प्रदेश ५ को बजेट २८ अर्ब ९ करोड

 असार १, २०७५ शुक्रबार १९:३८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – प्रदेश ५ को सरकारले २८ अर्ब ९ करोड ३ लाखको बजेट सार्वजनिक गरेको छ ।

अर्थमन्त्री समेत रहनु भएका मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबार प्रदेशसभामा आउँदो आर्थिक वर्ष २०७५/७६ को बजेट सार्वजनिक गर्नु भएको हो । प्रदेश सरकारले चालु खर्चतर्फ ११ अर्ब र पूँजीगततर्फ १६ अर्बको बजेट ल्याएको छ । प्रदेश ५ ले पनि सडक निर्माणलाई प्राथमिकतामा राखेको छ । प्रदेश क्षेत्रस्तरका १ सय ४१ सडकका लागि ७० करोड ५० लाख र प्रदेश स्तरका अन्य ९४ सडकका लागि १ अर्ब १८ करोड ५५ लाख रुपैयाँ छुट्याएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबार प्रदेशसभामा पेश गर्नुभएको बजेटमा सांसदहरुले योजना छनोट गर्ने गरी प्रदेशसभा निर्वाचन क्षेत्रमा बजेट विनियोजन गरेको छ । सडक र पुलका योजनामा बजेट खर्च गर्न पाउने गरी प्रदेश सांसदले आफ्नो क्षेत्रमा दुईवटा भौतिक पूर्वाधार निर्माण गर्न ७० करोड रुपैयाँ छुट्याएको छ ।

प्रदेशका सबै नागरिकलाई स्वच्छ खानेपानी पुर्याउन इञ्जिनियरिङ भइसकेका ५५ खानेपानी योजनाका लागि २३ करोड ४५ लाख, १४० आयोजनाको विस्तृत सर्वेक्षण गरी कार्यान्वयन गर्न २४ करोड ८ लाख विनियोजन गरेको छ । स्थानीय तहको सहकार्यमा १० वटा शीत भण्डार निर्माणका लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

विद्यालय सुधार गर्न १० करोड, विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि १५ करोड र मर्मत सम्भारका लागि २ करोड रकम छुट्याइएको छ ।
यस्तै प्रत्येक गाउँपालिका १ खेल मैदान निर्माण गर्न ५५ करोड ६० लाख रकम छुट्याएको छ भने एक गाउँ एक पोखरी निर्माणका लागि ४ करोड, स्थानीय तहमा सभाहल र सामुदायिक भवन निर्माणका लागि ४३ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ । 


 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया