यतै आश्चर्य, उतै आश्चर्य !

 पुस ४, २०७५ बुधबार ११:५३:३१ | जानुका दुवाडी

संसारका धेरै आश्चर्य त सबैलाई थाहा छ । ती संसारले सुनेका र जानेका आश्चर्य हुन् ।  त्यस्तै हाम्रो देशमा प्रकृति र वातावरणले दिएका आश्चर्यहरू बाहेक पनि बेला–बेला कयौँ  कृत्रिम आश्चर्यहरू देखिने गर्छन् । अर्थात् तपाईं हामीले भोग्ने र देख्ने गरेका आश्चर्य ।

सर्वमान्य परिभाषा अनुसार आश्चर्य भनेको सामान्य रूपमा नहुने वा मानिसले सामान्य बुझाइभन्दा माथिका विषयवस्तु वा घटनाहरूलाई बुझिन्छ । हाम्रो देशमा आश्चर्यहरूको कुरा गर्दा प्रधानमन्त्रीदेखि नागरिकसम्मबाट प्रस्तुत हुने अनेकौ आश्चर्य देख्न पाईन्छ । प्रायः हाम्रो देशमा हुने आश्चर्यहरू भनेका संसारमा कतै पनि नहुने र भए पनि विरलै हुने आश्चर्य मध्येमा पर्छन् ।

अब यहाँ आश्चर्यहरूको कुरा गर्दा सार्वभौमसत्ता सम्पन्न नागरिकका आश्चर्यहरूबाट सुरू गराैँ वा देशका विभिन्न निकायमा बेला–बेला हुने आश्चर्यबाट सुरू गराैँ वा हामी सार्वभौम र राजकीय सत्ता सम्पन्न नागरिकले राजकीय अधिकार दिएको सरकारबाट सुरू गरौं भन्ने दोधारमा छु । जे हो सुरु गरिसकेपछि सुरू गर्नैपर्छ भन्ने मान्यतालाई शिरोधार्य गर्दै हामी सबैका अविभावक हाम्रा प्रधानमन्त्री र सरकारबाटै कुरा थालाैँ । 

पहिलो आश्चर्य :  देशको विपक्षी पार्टीले सरकारका नीति निर्णय र काम कार्बाहीको विरुद्ध आन्दोलनको आह्वान गर्नु स्वभाविक नै हो । तर दुई तिहाइ मत प्राप्त प्रधानमन्त्री स्वयंले पार्टीका कार्यकर्तालाई सरकार विरुद्धको आवाजको प्रतिकारमा उत्र र अरिंगालझैं आक्रमण गर भन्ने प्रधानमन्त्री संसारमा विरलै भेटिन्छन् । 

तसर्थ हाम्रो देशका प्रधानमन्त्री पहिलो आश्चर्य हुन् । त्यसमा झन् अनुसन्धानकै क्रममा अपराधी र बलात्कारी पक्रिन  लाग्न सक्ने अधिकतम समय स्वयमले तोकिदिन्छन् । अपराधि पक्रन भन्दा पनि न्याय चाहियो भनि आवाज उठाउने नागरिकलाई गलत सावित गर्न श्रम, शक्ति र वाणी खर्चिने प्रधानमन्त्री तथा मन्त्रीहरु अन्त कहाँ भेटिएलान् ? 

दोस्रो आश्चर्य : चुनाव हुँदासम्म बहुमतको हिसाब लाएर बस्ने, हारेपछि वर्षौं हारको कारण खोज्नमै ठिक्क छ प्रमुख प्रतिपक्षी कांग्रेस । सरकारको प्रतिपक्षी हो की आफ्नै पार्टीको अर्को गुटको प्रतिपक्षी छुट्याउनै गाह्रो । विरोधको निहँ खोजेर बस्ने, झगडाको बिउ खोजेर बस्ने, भाग पाउँदासम्म ठिक्क नपाए मात्रै बुरुक्क गर्ने प्रमुख विपक्षी पार्टी पनि बेबिलोनको झुल्ने बगैँचा भन्दा कम आश्चर्यको छैन ।

तेस्रो आश्चर्य : नाकामा नुन तस्करी देख्ने, तर सयौं किलो सुन तस्करी नदेख्ने प्रहरी । अपराधी समात्न नसकी निदै्र नलागेको गुनासो गर्ने, कामभन्दा भाषण गर्दै हिँड्ने पुलिस प्रशासन । देशको नुन खाने, पार्टीको गुन तिर्ने कर्मचारी । पत्रकारिताको नाममा अर्काको मुख पत्रकारिता गर्ने पत्रकार । यी सबै आश्चर्यका एक सय एक उत्तम नमुना हुन् । 

चौथो आश्चर्य : तेल चोर्न पाउनुपर्छ भनेर गरिने ट्यांकर व्यवसायीहरूको आन्दोलन । ग्राहक ठग्न पाउनुपछर्, मिटरमा जान्नौं भनेर गर्ने ट्याक्सी चालकहरूको आन्दोलन । घाँटीको अप्रेशन गर्दा पेट चिरे पनि कानुन लाग्नु हँुदैन भन्ने डाक्टर । मान्छे मार्दा पनि दोष लगाउनु हुन्न भन्ने चालक । विद्यालयमा राजनीति गर्न पाउनुपर्छ भन्ने शिक्षक । र यी सबैका माग खुरू–खुरू मान्न तम्सिने सरकार । आश्चर्य छैन त ?

पाचौं आश्चर्य :  यतिका  आश्चर्यहरूको बखान गर्दै गर्दा हामी नेपाली नागरिकका आश्चर्यहरू पनि त कहाँ कम छन र ? भ्रष्टाचार रोक्न गठन गरिने उपभोक्ता समितिमा समेत हुने भ्रष्टाचार । चार वर्ष गाली गरेर अन्त्यमा चुनावमा उसैलाई भोट दिने र भोलि पल्टदेखि फेरि गाली गर्ने धारे हात र हाम्रो मताधिकार । कर्तव्य, दायित्व, कानुन, नैतिकता र नियम आफू बाहेक सबैलाई लागोस्, तर सुविधा, सेवा र अधिकार मेरो मात्रै होस् भन्ने सोच । चीनको पर्खालभन्दा पनि विशाल यी सोच पूरा भए या नभए पनि हाम्रा विषेश आश्चर्य हुन् । 

नेपालमा आश्चर्यले भरिएका नागरिक भएर आश्चर्यपूर्ण शासक र प्रशासक भए वा आश्चर्यपूर्ण शासक प्रसाशक भएर आश्चर्यपूर्ण नागरिक यो त ठूलो बहसको विषय हुनसक्छ । जे होस् बुद्धको देश र सगरमाथाको देश भनेर चिनिने हाम्रो देश बेला–बेला यस्ता अनेकौं आश्चर्यको कारण संसारले नै नचिने पनि हामी आफू–आफू आश्चर्य चकित हुने गरेका छौं ।


 

अन्तिम अपडेट: चैत ३०, २०८०

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया