गर्भवती महिलाको आत्महत्या पछि आफैँ जन्मियो शिशु र बाँच्यो, कसरी ?

 पुस ७, २०७५ शनिबार ८:४४:२२ | एजेन्सी
unn.prixa.net

भारतको मध्य प्रदेश कटनी जिल्लामा एक गर्भवती महिला आत्महत्याका लागि झुण्डिएपछि बच्चा जन्मिएको छ । महिलाको मृत्युपछि जन्मिएको भए पनि शिशु भने जीवितै रहेको छ । डाक्टरहरुले दिएको जानकारी अनुसार शिशुको अवस्था ठिक छ । 

यो घटना गएको बिहीबारको हो । कटनी जिल्लाको कोतवाली भन्ने ठाउँकी लक्ष्मी सिंह नाम गरेकी गर्भवती महिलाले आत्महत्या गरेकी हुन् । उनले किन आत्महत्या गरिन् भन्नेबारे पत्ता लागेको छैन । 

मृत महिलाले जन्म दिएको शिशुको अवस्था गम्भीर थियो । डाक्टरले तत्काल शिशुलाई आईसीयूमा भर्ना गरे । बिस्तारै शिशुको अवस्था सुधार हुँदै आयो ।

डा. यशवन्त बर्माका अनुसार ‘महिला ९ महिनाकी गर्भवती थिइन् । शिशुको तौल झण्डै दुई किलोको थियो । महिला झुण्डिएपछि ग्रेभिटि (गुरुत्वाकर्षण)का कारण बाहिर आयो ।’

लक्ष्मीका पति सन्तोष सिंहका अनुसार उनकी श्रीमतीले किन आत्महत्या गरिन् भन्ने थाहा भएको छैन । उनले भने ‘घरमा सबै कुरा राम्रै थियो’ । बुधबार राति खाना खाएर सुतेको र भोलिपल्ट बिहान ६ बजेतिर उठ्दा श्रीमतीलाई नदेखेपछि खोजी गरेका थिए । लक्ष्मीले गोठमा गएर आत्महत्या गरेकी थिइन् । 

दुई छोरा र दुई छोरी गरी सन्तोषका अरु चार बच्चा छन् । कटनी जिल्लाका एसपस् विवेक कुमार लालका अनुसार यस घटनाको जाँच भैरहेको छ । के कारण ती महिलाले आत्महत्या गरिन् भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । अहिले शिशुको अवस्था सामान्य छ । 

– बीबीसी हिन्दीबाट 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया