यी एजेण्डामा केन्द्रित होस् कांग्रेस महासमिति

 पुस १, २०७५ आइतबार ९:११:१८ | बद्री अर्याल
unn.prixa.net

नेपाली कांग्रेसले विगतको समीक्षा गर्दै, पार्टी सरकारमा रहँदा तथा कुनै पनि नेतृत्वदायी र जिम्मेवार पदहरुमा रहँदा भए/गरेका कमी कमजोरीका बारेमा छलफल गरेर यस्ता कमी कमजोरी नदोहोर्‍याउने सामूहिक प्रतिबद्धतासँगै भावी योजना बनाउन जरुरी छ । जनअपेक्षित र आम कार्यकर्ताले न्यायको प्रत्याभूत हुने विधानको परिधि निर्माण गर्नुपर्दछ। एकचोटी पद प्राप्त गरेपछि क्षमता देखाउन नसक्ने अनि अनेक बहानाबाजी गरेर पद ओगटी राख्ने परिपाटीको अन्त्य गर्नुपर्दछ । एकै व्यक्तिले दोहोरो जिम्मेवारी लिने पटक पटक एकै पद वा पदीय जिम्मेवारी लिने र उमेर हद नाघेपछि पनि कार्यकारी पदमा बसिरहने तथा पदका लागि प्रतिस्पर्धामा लागिरहने प्रवृत्तिको तत्काल अन्त्य हुनुपर्छ।

यी र यस्ता प्रवृत्ति अन्त्य गर्ने बलियो  वैधानिक व्यवस्थाका साथ सबैले फेरि एकपटक अन्तिम आत्मसमीक्षा गर्नुपर्दछ । आफूभन्दा माथि पार्टी राख्नुपर्छ । देश जनताको हक हितका लागि समर्पित हुनुपर्छ। जसले गर्दा आगामी दिनमा नेपाली कांग्रेस र यसका नेताहरु देश र जनताका लागि मन वचन र कर्मले समर्पित छन् र रहन्छन् भन्ने अनुभुति जनतालाई दिनेगरी कार्यकर्तालाई पूर्ण राजनीतिक न्यायको आभास दिन जरुरी छ।

आज देशमा निर्यात भन्दा आयात कयौं गुणा बढेको छ। देशको उत्पादन मात्र घटेको होइन, उत्पादकत्व नै घट्दै गएकोले कांग्रेस बढी संवेदनशील हुन जरुरी छ। उर्वर भूमि र उर्जाशील जनशक्तिबीच समन्वयात्मक संबाेधन अरु कसैले गर्न सक्दैन । कांग्रेसले गर्नुपर्छ र ढिला भइसकेको छ यसै महासमितिको बैठकबाट एजेण्डा बनाएर निर्णयमा पुग्नुपर्छ । देश सम्पन्न गर्न जलस्रोत पर्यटन र कृषिलाई प्रवर्धनात्मक उद्योगको रुपमा विकास गरी व्यवसायिक पूर्वाधार निर्माण र आय आर्जनमुखी योजनामा कार्यकर्ता परिचालित गर्ने अनि विदेशिएका तमाम नेपाली युवालाई स्वदेश फर्काउने वातावरणको सृजना यस महासमिति बैठकले गर्नुपर्दछ।

युग सापेक्ष वैधानिक प्रावधान

कांग्रेसले संगठन सञ्चालनका क्रममा गरेको यावत कमजोरी मध्येको पहिलो कमजोरी भनेकै वैधानिक र संस्थागत रुपमा पार्टी , पार्टीका भातृभगिनी संगठन र पार्टीका काम क्रियाकलापहरु सञ्चालन हुन नसक्नु हो । 

कांग्रेसमा यो समस्या बहुदलीय व्यवस्था प्राप्ति पछिको दीर्घ रोगको रुपमा पार्टी भित्र मौलाएर गएको छ । पार्टीका निकायहरु निकम्मा प्राय छन् न त संस्थागत न त व्यवहारिक हिसाबले नै जनअपेक्षा अनुकुल चल्न सकेका छन् । मनगढन्ते विचार र मनोपोली व्यवहारले स्वार्थ प्रेरित दृष्टिकोणको जालो बनाएर कार्यकर्तामाथि लादिएको नेतृत्व हावी भएको देखिन्छ । भातृ संगठनमा हावी हुन सकेमात्र पार्टीका पदहरु हत्याउन सजिलो हुन्छ भन्ने मनोकांक्षाका कारण नेतृत्वबीच भएको प्रतिस्पर्धाले कुनै पनि भातृ भगिनी संगठनको भविष्य आशा लाग्दा छैनन् ।

पार्टीको काम क्रियाकलाप र वर्ग, क्षेत्र, लिङ्ग, शिक्षा, स्वास्थ लगायत जनतासँग प्रत्यक्ष अप्रत्यक्ष सम्बन्ध राख्ने विषयमा पार्टीको धारणा यिनै भातृ भगिनीर वर्गीय चरित्रका संगठनहरुबाट जनताले थाहा पाउने हुन्। जसले गर्दा पार्टीको भविष्य हेर्ने ऐना नै चकनाचुर भएको छ जुन उद्देश्यका लागि तत् तत् क्षेत्रको भातृ भगिनी संस्थाको रुपमा स्थापना भएको हो त्याे उद्देश्यमा किञ्चित् मात्र पनि लागेको देखिन्न, न त त्यसको अनुगमन मूल्याङ्कन नै छ, न त सुसुचित र प्रशिक्षित गराउने परिपाटी छ न राजनैतिक व्यवस्थापन न विषयगत न व्यवसायिक व्यवस्थापन न त प्रशिक्षण नै छ । 

भातृभगिनी संगठनसँग केवल आफ्ना पक्षका भए प्रयोग गर्ने, आफनो पक्षगुट गिरोहका नभए उसैसँग प्रतिस्पर्धा गर्ने परिपाटीको विकास भएको छ अनि कसरी जनताको विश्वासमा कांग्रेस पार्टीका कार्यकर्ता पर्छन् ? कसरी जनताको सहयोग र सद्भाव नेपाली कांग्रेसले प्राप्त गर्न सक्छ ?  कांग्रेसका नेताहरुमा अपेक्षाकृत हुकुमी र जमिन्दारी प्रथाको अवशेष भेटिन्छ। 

आजसम्म पनि यसको अन्त्य होइन कि अझ विकास भएको पइन्छ। यिनै सुक्ष्म अराजनीतिक व्यवहार र प्रवृत्ति पार्टी फस्टाउनमा अवरोध बनिरहेको छ । कांग्रेसको विधानमा नै यस्ता कार्यकर्ता विरोधी प्रवृत्तिको अन्त्य गरिने प्रावधान हुन जरुरी छ।

'जग्गा हुन्छ जोत्नेको' कृषि अभियान

कृषि उत्पादन, कृषक, कृषि पेसा र व्यवसायलाई वीपीले जसरी लिनुभयो त्यसलाई विस्तारै कांग्रेसले भुल्दै गएको छ देशको आयस्रोत निर्माण गर्ने मुख्य व्यवसाय भनेको नै कृषि हो, कृषि व्यवसायमा सुधार हुन सके मात्र देशको समग्र पाटोको सुधार र विकास हुन्छ । जलस्रोत सडक पर्यटनलगायतका विकास निर्माणका पूर्वाधारका रुपमा कृषि र कृषि विकासका योजना तर्जुमा गर्दा नै निर्यात योग्य उत्पादन र आत्मनिर्भर हुने आधारहरु तयार हुन्छन् ।

विशेषगरी नेपाली काङ्ग्रेसले वीपी कोइरालालाई सम्मान गर्ने हो र वीपीको सपना साकार गर्दै देश र जनताको कल्याणमा आफुलाई समर्पित गर्ने हो भने आउ अभियान (आत्मनिर्भर हुनका लागि उत्पादन) भन्ने नाराका साथ पार्टी एकढिक्का भएर देशव्यापी अभियान सञ्चालन गर्नुपर्दछ ।

वीपी कोइरालाले भनेझैँ जग्गा हुन्छ जोत्नेको अभियानमा जग्गा जमिन्दारको होइन अब जसले जोत्छ वा जसलाई कृषि कर्म गर्ने इच्छा छ जग्गा उसको हुनुपर्दछ र जग्गा कुनै व्यक्तिको अधिनमा होइन कि व्यक्तिको उपभोगमा मात्र सीमित हुनुपर्दछ । सम्पूर्ण जग्गा राज्यको मातहत वा राज्यको अधिनमा हुनुपर्छ।

कृषकलाई सहज उत्पादनका लागि सरल कानून सरल कृषि प्रविधि, बजार र सरल ऋण सरल विमाको भुक्तानीका लागि समग्र कृषि क्षेत्रको योजनावद्ध विकासका एजेण्डामा यस महासमिति बैठकमा छलफल गरी पास भएमात्र समग्र देश जनता र कांग्रेसको पनि हित हुनेछ ।

सशक्त प्रतिपक्ष प्रजातन्त्रको सुन्दर पक्ष

हिजो जब ४६ सालको आन्दोलनले सफलता हासिल गरेर पहिलो जननिर्वाचित सरकार बनेको थियो, त्यसको हनिमुन पिरियड (१०० दिन) पनि पुग्न नपाउँदै तत्कालीन प्रतिपक्षमा रहेको नेकपा एमालेले जुन वितण्डा मच्चाएको थियो सडक र संसद कब्जाको आशयले सडकमा हुल हुज्जत र संसद अवरुद्ध गरेको थियो त्यो कुनै हालतमा पनि प्रजातान्त्रिक र संसदीय चरित्र थिएन। 

आज नेपाली कांग्रेस प्रतिपक्षमा छ,त्यस्तै वितण्डा जनताले सहँदैन तर  त्यसो भनेर मौन समर्थन गर्ने होइन संसदमा वैचारिक प्रतिपक्ष देखिनुपर्छ, जनपक्षीय प्रतिपक्ष देखिनुपर्छ, गुण दोषका आधारमा गरिने वैचारिक वहसमा प्रजातान्त्रिक परिपाटी र यसको संस्थागत विकासका चरणहरुमा जनतालाई सुसुचित गराउँदै रचनात्मक प्रतिपक्षको भूमिकाका लागि नेपाली कांग्रेस पथप्रदर्शक बन्न सक्नुपर्दछ।

सरकारका काम क्रियाकलापहरु जनविरोधी शैलीमा अगाडि बढिरहेको छ। प्रजातान्त्रिक प्रणाली अन्तर्गत संसदीय व्यवस्थामा जनभावना विपरित काम गर्ने सरकारलाई लगाम लगाउन प्रतिपक्षी बाहेक अरुको भूमिका नगन्य हुन्छ। सरकार प्राय स्वेच्छाचारी हुन्छ, सत्ता प्राय क्रुर हुन्छ। 

निश्चय नै सत्तालाई स्वार्थपरस्त व्यक्ति हरुले नियन्त्रणमा लिएर चलाउने प्रयत्न गरिरहेका हुन्छन् ।सरकार व्यक्तिगत हितका कार्यमा फस्ने सम्भावना बढी हुन्छ । त्यसैले सही र सहज सरकार सञ्चालनको जिम्मेवारी वास्तवमा प्रतिपक्षको काँधमा हुन्छ । देश कता लग्ने सरकारलाई जनताको पक्षमा कसरी कामयावी गराउने भन्नेबारेमा नेपाली कांग्रेसको महासमिति बैठकबाट ठोस र सगठित आवाज सहितको प्रस्तावमा छलफल गरेर पारित गर्ने अवस्थामा पुग्नुपर्छ।

अन्त्यमा

अहिले नेपाली कांग्रेसमा मियो बिनाको दाईँ भनेझैं भएको छ किनभने पार्टी सभापति नै अर्का नेतालाई भन्दैछन् कि मैले टिकट दिएको त हो नि तिमीले किन नजितेको ? यो सरासर गैर जिम्मेवार कुरा हो। यसरी पार्टी अगाडि बढ्दैन पार्टीमा किन लाग्ने, नेताहरुको टाउकोमा ताकेको लाठो किन कार्यकर्ताले थाप्ने, त्यसैले, यसो गर्दा कार्यकर्ताले संरक्षकत्व गुमाउँछ, पार्टीमा लाग्नुको अर्थ गुमाउँछ, अनुशासन हिनताको विकास हुन्छ।

नेपाली कांग्रेसमा आस्था राख्ने तमाम नेपाली जनताको चाहना भनेको फेरि पनि राज्य सत्तामा नेपाली कांग्रेस जानुपर्छ भन्ने नै हो । तर कांग्रेस सुध्रिएको हुनुपर्छ। निश्चय नै कांग्रेसले यो महासमितिको बैठकदेखि आगामी महाधिवेसन सम्म नसुध्रने हो र यसका नेता कार्यकर्ता पार्टी सुधार्ने अभियानमा नलाग्ने हो भने कांग्रेस अस्ताउन सक्छ । 

भविष्य उज्वल बनाउने हो र जनताको आस्थाको अवमूल्यन नगर्ने हो भने नेपाली कांग्रेस भनेको नै महासमिति हो, कांग्रेसको भविष्य निर्माण गर्ने दायित्व यसै बैठकलाई छ घनिभूत छलफल गरौं र निर्णयमा पुगौं । महासमिति बैठकलाई सफलताको शुभकामना ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

बद्री अर्याल

अर्याल नेपाली कांग्रेसका युवा नेता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया