विश्वकप इतिहासकै ‘झुर’ उद्घाटन खेलमा रुसलाई रोक्ला त साउदीले ?

 जेठ ३१, २०७५ बिहिबार १६:३१:१३ | उज्यालो सहकर्मी

एसियाली फुटबलमा साउदी अरेबिया सफल सफल देशका रुपमा चिनिन्छ । तीन पटकका एसियन कप च्याम्पियन साउदी अरेबियामा फुटबलमा जति लगानी सरकारले गरेको त्यो अनुसार उसले विश्व स्तरमा उपलब्धि हात पार्न सकेको छैन । चार पटक विश्वकप खेलिसकेको साउदी १२ वर्षपछि पुनः विश्वकप फुटबलमा आफ्नो उपस्थिति जनाएको छ । 

साउदी यसपटक विश्वकपमा पछिल्लो दुई संस्करणमा गुमाएको अवसरलाई यसपटक भरपुर सदुपयोग गर्ने लक्ष्यमा छ । साउदी अरेबियाले बिहीबार विश्वकप २०१८ को उद्घाटन खेलमा आयोजक राष्ट्र रुससँग प्रतिस्पर्धा गर्नेछ । सन् १९७८ देखि १९९० सम्म लगातार विश्वकप छनोट खेलेपछि साउदीले १९९४ मा अमेरिकामा भएको विश्वकपमा डेब्यू गरेको थियो । पहिलो सहभागितामा नै समूह चरण पार गरेर विश्वमाझ छुट्टै छाप छोडेको साउदीले त्यसपछि लगातार तीन वटा विश्वकपमा आफनो उपस्थिति जनायो । तर उसले समूह चरण पार गर्न सकेन । 

पहिलो सहभागितामा नै उसले आफनो समूहमा रहेका बेल्जियम र मोरक्कोलाई पछि पार्दै दोस्रो चरणमा पुगेको थियो । जुन उसका लागि ठूलो उपलब्धि थियो । तर त्यसपछि उसले बाँकी तीन संस्करणमा सफलता हात पार्न सकेन । सन् २००६ को विश्वकप खेलेपछि साउदी फुटबल एकाएक खस्कन पुग्यो । युवा खेलाडी उत्पादनमा केही कमी हुनुका साथै अनुभवी खेलाडीले सन्यास लिएपछि टिममा ठूलो खाडल देखियो । जसको असर उसलाई एसियन कप र विश्वकप छनोटमा पर्यो । यो बीचमा उसले एसियन कपमा पनि समूह चरण पार गर्न सकेन भने विश्वकपमा पनि स्थान बनाउन सकेन । खस्कँदो अवस्थामा रहेको फुटबललाई माथि उकास्न उसले स्पेनिस प्रशिक्षक हवान एन्टोनीयो पिजीलाई सन् २०१७ मा अनुबन्ध गर्यो । चिलीका प्रशिक्षक समेत रहेका पिजीले विश्वकपमा टिमलाई छनोट गर्न नसकेपछि पद छोडेर साउदी उडे । यता साउदीले ६ महिनामा दुई प्रशिक्षक परिवर्तन गरिसकेको थियो । सन् १९९८ मा स्पेनबाट विश्वकप खेलेका पिजी त्यस बेला साउदीको प्रशिक्षकमा नियुक्त हुने तेस्रो व्यक्ति थिए । दुई संस्करणमा विश्वकपमा स्थान बनाउन नसकेको साउदीले यसपटकको छनोटमा आफनो समूहमा उपविजेता हुँदै विश्वकपमा स्थान बनायो । उसले अष्ट्रेलियालाई समेत अंकतालिकामा पछि पारेको थियो । 

साउदी टिमका खेलाडीको औसत उमेर २४ वर्ष रहेको छ । टिममा सबैभन्दा पाका खेलाडी ३४ वर्षका छन् भने कम उमेरका खेलाडी १९ वर्षका छन । साउदीका मुख्य हतियार मोहम्मद अल सालावी हुन सक्छन । ३१ वर्षे सालावीले राष्ट्रिय टिमबाट ३८ खेल खेल्दा २८ गोल गरिसकेका छन् । विश्वकप छनोटमा पनि उनले कुल १६ गोल गरेका थिए । उनको जादु रसियामा पनि देख्नसक्ने आशामा साउदी समर्थक रहेका छन् । 

टिमका सबै भन्दा अनुभवी खेलाडी ३३ वर्षीय तेइसीर अल जासमीन छन । उनले टिमबाट एक सय २९ खेल खेलिसकेका छन । हालको टिममा एक सय खेल खेल्ने उनी एक्लो खेलाडी हुन । जसमा उनले १८ गोल गरेका छन । साउदीका तीन खेलाडी अहिले स्पेनिस लिगबाट खेलिरहेका छन । 

तर साउदीको अग्निपरीक्षा विश्वकपको पहिलो खेलबाट नै हुनेछ । समूह एमा रहेको  साउदीले विश्वकपको उद्घाटन खेलमा नै घरेलु टिम रसियासँग खेल्नेछ । हुन त फुटबल पण्डितले विश्वकपको इतिहासमा सबैभन्दा झुर उद्घाटन खेल भनेर आलोचना गरिहेका छन् । फिफाको वरीयताक्रममा ६७ औँ स्थानमा रहेको साउदी अरेबिया र ७० औँ स्थानमा रहेको रुसबीचको खेल विश्वकपको उद्घाटन खेलको इतिहासमा तल्लो वरीयतामा रहेका देशहरुको खेल हुनेछ । यसअघि सन् २०१४को विश्वकपको उद्घाटन खेल तत्कालीन अवस्थामा फिफा वरीयतामा तेस्रो स्थानमा रहेको ब्राजिल र १८ औँ स्थानमा रहेको क्रोएसियाबीच भएको थियो । 

 तर रसियालाई पहिलो खेलमा नै राम्रो चुनौती दिने लक्ष्यमा साउदी रहेको छ । उसले १४ जुनमा रसियासँग खेल्नेछ भने २० जुनमा अर्को ठूलो टिम उरुग्वेसँग उत्रनेछ । त्यसपछि समूह चरणको अन्तिम खेल इजिप्टसँग हुनेछ । 


 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया