ब्याएका गाईभैंसीलाई पनि हजार रुपैयाँ सुत्केरी भत्ता !

 पुस ११, २०७५ बुधबार १६:०:१४ | बाबुराम देवकोटा
unn.prixa.net

फाइल तस्बिर

सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिकाले कृषकहरुलाई पशुपालन व्यवसायप्रति आकर्षित गर्ने उद्देश्यले सुत्केरी पशुलाई भत्ता दिन सुरु गरेको छ ।

नगरक्षेत्रभित्रका कृषकले पालेको गाई भैंसी ब्याउदा सुत्केरी खाद्यान्न सहयोगका लागि एक पटक नगद एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउन थालिएको नगरपालिकाले जनाएको छ । सुत्केरी पशुलाई भत्ता दिन कृषकहरुबाट निवेदन सङकलन गर्न सुरु गरिएको नगरपालिकाका पशु चिकित्सक हरिहर लामिछानेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कृषकलाई सुत्केरी पशुको भत्ता दिन मङसिर १ गतेदेखि नै निवेदन सङकलन सुरु गरिएको छ । अहिलेसम्म २८ जना कृषकले भत्ताको दाबी गर्दै निवेदन दर्ता गराएका छन् । सङकलन भएको निवेदनका आधारमा प्रत्येक दुई महिनामा बैंकबाट रकम झिकी कृषकलाई बोलाएर उक्त भत्ता उपलब्ध गराइन्छ ।’

यो अभियान असार मसान्तसम्म लागू गरिने चिकित्सक लामिछानेको भनाई छ । उहाँका अनुसार कृषकले पशुको सुत्केरी भत्ता लिन वडा कार्यालयको सिफारिस, पशुधनी र ब्याएको गाईभैँसीको बच्चासहित देखिने फोटो र नागरिकताको प्रतिलिपिसहितको निवेदन नगरपालिकामा दर्ता गर्नु पर्ने हुन्छ । 

यसरी उपलब्ध गराएको भत्ताबाट सम्बन्धित कृषकले ब्याएको पशुलाई पौष्टिक आहार र खाद्यान्न किनेर खुवाउनु पर्ने छ । कार्यपालिकाको बैठकबाट निर्णय गराई पशुलाई सुत्केरी भत्ता दिन सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया