अब नेपाली हवाई यात्रुले पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार क्षतिपूर्ति पाउने

 मंसिर २८, २०७५ शुक्रबार १७:४४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल सरकारले पनि अन्तर्राष्ट्रिय हवाई उडड्यन वाहकका लागि निश्चित नियमहरु एकीकरण गर्ने महासन्धि (मन्ट्रियल महासन्धि) लागू गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शनिबारदेखि महासन्धि लागू गर्न लागिएको जानकारी गराएको हो ।

अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आईकाओ)ले आफ्ना सदस्य राष्ट्रहरुलाई पत्राचार गरेपछि त्यो महासन्धि शनिबारदेखि नेपालमा पनि लागू गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिनुभयो ।

महासन्धि नेपालमा रहेका अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरुले अनिवार्य लागू गर्नुपर्नेछ । महासन्धि लागू भएपछि नेपालका अन्तराष्ट्रिय हवाई उडान भर्ने यात्रुहरुको विमान दुर्घटना भई ज्यान गएमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्षतिपूर्ति पाउने व्यवस्था रहेको पनि सहसचिव लामिछानेले जानकारी दिनुभयो ।

मन्त्रालयका हवाई सुरक्षा तथा प्राधिकरण सुपरिवेक्षण महाशाखाका प्रमुखसमेत रहनु भएका उहाँले महासन्धि लागू भएपछि अन्तर्राष्ट्रिय उडान भर्ने नेपाली हवाई यात्रुहरुले आफ्नो सामान हराउने, बिग्रने चिन्ता लिन नपर्ने पनि स्पष्ट पार्नुभयो ।

यसअघि अन्तर्राष्ट्रिय उडान भर्ने नेपाली नागरिकहरुको उडानका क्रममा विमान दुर्घटना भई मृत्यु भए पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार क्षति पाउनबाट बञ्चित भएका थिए । अब महासन्धि लागू भएपछि अन्तर्राष्ट्रिय उडान भर्ने नेपाली यात्रुहरुले पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारकै क्षतिपूर्ति पाउनेछन् । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया