सामाजिक सञ्जालको कति धेरै बेफाइदा !

 पुस ६, २०७५ शुक्रबार १२:५२:२४ | विना न्याैपाने
unn.prixa.net

केही दिनअघिको कुरा हो, म न्यूरोडबाट घर फर्कंदै थिएँ । गाडीमा एकजना महिलासित भेट भो । उहाँ बोलक्कड हुनुहुँदो रहेछ । म आफू पनि नबोली बस्न नसक्ने मान्छे । कुराकानी हुँदै गयो । लौनचौरमा धेरैबेर जाममा परियो । उहाँले सोध्नुभयो, ‘नानी तिमीले किन मोबाइल नचलाएको ?’ मैले भनें, ‘मन नलागेर ।’ किन हिजोआज त जो पनि मोबाइलमा नै घोप्टिएको देख्छु’, उहाँले मतिर हेर्दै भन्नुभयो ।

प्रश्न त स्वभाविक नै थियो, तर मलाई केही बोल्न मन लागेन । त्यतिकैमा जाम खुल्यो । मैले कुरा मोडें ‘दिदी जाम खुल्यो ।’ उहाँले फेरि मतिर हेरेर सोध्नुभयो, ‘नानी के भयो ?’ मैले भने, ‘खासै केही भएको छैन, हल्का टाउको मात्रै दुखेको छ ।’ 

मलाई त्योभन्दा पहिला एउटा बहिनीले सुनाएको घटनाको याद आएर नराम्रो लागेको थियो ।  फेसबुककै कारण उ मानसिक अस्पतालसम्म जानु परेको कुरा ।

शायद यी दिदीले पनि यस्तै देख्नु÷सुन्नु भएको थियो होला । त्यसपछि उहाँले फेरि कुरा गर्नुभयो, ‘अँ साँच्ची तिम्रो घर कता रे, गोरखा ?’

‘हो, गोरखा ।’

मेरो जवाफ सुनेर उहाँले भन्नुभयो, ‘आफ्नै ठाउँकी रहिछौ । नानी, ममी बाबाको मन नदुखाउनु है, मलाई त धेरै तनाव छ । के गर्नु ? के बोलौं ?’ यति बोल्दा उहाँको अनुहार अँध्यारो भएको थियो ।

मैले उहाँको समस्या बुझ्ने मनसायले सोधेँ, ‘किन दिदी, के भयो र ?’

‘छोराछोरीले आफूले भनेको नमानेपछि गाह्रो हुने रहेछ’ यति भन्दा उहाँको अनुहार मलिन भयो । मलाई उहाँको धेरै कुरा बुझ्न मन थियो । तर उहाँलाई विगतमा फर्काएर दुःखी बनाउन मन लागेन ।

उहाँ आफैले आफ्नो पीडा सुनाउन थाल्नुभयो, ‘जतिबेला पनि छोराछोरी मोबाइलमा व्यस्त हुन्छन् । कसैलाई केहीको वास्ता हुँदैन । म बिरामी हुँदा पनि उनीहरु त्यही मोबाइलमा नै घोप्टिरहन्छन् ।’ उहाँको कुरा सकिएकै थिएन । तर म बसबाट झर्ने ठाउँ आयो । म झरें । घरमा पुगेपछि मनमा अनेक सोच आउन थाल्यो । 

मलाई घरमा ममीले भनेको कुरा याद आयो, ‘मोबाइल भएपछि खाना पनि त्यसैले दिन्छ ?’ मैले उहाँको प्रश्न हाँसेर टारेको थिएँ ।

मलाई आफ्नै विगत याद आयो । एकदिन त मैले खाना खानै भुलेर मोबाइल चलाएर बसेको छु । सायद त्यो दिन मैले ममीको धेरै गाली खाएको दिन होला । त्यसपछि खाना खाने बेला कहिल्यै पनि मोबाइल चलाएको छैन ।

हिजोआज सामाजिक सञ्जालको प्रयोग नगर्ने मानिस भेटिन मुश्किल छ । फेसबुक, ट्वीटर, हृवाट्स एप, इन्स्टाग्रामलगायतका विभिन्न सामाजिक सञ्जालको प्रयोगकर्ता दिनदिनै बढिरहेका छन् ।

पछिल्लो समयको एक अनुसनधानले मोबाइल र सामाजिक सञ्जालको प्रयोगमा नेपालीले भारतीय नागरिकलाई समेत जितेका छन् । १८ देशका झण्डै ४५ हजार सामाजिक सञ्जाल प्रयोगकर्तामा गरिएको सर्वेक्षणले यस्तो देखाएको हो ।

कुल जनसंख्याको दुई तिहाई नेपाली मोबाइल र इन्टरनेटको पहुँचमा छन् । यसबाट पनि थाहा हुन्छ कि धेरै नेपाली सामाजिक सञ्जालमा जोडिएका छन् ।

स्मार्टफोनमा इन्टरनेटको सुविधा भएपछि त मानिसहरु आफ्नो कामधन्दा भुलेर घण्टौं सामाजिक सञ्जालमा भुल्न थालेका छन् । प्रविधिको विकाससँगै विशेष गरी युवाहरु सामाजिक सञ्जालको कुलतमा फस्दैछन् ।
सामाजिक सञ्जालले हाम्रो दिमागलाई पनि धेरै असर गरेको हुन्छ । तर यो कुरा बुझ्ने मानिसले पनि नबुझेको जस्तो गरिरहेका हुन्छन् ।

यसैगरी सामाजिक सञ्जालले हाम्रो खुसीमा पनि असर पुर्याएको हुन्छ । कसैले हाँसो  मजाकमा भनेका कुराले पनि मानसिक अवस्थामा परिवर्तन गराइदिन्छ ।

कुनै पनि कुराको पछाडि त्यसको फाइदा अनि बेफाइदा हुन्छ । त्यसलाई कसरी प्रयोग गर्ने भन्ने तरिकाले फाइदा र बेफाइदाको अर्थ राख्छ । पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोगले घरबारै उजाडिएको उदाहरण धेरै छन् ।

त्यसो त हत्या, हिंसा, अपहरणजस्ता घटना पनि सामाजिक सञ्जालबाटै बढिरहेको छ ।सदुपयोग गर्न सकेमा सामाजिक सञ्जालका फाइदा नै धेरै छन् । यसले हामीलाई विश्वको कुनै पनि कुनामा भएका व्यक्तिसँग जोडिन सहयोग गर्छ ।

यसले मानिसको शारीरिक रुपमा रहेको दूरीलाई भुलाउन मद्दत गर्छ । तर सामाजिक सञ्जालमा घण्टौं भुलिरहने बानीले हामीलाई ठूलो समस्यामा पनि पार्न सक्छ । त्यो देखिनेभन्दा धेरै बढी छ ।
सामाजिक सञ्जालको लत लाग्नुभन्दा पहिले थोरै सावधान रहनु नै उत्तम हुन्छ । वैज्ञानिकहरुले गरेका अध्ययन अनुसार सामाजिक सञ्जालले हाम्रो दिमागमा महत्वपूर्ण प्रभाव पार्छ ।

यसले हाम्रो सोच्ने क्षमतामा पनि असर गर्छ । सामाजिक सञ्जालले दिनचर्या र बानीहरुलाई बदल्छ । यसले कुनै व्यक्तिलाई भावनात्मक रुपले दुःखी पनि बनाउँछ । सृजनात्मक हुनका लागि पनि सामाजिक सञ्जालको लत त्याग्नुपर्छ । सामाजिक सञ्जालमा लाखौं फलोअर हुने व्यक्तिहरुले यो कुरालाई महत्वपूर्ण रुपमा उठाउनुपर्ने देखिन्छ ।

उनीहरुको सकारात्मक आवाजले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई सकारात्मक सोच्न बाध्य बनाउनेछ ।  सूचनाका लागि सामाजिक सञ्जाल महत्वपूर्ण भए पनि लतमा फस्नुभन्दा अगाडि नै यसको प्रयोग हटाउनुपर्छ ।

हामी सबै सामाजिक सञ्जालमा पनि व्यक्तिगत जीवनमा जस्तै जिम्मेवार हुनु पर्छ । हामीले प्रयोग गर्ने सामाजिक सञ्जालमा जबसम्म उठ्ने विचारहरूले मूर्त रूप लिन सक्दैन, तबसम्म समाज फेरिन्न, विचार फेरिन्न । त्यसको उल्टो, गलत विचार र नकारात्मकताहरूले मूर्त रुप लिन थाले के होला हाम्रो भविष्य ?  

अन्तिम अपडेट: चैत १६, २०८०

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया