नेपाल अदक्ष कामदार बेच्ने देश हो र ?

 बैशाख २६, २०७५ बुधबार १२:५३:२९ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

नरेश लामिछाने, अर्जुनधारा नगरपालिका –७, झापा/हाल युएई

म १० वर्षदेखि एउटा पाँच तारे होटलमा सिसि टिभी सिस्टम कट्रोलर र सेक्युरिटी इञ्चार्जका रुपमा काम गर्दैै छु । 

नेपालीको रोजगारीलाई हेर्दा नेपाल चाहिँ अदक्ष कामदार निर्यात गर्ने देश जस्तै भयो । नेपालबाट हेल्पर भनेर पठाउने गरिएको छ । तर उसलाई हेल्पर भनेको के हो अनि उसले के काम गर्नुपर्छ भनेर थाहा हुँदैन । कसैले यो ट्रेड उ ट्रेड भनेर पठाइदिएको छ ।

ट्रेड भनेको के हो अनि कुन ट्रेड वालाले के  काम गर्नुपर्ने हो केही जानकारी दिइएको हुँदैन । धेरैलाई सप्लाई कम्पनीमा पठाइएको हुन्छ । उनीहरुलाई नेपालमा राम्रो काम मात्रै होइन कमाइ पनि राम्रै हुन्छ भनेर लोभ देखाइएको हुन्छ । तर सप्लाई कम्पनीमा आएपछि काम र कमाई होइन बसाईकै टुङ्गो हुँदैन ।

भनेको काम र दाम पाउनु त टाढैको कुरा । यसरी केही नबुझाइ अनि केही नसिकाइ कामदार पठाइ रहँदा हाम्रो देश अदक्ष कामदार निर्यात गर्ने देश जस्तै भएको छ । के ययार्थ यही हो ? यदी होइन भने यसमा खै त सरकार, म्यानपावर व्यवसायी अनि  एजेण्टहरु सचेत र जिम्मेवार भएको ? 

हुन त मेनपावर व्यवसायी र  एजेण्टलाई अरुले दलाल पनि भनेको सुन्छु । तर म उहाँहरुलाई त्यो शब्द चाहिँ प्रयोग गर्दिन । किनकी उनीहरुले पनि वेरोजगार युवा जसले नेपालमा कुनै पनि अवसर नपाएर वा नदेखेर काम खोजिरहेका हुन्छन् । उनीहरुलाई काम दिइरहेका होलान् । 

खाडीका देशमा आउने नेपालीहरु आफूसँग धेरै सम्पत्ति भएर आएका पक्कै होइनन् । उनीहरु श्रमको अवसर  खोज्दै आफ्नो सम्पत्ति धितोमा राखेर वा ऋण लिएर आएका हुन्छन् । पैसा थियो भने उनीहरु पनि लाखौं खर्च गरेर युरोप,अमेरिका अनि अष्ट्रेलिया जस्ता देशतिर गई हाल्थे होला नी । 

विशेष गरेर खाडी मुलुकमा आफ्नो युवा जोस,जाँगर र स्वास्थ उमेरलाई  अव्यवस्थित श्रम बजारमा बेच्न बाध्य उनीहरु जस्ता धेरै नेपालीहरु पनि त नेपालकै नागरिक हुन् ।

त्यसैले उनीहरुका बारेमा र उनीहरु जस्ता धेरै नेपालीलाई झुटको खेती गरेर विदेश पठाउने एजेन्ट या वयसायीहरुको बारेमा सरकारले सुक्ष्म रुपमा अध्यान गरेर विशेष ध्यान दिनु पर्यो । उनीहरुलाई एजेण्ट र म्यानपावरले पठाएका हुन् तर ढाँटेर पठाउने म्यानपावरलाई त मानव बेचबिखनको मुद्दा लगाएर सरकारले कारवाही गर्न सक्छ । 

हुन त विदेशमा कहिले काहिँ भाग्यले पनि साथ दिनुपर्छ कि जस्तो लाग्छ । तर भाग्य भनेर डोकोमा दूध दोएर हुँदैन भने जस्तै हो । त्यसैले पठाउँदा नै दक्ष कामदार पठाउनुपर्छ । 

यस्ता कामदार पठाउन सकियो भने मात्रै उनीहरुले यहाँ राम्रो अवसर पाउन सक्छन नत्र भने नेपालीहरु समस्यामा पर्ने क्रम रोकिँदैन ।  अहिले जुनसुकै कम्पनीमा अनुभवी कामदार खोज्छ । यस्तो समयमा नेपालबाट चाहिँ अदक्ष कामदार मात्रै आइरहेका छन् ।

त्यसरी पठाइरहँदा  उनीहरुलाई सुरुबाटै समस्या हुन थाल्दछ ।  आज त्यसैको एउटा कारण खाडीका देशमा रहेका केहि नेपाली दाजुभाइ तथा दिदी बहिनी आफ्ना असिमीत सपनाहरु पूरा गर्न र सम्पत्ति कमाउने ध्यानमा अवैधानिक र यहाँको नियम कानुन बिपरितका विभिन्न खाले गलत क्रियाकलापमा संलग्न हुन्छन ।

फलस्वरूप कोही जेलमा पुगेका छन त कसैले आत्माहत्यासम्म पनि गरेका छन् । यस्ता अनपेक्षित घटना तथा दुर्घटनालाई नियन्त्रण तथा व्यवस्थित गर्न नेपाल सरकारले जति सक्दा छिटो ध्यान दिनु जरुरी छ । 

नेपालबाट पठाउँदा नेपालीहरुलाई एक हजार दिर्हाम र दुई सय दिर्हाम थप भनेर पठाइएको हुन्छ । तर उनीहरुसँग सीप नभएकाले धेरै नेपाली ४ सय दिर्हाममै काम गर्न बाध्य छन् । त्यसैले कागजमा लेखिने कुरा यथार्थमा परिणत गर्न जरुरी छ  । 

यहाँ आइसकेपछि फर्किन गाह्रो छ । त्यसैले अरबमा श्रम बेच्न आउनु अघि नै आउनेहरुले  आफ्नो कार्यक्षमताका बारेमा धेरै सोच्नु जरुरी छ । सरकारले म्यानपावर वयवसायी मार्फत आएका सबै नेपाली कामदारहरुले पाउने सेवा सुबिधा फरक नपर्ने किसिमको व्यवस्थालाई कडाइका साथ लागु गर्नु पर्छ ।

श्रम मैत्री व्यवस्थाका लागि  विशेष रुपमा ध्यान दिनै पर्छ चाहे त्यो नेपाल सरकारको सन्दर्भमा होस या अरब सरकारको सन्दर्भमा । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया