लागि सडक डिभिजन कार्यालयले पनि चासो देखाएको छैन ।

पुल मर्मतका लागि अहिले कुनै योजना नरहेको कार्यालयले जनाएको छ । कार्यालय गएको एक महिनादेखि प्रमुखविहीन छ । तत्कालीन डिभिजन प्रमुख आषिस थापामगर एक महिना अगाडि सरुवा भएर गएपछि डिभिजन कार्यालय प्रमुखविहीन भएको हो । यसले गर्दा नयाँ योजना निर्माणमा समस्या भएको कर्मचारी बताउँछन् ।

कार्यालयको कामकाज धानिरहेका सब–इञ्जिनियर टोपेन्द्र खड्काले बेलिब्रिज मर्मतका लागि अहिले कार्यालयमा कुनै योजना रहेका बारेमा आफूलाई जानकारी नभएको बताउनुभयो ।

कार्यालयले वास्ता गरेन – नगरप्रमुख

जीर्ण बेलिब्रिजको तत्काल मर्मत जरुरी रहेको भन्दै पटक–पटक डिभिजन कार्यालय चौरजहारीलाई आग्रह गरे पनि कार्यालयले कुनै वास्ता नगरेको मुसिकोट नगरपालिकाले जनाएको छ ।

मुसिकोट नगरपालिका प्रमुख देविलाल गौतमले दुर्घटनाको जोखिम रहेकोबारे नगरपालिका चिन्तित रहेको तर सडक डिभिजन कार्यालयले बेवास्ता गरिरहेको बताउनुभयो । नगरपालिकाको श्रोतले पुल मर्मतको सम्भावना नरहेको उहाँले बताउनुभयो ।

सर्वसाधारण त्रसित

तत्कालै पुलको मर्मत नगरे ठूलो दुर्घटना हुन सक्ने स्थानीयको चिन्ता छ । स्थानीय टेकबहादुर बिकका अनुसार जोखिमका साथ गाडीहरु वारपार गर्नुपरेको छ ।

राजमार्ग अन्र्तगत यो बाटो पर्छ भन्नु नै लाज लाग्ने अवस्था रहेको मुसिकोट नपारपालिका ५ का केशव के.सीको भनाई छ । उहाँले भन्नुभयो, ‘म मोटरसाइकलमा ओहोरदोहोर गर्छु तर यही पुलनेर पुग्दा डरले मुटु काँप्छ ।’

दैनिक मालबाहक गाडी तथा यात्रुबाहक गाडीहरु उक्त पुलबाटै वारपार गर्ने गरेका छन् । सम्बन्धित निकायले त्यो सडक खण्डको सुधार तथा पुलको मर्मत गर्न अत्यावश्यक रहेको छ ।


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया