कति पढ्छन् राजनीतिक कार्यकर्ता ?

 मंसिर २९, २०७५ शनिबार ९:२८:२८ | लेखनाथ न्याैपाने
unn.prixa.net

सबैभन्दा बढी अध्ययन गर्ने भनेर परिचय स्थापित गरेका कम्युनिस्टहरु । पढेको सिद्धान्त जीवन र व्यवहारमा उतार्ने क्रान्तिकारी कम्युनिस्टहरु । कम्युनिस्टहरुको झोलामा अनिवार्य पुस्तक हुन्छ । उनीहरुका छलफल र बैठक पुस्तकालयमा राखिन्छ भन्ने मान्यता निकै स्थापित थियो । आज अध्ययन, जीवन र व्यवहार एवम् पुस्तक र बैठकको परिचय स्खलित छ । यसबारे राजनीतिमा सक्रिय पछिल्लो पुस्ता गम्भीर छलफलसहित सक्रिय, नैतिकवान र अध्ययनशील भयो भने स्खलित कम्युनिस्ट संस्कारलाई पुनः गौरवपूर्ण बनाउन सकिन्छ ।

आज एकथरी राजनीतिक कार्यकर्ताले पढ्दैपढ्दैनन् । अर्काथरीले इतिहास पढ्दैनन् र अपूरो निष्कर्ष निकाल्छन् कि आजसम्मको राजनीतिक परिवर्तनबिना बलिदान त्यत्तिकै भएको हो । तेस्रोथरी कार्यकर्ता पढ्न खोज्छन् तर आर्थिक समस्या, भाषाको अड्चन र अध्ययन सामग्रीको अभावमा मेसो मिलाउन जान्दैनन् । पढ्न खोज्ने कार्यकर्ता एकातिर के पढ्ने र कसरी पढ्ने भन्ने द्विविधामा परेको देखिन्छ भने अर्कोतिर राजनीतिक विषयका आधारभूत ज्ञान एउटै पुस्तकमा प्राप्त नहुँदा धेरै पुस्तक खोज्ने र किन्ने जाँगर त्यसै मारेको देखिन्छ । 

यी सबै विषयलाई ध्यान दिएर मुख्यतः आधारभूत तहमा काम गर्ने पार्टीका कार्यकर्ताहरु, क्याम्पस पढ्दै गरेका सङ्गठित युवाहरु र भर्खर सङ्गठित भएका कारखानाका मजदुरहरुलाई लक्षित गरेर यो पुस्तक तयार गरिएको हो । ‘माथि’का नेताहरुले नपढे पनि अब खास अर्थ राख्दैन तर राजनीतिमा लागेको पछिल्लो पुस्ताले पढेन भने बर्बाद हुन्छ । त्यसकारण राजनीतिको पछिल्लो पुस्तालाई पढाउने उद्देश्य यस पुस्तकले राखेको छ । जसले गुणात्मक राजनीतिक कार्यकर्ता उत्पादनमा मात्रात्मक नै भए पनि योगदान पुर्‍याउने आशा मैले राखेको छु ।

कार्ल मार्क्स जन्मिएको २०० वर्ष भएको छ । कम्युनिस्ट घोषणापत्र जारी भएको १७० वर्ष पुगेको छ भने मार्क्सवादको जन्म भएको पनि लगभग यति नै वर्ष भइसक्यो । मार्क्सवादका आविष्कारक मार्क्स हुन् तर उनको एङ्गेल्ससँग भेट नभएको भए, एङ्गेल्सले आफ्नो ज्ञान, समय र सम्पत्ति मार्क्सवादको जन्म र विकासमा नलगाएको भए वा आफ्नो ज्ञान, समय र धन लगाइसकेपछि माक्र्सवादको नाम आफ्नै नाममा वा संयुक्त नाममा हुनुपर्छ भनेर एङ्गेल्सले दावा गरेको भए मार्क्सवादको जन्म, विकास र विस्तार कसरी हुन्थ्यो होला ? एङ्गेल्सको वर्गप्रतिको निःस्वार्थ लगावलाई केन्द्रमा राखेर हामी खुलेर बहस गर्न सक्छौं कि हिजो वा आजको कम्युनिस्ट आन्दोलन सामूहिक नेतृत्व, क्षमताहरुको केन्द्रिकरण र वर्गप्रतिको निःस्वार्थ लगावबाट मात्र विकास सम्भव छ ।

इतिहासको जुन घडीमा मार्क्सवाद सिद्धान्तको जन्म भयो, त्यस घडीमा मार्क्स र एङ्गेल्सबाट यो सिद्धान्तको प्रतिपादन नभएको भए यो काम अरु कसैबाट हुने थियो किनभने यो एक ऐतिहासिक आवश्यकता थियो । महान् सामाजिक तथा दार्शनिक सिद्धान्तहरु मानिसको दिमागबाट स्वतः पैदा हुने गर्दैनन् । बरु त्यस्ता सिद्धान्तहरु खास समयका सामाजिक, आर्थिक तथा राजनैतिक आवश्यकताहरु अर्थात् ऐतिहासिक आवश्यकताले जन्माउने गर्दछन् ।

माक्र्सवाद सर्वहारा वर्गको निम्ति मात्र होइन, सबै प्रगतिशील, परिवर्तन चाहने मानव जातिको लागि पनि सबभन्दा आकर्षक सिद्धान्त बनेको छ । मार्क्सवादका मुख्यतः आर्थिक सिद्धान्तलाई माक्र्सवादका कट्टर विरोधीहरुले पनि नकार्न सकेका छैनन् । माक्र्सवादको प्रमुख सन्देश र उद्देश्य संसारलाई फेर्नु हो । उनीहरुले निष्कर्ष निकाले कि ‘दार्शनिकहरुले विभिन्न कोणबाट संसारको व्याख्या मात्र गरेका छन्, मुख्य कुरा त संसारलाई बदल्नु हो ।’

१८ औं र १९ औं शताब्दीको सुरुमा मजदुरहरुले सामन्ती सत्ता विरुद्धको सङ्घर्षमा पूँजीपति वर्गलाई पूरा सहयोग गरे । सामन्तविरोधी सङ्घर्षमा आममजदुरको सक्रिय तथा क्रान्तिकारी सहभागिताले नै त्यो सङ्घर्ष व्यापक तथा प्रभावकारी बन्न गयो तर उक्त सङ्घर्षमा जुन सफलता र विजयहरु प्राप्त भए; त्यसलाई पुँजीपति वर्गले हडपे र आफ्नो स्वार्थमा प्रयोग गरे । आफू सत्तामा पुगेपछि उनीहरुले मजदुरको दमनमा सम्पूर्ण तागत प्रयोग गरे । सन् १७८९ मा भएको फ्रान्सेली क्रान्ति सामन्तवाद विरmद्धको सबैभन्दा ठूलो युरोपेली पूँजीवादी क्रान्ति थियो । 

यसको विजयपश्चात् सम्पूर्ण युरोपमा पूँजीवादको अभियान सुरु भयो । ब्रिटेन र फ्रान्सको पुँजीवादी क्रान्तिमा त्यहाँका पूँजीपतिहरुले केही क्रान्तिकारी भूमिका खेले तर जर्मनीका पूँजीपति वर्गको स्थिति एकदम फरक देखियो, जसले क्रान्तिकारी मजदुर आन्दोलनलाई नयाँ ढङ्गले सोच्न बाध्य बनायो । सन् १८४२ बाट मार्क्सवादको विकास वा निर्माण प्रक्रिया सुरु भयो । यसले आफूलाई दुई चरणबाट गुजार्‍यो । पहिलो, आदर्शवाद तथा क्रान्तिकारी जनवादबाट द्वन्द्वात्मक भौतिकवाद तथा वैज्ञानिक साम्यवादतर्फ सङ्क्रमणको चरण र दोस्रो, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद र वैज्ञानिक साम्यवादका आधारभूत सिद्धान्तको व्यवस्थित रुपमा प्रतिपादनको चरण ।

(लेखनाथ न्यौपानेको संघर्षको इतिहास नामक पुस्तकबाट । यो पुस्तकको दोस्रो संस्करण बजारमा आइसकेको छ ।)
 

अन्तिम अपडेट: चैत १३, २०८०

लेखनाथ न्याैपाने

लेखक न्याैपाने नेकपाका केन्द्रीय सदस्य हुनुहुन्छ।

1 Comments

  • Pawan Sapkota

    Dec. 15, 2018, 9:56 p.m.

    मेरो मनमा पनि यहि कुरा आउँछ , अहिले जति पनि कलेज विश्वबिद्द्यालयहरुमा राजनीति गर्न लागेका युवाहरु छन्, उनीहरु ९० % आफ्नो इतिहासको बारेमा नबुझि आफ्नो सिद्धान्तको बारे नबुझि अगि बढेका छन्, यो कुरालाई हामीले जरैदेखि सबै सिकाई बुझाइ गरेर मात्र राजनीति क्षेत्रमा लाग्नुपर्छ जस्तो लाग्छ मलाई / मैले यो किताव पढ्न पाएर पढ्न पाए आनन्द आउंथ्यो , म यो किताव खोज्नतिर लागिसकें, धन्यवाद लेखनाथ सर /

  •  0 Reply

तपाईको प्रतिक्रिया