फिल्म ‘सञ्जु’ मा रणवीर र सलमानको सवालजवाफ

 असार २, २०७५ शनिबार ८:३८:१५ | एजेन्सी
unn.prixa.net

अभिनेता सलमान खान अभिनित फिल्म ‘रेस ३’ जुन १५ मा प्रदर्शन भइसकेको छ । ‘रेस ३’ को जति चर्चा प्रदर्शन हुनुअघि भएको थियो, त्यसको तुलनामा प्रदर्शन पछि भने अपेक्षा अनुरुपको प्रतिक्रिया पाइरहेको छैन । फिल्म समिक्षक तरण आदर्शले यस फिल्मलाई निराशा जनक नै भनिदिएका छन । 

यही मौकालाई हेर्दै अभिनेता रणवीर कपूरले सलमानले यसअघि बोलेको कुराको जवाफ फर्काएका छन । किनकी सलमानले ‘रेस ३’ को प्रमोशन कार्यक्रमका बेला रणवीरको अभिनयमाथि सवाल उठाएका थिए ।

सलमानले बोलेको कुराले मिडियामा रामै्रसँग चर्चा पाएको थियो । चर्चाको विषय अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित फिल्म ‘सञ्जु’ थियो । जसमा सञ्जय दत्तको भूमिका निर्वाह गरेका थिए अभिनेता रणवीर कपूरले । 

प्रमोसनका क्रममा सलमानलाई फिल्म ‘सञ्जु’ का बारेमा सोधिएको प्रश्नमा अभिनेता सञ्जय दत्तको बायोपिकमा अन्य कुनै पनि कलाकारले अभिनय गर्न नसक्ने बताएका थिए । साथै अरु कसैले सञ्जय दत्त बन्नको लागि गरेको मेहनत व्यर्थ रहेको र ‘सञ्जु’ मा सञ्जय दत्तको पछिल्लो १० वर्ष यताको भूमिका सञ्जय आफैले गर्नु पर्ने बताएका थिए । 

फिल्म ‘सञ्जु’ मा सञ्जय दत्तको भूमिकामा रहेका अभिनेता रणवीर कपूरले अहिले सलमानलाई कडा जवाफ दिएका छन । रणवीरले भने, ‘मलाई लाग्छ, यस्तो कसैको पनि बायोपिकमा भएको छैन कि जसको जीवनीमा फिल्म बनिरहेको छ, उसैले त्यस फिल्ममा आफै अभिनय गरेको । यदि यस्तो भयो भने त्यो पात्रको प्रभाव बाँकी नै रहँदैन । मलाई पहिल्यै थाहा थियो व्यक्तिहरु मलाई स्क्रिनमा देख्ने बित्तिकै सञ्जय दत्तसँग तुलना गर्न थाल्नेछन् । त्यसैले मैले इमान्दारीका साथ आफ्नो भूमिका निर्वाह गरेको छु ।’

उनले अगाडि भने, ‘दर्शकले मलाई सञ्जय दत्तको ४० औं वर्षको अवतारमा देखुन वा २० औ वर्षको अवतारमा देखुन । उनीहरुलाई यस्तो लागोस् कि उनीहरुका अगाडि एक कलाकारले सञ्जय दत्तको भूमिका निर्वाह गरिरहेको छ । यो सत्य हो कि म दास्रो सञ्जय दत्त बन्न सक्दिन । हाम्रो प्रयास भनेको सञ्जय दत्तको जीवनीलाई दर्शक माझ ल्याउनु हो ।’

यति बेला फिल्म ‘सञ्जु’ को प्रमोसनमा रणवीर कपूरलगायत अन्य कलाकारहरु व्यस्त छन । राजकुमार हिरानीको निर्देशन रहेको यस फिल्ममा अभिनेता रणवीरका साथै मनिषा कोइराला, दिया मिर्जा, सोनम कपूर, परेश रावल र विक्की कौशलको अभिनय रहेको छ । जुन २९ मा प्रदर्शन हुने यस फिल्ममा सञ्जय दत्तको जीवन कथा हेर्नका लागि दर्शकहरु व्यग्रताका साथ पर्खिरहेका छन ।  
 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया