एक नम्बर प्रदेशको बजेट ३५ अर्ब ९३ करोड

 असार १, २०७५ शुक्रबार १८:५९:२७ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – एक नम्बर प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ को लागि ३५ अर्ब ९३ करोड ६० लाखको बजेट सार्वजनिक गरेको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले आउँदो आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गर्नुभएको हो । प्रदेशले भौतिक पूर्वाधारमा ९ अर्ब ५० करोडको बजेट विनियोजन गरेको छ ।

सबैभन्दा कम बजेट युवा तथा खेलकुदमा ४३ करोड विनियोजन गरिएको छ । जलश्रोत तथा उर्जामा ७१ करोड बजेट विनियोजन गरिएको छ भने पर्यटनमा ८९ करोड विनियोजन गरिएको छ ।

कृषि करिडोरको स्थापना गर्दै कृषिकै माध्यामबाट गरिबी न्यूनीकरण गर्ने योजना अघि सारेको प्रदेश सरकारले कृषिको लागि भने जम्मा ८५ करोडको बजेट विनियोजन गरेको छ । त्यस्तै उद्योग क्षेत्रको लागि १ अर्ब ३० करोड रकम विनियोजन गरिएको छ ।

औद्योगिक ग्राम, अन्तार्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रलगायतको विषय औद्योगिक क्षेत्रको लागि समेटिएको छ । शिक्षा क्षेत्रको लागि १ अर्ब ३५ करोड बजेट विनियोजन गरिएको छ । साक्षर प्रदेश, मनमोहन पोलिटेक्नीकलाई प्राविधिक विश्वविद्यालय, जनता चिकित्सा शिक्षा कोष, आवासीय विद्यालय निर्माण, महेन्द्र मोरङलाई ई–लाइब्रेरी सञ्चालनलगायतका विषय बजेटमा समेटिएका छन् ।

त्यस्तै स्वास्थ्य क्षेत्रको लागि प्रदेश सरकारले १ अर्ब ४४ करोड बजेट छुट्याएको छ । यसको लागि प्रदेश स्तरको ५ सय शैयाको प्रदेश अस्पताल, कोशी अञ्चल अस्पताललाई शिक्षण अस्पताल, मंगलबारे अस्पतालाई ट्रमा सेन्टर अस्पतालको रुपमा काम शुरु गरिने उल्लेख गरिएको छ । त्यस्तै सरकारले एक नम्बर प्रदेशलाई सूर्ती तथा मदिरालाई पूर्ण रुपमा नियमन गर्ने जनाएको छ ।

९ अर्ब ५० करोड बजेट भौतिक पूर्वाधारमा छुट्याएको छ । प्रदेश सरकारले नुमना बस्ती, ५ वर्षमा सुकुम्बासी समस्या समाधानको लागि घर निर्माण, बस्ती विकासलाई व्यवस्थापन, मन्त्रालय तथा भवन निर्माण, नयाँ शहर निर्माणको लागि सम्भाव्यताको खोजी गर्दै काम सुरु गरिने, कम्तीमा २ वटा स्मार्ट सिटीको लागि सम्भाव्यता अध्ययन गरिने उल्लेख छ ।

पूर्व–पश्चिम राजमार्गको कोशी व्यारेजदेखि प्रदेश १ को राजमार्गको कांकडभिट्टासम्मको सडकलाई ६ लेनमा विस्तार गर्ने कार्य प्रारम्भ, विराटनगर–रानी–किमाथाङका सडकलाई प्रदेशको गौरबको अयोजनाको रुपमा सञ्चालन गर्ने, आगामी आर्थिक वर्षमा विराटनगर–रानी–धरान मेट्रो तथा मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययन सुरु गरिने बजेटमा समेटिएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया