अफ्रिकी देशसँग नहारेको उरुग्वे र विश्वकपमा एउटै खेल नजितेको इजिप्ट खेल्दै

 असार १, २०७५ शुक्रबार ११:४३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप फुटबल २०१८ को दोस्रो खेलमा शुक्रबार उरुग्वे र इजिप्ट खेल्दैछन् । ‘समूह ए’ को यो खेल नेपाली समय अनुसार बेलुका ५ः४५ बजेपछि सुरु हुनेछ ।

उरुग्वे गर्विलो इतिहास बलियो टिम

उरुग्वे विश्व फुटबलमा बलियो टोलीका रुपमा परिचित छ । उरुग्वे कुनै एक मात्र खेलाडीको प्रदर्शनमा निर्भर छैन । विश्वकप अघिको अभ्यास खेलमा उरुग्वेले उज्वेकिस्तानलाई ३–० ले हराएको थियो । तर आफ्नो प्रशिक्षणमा चारपटक विश्वकप खेलाइरहेका प्रशिक्षक ओस्कार ताबारेज र टीमका खेलाडी दबाब मुक्त भने छैनन् ।

यो समूहमा उरुग्वे विजेता बन्ने अनुमान सबैको छ । सन् २०१० मा सेमिफाइनलसम्म पुगेको उरुग्वे ब्राजिल संस्करणमा क्वार्टरफाइनलबाट बाहिरिएको थियो ।

दुईपटकको विश्व च्याम्पियन उरुग्वेमा लुइस स्वारेज र इडिन्स कभानीको तालमेल हेर्न लायकको हुने आशा गर्न सकिन्छ । यी दुई खेलाडीले लिगमा ९९ खेलमा ७१ गेल गरेका छन् ।

यस्तै कप्तान डिएगो गोडिन र जोसे गिमिनेजको रक्षा पङ्ती निकै बलियो मानिन्छ । विश्वकपमा आउनुपूर्व उरुग्वेले ६ मध्ये एक खेल मात्र हारेको थियो ।

सलाहमा निर्भर इजिप्ट

इजिप्टले सन् १९९० पछि पहिलोपटक विश्व फुटबलको सर्वाधिक ठूलो प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । तुलनात्मक रुपमा कठिन मानिएको समूह एमा रहेको इजिप्टले आयोजक रसिया र साउदी अरेबियासँग खेल्नुपर्नेछ ।

इजिप्टका प्रशिक्षक हेक्टर कुपरले आफ्ना स्टार खेलाडी मोहम्मद सलाहले खेल्ने बताएपछि इजिप्ट समर्थक उत्साही भएका छन् । तर सलाहले खेल्ने नखेल्ने अझै पूरै निक्र्योल भने भइसकेको छैन । घाइते भएर लामो समय मैदान बाहिर रहेका सलाहले आज खेले पनि आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्न नसक्ने हुन कि भन्ने चिन्ता छ । 

इजिप्टलाई २८ वर्षपछि विश्वकपमा पुर्‍याउन सलाहकै प्रदर्शन सबैभन्दा उत्कृष्ट थियो । इजिप्टका गोल मेसिन रहेका सलाहले आफूसँगै अरु खेलाडी पनि क्षमतावान रहेको बताएका छन् ।

एसिया र युरोपको सिमाना मानिएको एकाटेरिनबर्गमा रहेको मैदानमा हुने खेलका लागि सलाहले बुधबार अभ्यास गरेका थिए ।

सलाह भर्सेस सुवारेज

युरोपेली फुटबलका दुई उत्कृष्ट खेलाडी शुक्रबारको खेलमा आमनेसामने हुँदा यो खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । लुइस सुवारेज र मोहम्मद सलाहलाई राष्ट्रिय टिममा को अब्बल भन्ने प्रमाणित गर्ने मौका पनि हो शुक्रबारको खेल । अफ्रिकी छनोट चरणमा इजिप्टले गरेको आठमध्ये पाँच गोल गरेका २५ वर्षीय सलाहले ५६ खेलमा इजिप्टका लागि ३६ गोल गरिसकेका छन् । सुवारेजले भने ९८ खेलमा ५१ गोल गरेका छन् । यो खेलको विजेता समूहकै विजेता बन्ने सम्भावना पनि प्रवल छ ।

म्याच फ्याक्ट

विश्वकपमा उरुग्वेले अफ्रिकी प्रतिद्वन्द्वीसँग अहिलेसम्म पराजय भोग्नुपरेको छैन । विश्वकपको पछिल्लो आठ खेलमा उरुग्वेले जम्मा एउटा खेल मात्र हारेको छ भने ४ जीत र तीन बराबरी खेलेको छ ।

यसअघि सन् १९३४ र १९९० मा विश्वकप खेलेको इजिप्टले भने विश्वकपको एक खेलमा पनि जित हात पार्न सकेको छैन । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया