सडक पुगेपछि फेरियो दैनिकी : खच्चड व्यवसायीले गुडाउन थाले गाडी

 पुस ४, २०७५ बुधबार १४:२०:४६ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – तेह्रथुमको बसन्तपुरदेखि संखुवासभाको टुटे देउराली भएर तीनजुरे, चौकी, मंगलबारे, गुफा बजार हुँदै ताप्लेजुङको दोभानसम्मको क्षेत्रमा केही वर्ष अघिसम्म चौंरीलाई भारी बोकाउने स्थानीयवासीको प्रतिस्पर्धा चल्थ्यो । यो रूटमा जसले धेरै चौंरी पालेर भारी बोकाउने व्यवसाय गर्छ, त्यो ठूलो व्यवसायी ठानिन्थ्यो ।

बसन्तपुर, टुटेदेउराली, चौकी, मंगलबारे, गुफा, साँघु हुँदै दोभानसम्मको रूटमा धेरै व्यवसायीहरु चौंरी र खच्चडलाई भारी बोकाउने पेशाबाट धनी बनेका थिए । तर अहिले अवस्था फेरिएको छ ।

माथिल्लो पहाडी र तल्लो हिमाली क्षेत्रमा चौंरी र खच्चडलाई भारी बोकाएर हिँडाउने बसन्तपुर गुफा हुँदै ताप्लेजुङको दोभानसम्मको पदमार्गमा यतिबेला सडकको डोब मात्रै तयार भएको छैन, गाडी समेत ओहोरदोहोर गर्न थालेका छन् । 

पर्यटकीय यी क्षेत्रका डाँडाकाँडामा सडक निर्माणसँगै गाडीबाट खाद्यान्नलगायत दैनिक उपभोग्य बस्तु ढुवानी भैरहेको छ । जसकारण चौंरी र खच्चड पालेर भारी बोकाउने व्यवसाय गर्दै आएकहरूले पेशा परिवर्तन गरेका छन् । 

तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगम स्थलमा रहेको यो तीनजुरे–मिल्के–जलजले क्षेत्र गुराँसको राजधानीको रुपमा चर्चित छ । यी क्षेत्रमा सडक पुगेपछि चौंरीलाई भारी बोकाएर व्यवसाय गरेर जीविकोपार्जन र आयआर्जन गर्दै आएका धेरैको पुस्तौनी पेशा फेरिएको गुफापोखरी आधारभूत विद्यालयका प्रधानाध्यापक हिमा खनालले बताउनुभयो । 

धेरैजसोले चौंरी र खच्चड पनि व्यवसायीले बिक्री गरिसकेका छन् । पहिले यो रूटमा भरियाले खाद्यान्नलगायतका दैनिक उपभोग्य बस्तु बोकेर माथिल्लो क्षेत्रमा पुर्‍याउँथे । पछि यो काम चौंरी र खच्चडले गर्न थाले । भरियाको तुलनामा चौंरी र खच्चडले धेरै सामान बोक्ने भएकाले धेरै व्यवसायी यतातिर आकर्षित थिए । तर त्यो पनि अब सडकले थप सुविधायुक्त बनाएको छ ।

यही रूट भएर सडक निर्माण भएपछि सयौं चौंरी र खच्चड व्यवसायी एकैसाथ यो पेशाबाटै विस्थापित भएको गुफा बजारका होटल व्यवसायी हरि खनालले बताउनुभयो । यो रूटमा चौंरी र खच्चडलाई भारी बोकाउने व्यवसाय गर्दै आएका छिरिङ लामा अहिले यो व्यवसाय छाडेर निर्माण व्यवसायमा संलग्न हुनुहुन्छ ।

दशक अघिसम्म उहाँ यो रूटमा ३० वटाभन्दा बढी चौंरी र खच्चडलाई वसन्तपुरबाट सामान बोकाएर ताप्लेजुङका बिभिन्न ग्रामिण क्षेत्र र बजारसम्म पुर्‍याउने काम गर्नुहुन्थ्यो । आफूहरूले चौंरी धपाउने रूट भएर मोटर बाटो निर्माण भएपछि बाध्य भएर पेशा नै परिवर्तन गर्नुपरेको लामाले बताउनुभयो ।

त्यस्तै गुफापोखरीमा ५० भन्दा बढी चौंरी र खच्चड पालेर भारी बोकाउने व्यवसाय गर्दै आउनुभएका ग्याबु शेर्पाले वसन्तपुर हुँदै निर्माण भइरहेको मोटर बाटो घरका आँगनसम्मै आइपुगेपछि सबै चौंरी र खच्चड बिक्री गरेर ल्यान्डरोभर गाडी किन्नुभएको छ । 

पाँचपोखरीका डम्बर बुढाथोकी, धु्रब खड्का, हर्क राईलगायत धेरै व्यवसायीहरू पनि फरक पेशा र व्यवसायमा लागेका छन् । टुटेदेउरालीदेखि तीनजुरे, चौकी, मंगलबारे, श्रीमाने, भालुखोप, लामपोखरी, गुफाबजार हुँदै दोभानसम्मको चौंरी हिँड्ने सडकमा अहिले साना ठूला गाडी गुड्छन् । यो रूटको मंगलबारेमा व्यापार गर्दै आएका राम उप्रेती सडक निर्माणसँगै दैनिकी चलाउन सहज भएको बताउनुहुन्छ । 

अहिले सुनसरीको धरानदेखि सिधै टिएमजे क्षेत्रसम्म दैनिक बस सेवा उपलब्ध छ । घुम्न जानेहरु बस चढेरै टिएमजे पुगिरहेका छन् । धरानदेखि कोशी राजमार्ग भएर तेह्रथुमको वसन्तपुर पुगेपछि निर्माणाधीन मदन भण्डारी राजमार्गबाट ताप्लेजुङको साँघुसम्म दैनिक बस सेवा उपलब्ध रहेको व्यवसायी कासाङ शेर्पाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बसमा यात्रु खचाखच हुन्छन्, त्यसमध्ये आन्तरिक पर्यटक नै धेरै हुन्छन् ।’ दैनिक यातायात सेवा उपलब्ध भएपछि टिएमजे क्षेत्रका बासिन्दालाई समेत सुविधा भएको छ । 

दैनिक उपभोग्य बस्तुको ढुवानीदेखि आवातजावत र बिरामी पर्दा अस्पताल पुग्न सहज हुन थालेको गुफाबजारका धार्के शेर्पाले बताउनुभयो । ‘पहिले बिरामी पर्दा अस्पताल पुग्न नपाई मर्नु पथ्र्यो, त्यसमध्ये धेरै प्रसुति पीडाले मर्थे,’ चौकीबजारका उदयकुमार तामाङले भन्नुभयो, ‘अहिले कमसेकम त्यो कहालिलाग्दो अवस्था हटेको छ ।’ 

अहिले दैनिक जसो टिएमजे क्षेत्रका डाँडाकाँडामा पर्यटक आइरहेका चौकीबजारका यज्ञ कार्की बताउनुहुन्छ । गुफापोखरी र यहाँको सुन्दरतामा रम्न हरेक साताजसो तेह्रथुम, धनकुटा, संखुवासभा र ताप्लेजुङका सर्वसाधारण पुग्ने गरेका हुन् । 

निर्माणाधीन यो सडकलाई सरकारले मदन भण्डारी लोकमार्गको रुपमा नामाकरण गरी प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ । दुई वर्षभित्र सडकलाई स्तरोन्नति गरी बाह्रैमास सवारी सञ्चालन योग्य बनाउन पहल भइरहेको चैनपुर नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले बताउनुभयो ।

सडकमा सवारी चल्न थालेपछि तेह्रथुमको लालीगुराँस नगरपालिका, संखुवासभाको मादी नगरपालिका, धर्मदेवी नगरपालिका र चैनपुर नगरपालिका तथा ताप्लेजुङको मैयाखोला गाउँपालिकाका बासिन्दालाई दैनिकी चलाउन सहज भएको छ । 

गाउँबाट पूर्वी तराईको धरानसम्म पुग्न सहज भएको छ । सडकका कारण दैनिक आवतजावतसँगै बिरामी पर्दा समयमै अस्पताल पुग्न सहज भएको चौकीबजारका व्यवसायी उदयकुमार तामाङले बताउनुभयो । तामाङका अनुसार सडक निर्माणपछि धेरै व्यवसायीहरू चौंरी र खच्चड बिक्री गरेर अन्य पेशा व्यवसायमा लागेका छन् । 

सडकले यहाँका ग्रामीण बजारहरुमा दैनिक उपभोग्य बस्तुहरुको मूल्य सस्तिएको छ । यहाँ आउने पर्यटकहरुलाई समेत आवतजावतमा सहज भएको छ । तीनजुरे मिल्के जलजले क्षेत्रको मुख्य गन्तव्यको रुपमा गुफापोखरी क्षेत्रसम्म पुग्न आन्तरिक तथा बाह्य पर्यटकहरुले बस चढेरै टिएमजे घुमेर फिर्न पाएका छन् । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया