आठराई गाउँपालिकामा आकस्मिक कोष स्थापना, रोगी र विपद् प्रभावितलाई सहयोग गरिने

 पुस १५, २०७५ आइतबार १६:९:५६ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – तेह्रथुमको आठराई गाउँपालिकाले जटिल प्रकृतिका रोगहरु र विपद्बाट पीडितहरुलाई सहयोग गर्न आकष्मिक कोष स्थापना गरिएको छ ।

गाउँपालिकाले कोष स्थापना गरी कोषको सञ्चालनका लागि आकस्मिक कोष सञ्चालन, खोजी, उद्धार, राहत तथा पुनस्र्थापना खर्च व्यवस्थापन कार्यविधि–२०७५ समेत लागू गरेको छ ।

कोषमा तत्कालका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरी पीडितहरुलाई सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले बताउनुभयो । उहाँका अनुसार कोषबाट गाउँपालिका क्षेत्रभित्रका मस्तिष्क रोग, क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हृदयघातजस्ता जटिल प्रकृतिका रोगहरुको उपचारमा सहयोग पुर्याउने उदेश्य लिइएको छ । 

व्यक्ति वा सामाजिक संस्थाहरु समेत कुनै पनि विपत्ति र जटिल प्रकृतिका रोगहरुबाट पीडित भएको अवस्थामा उनीहरुको उद्धार र राहत तथा उपचारका लागि सहयोग स्वरुप अधिकतम ३० हजार रुपैयाँसम्म उपलब्ध गराउने गरिएको छ ।

कोषबाट चालु आर्थिक वर्षमा १६ जना व्यक्ति र एउटा विद्यालयलाई सहयोग उपलब्ध गराइएको अध्यक्ष लिम्बूले बताउनुभयो । गाउँपालिकाका अनुसार यो वर्ष आँखा रोगी करण थापा, ब्लड क्यान्सर पीडित मोहन लिम्बू, अतिप्रभावित मानबहादुर ल्वागुनलाई जनही ३० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराइएको छ ।

यस्तै अंगभंग भएकी मनिषा लुइटेल, मेदनीप्रसाद मोक्तान र अति प्रभावित डम्बरबहादुर तामाङलाई जनही २५ हजार रुपैयाँका दरले सहयोग वितरण भएको उपाध्यक्ष रुपादेवी कन्दङवाले बताउनुभयो ।

यस्तै विपद् प्रभावित केलिङ आधारभूत विद्यालयलाई १५ हजार, भीमबहादुर बाराकोटीलाई १५ हजार र मिर्गौला रोगी बलबहादुर विक, मष्तिष्क रोगी जयनारायण आचार्य, क्यान्सर रोगी गंगीमाया लिम्बू, ब्लड क्यान्सर पीडित पदम बाँस्कोटा, फोक्सो रोगी विवेश लिम्बू र मष्तिष्क रोगी डम्बरबहादुर थापालाई जनही २० हजार रुपैयाँका दरले सहयोग रकम वितरण गरिएको छ ।

यस्तै मुटुरोगी सरस्वता ढुंगेल, खेमबहादुर लिम्बू र कुमारी लिम्बूलाई जनही १० हजार रुपैयाँका दरले उपचार सहयोग उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । कोषको सञ्चालन तथा व्यवस्थापनका लागि गाउँपालिका अध्यक्षको अध्यक्षतमा प्रहरी, रेडक्रस, संघसंस्था र पत्रकार समेत सहभागी समिति रहने कार्यविधिमा व्यवस्था गरिएको छ ।

कार्यविधि अनुसार जुनसुकै विपद्मा परि परिवारको सदस्य गुमाएका परिवारलाई प्रति परिवार ५० हजार रुपैयाँ वितरण गरिनेछ । कार्यविधिले विपद्लाई सामान्य, आंशिक र अति प्रभावितको रुपमा वर्गीकरण गरेको छ ।

विपद्मा सामान्य प्रभावितहरुलाई अवस्था हेरी ५ देखि १५ हजार रुपैयाँ, आंशिक प्रभावितहरुलाई १५ देखि २५ हजार रुपैयाँसम्म र अति प्रभावितहरुलाई २५ देखि ५० हजार रुपैयाँसम्म राहत वितरण गर्ने कार्यविधिमा उल्लेख रहेको छ । 

अन्तिम अपडेट: चैत ८, २०८०

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया