हिमचितुवा संरक्षणको जिम्मा स्थानीयलाई दिन नेपालको प्रस्ताब

 असार २, २०७५ शनिबार २०:०:३५ | उज्यालो सहकर्मी

काठमाडौं - नेपालले हिमचितुवा संरक्षणको जिम्मा स्थानीय समुदाय र युवालाई दिन प्रस्ताव गरेको छ ।

किर्गिस्तानमा भएको हिम चितुवा पाइने १२ देशका वन तथा वातावरण मन्त्रीको बैठकलाई सम्बोधन गर्दै वन तथा वातावरण मन्त्री शक्तिवहादुर बस्नेतले स्थानीयवासिन्दाको सहभागिता बिना हिमचितुवा संरक्षण प्रभावकारी हुन नसक्ने उल्लेख गर्नुभएको हो ।

उहाँले हिमचितुवा संरक्षणमा स्थानीय युवाको सहभागितालाई नेपालले प्राथमिकतामा राखेको जानकारी गराउनुभएको थियो । उहाँले एक वर्षअघि काठमाडौंमा बसेको बैठकले गरेको निर्णय अनुसार हिमचितुवा संरक्षण र अध्यययन/अनुसन्धानको कामलाई कार्यान्वयनको सिलसिलामा कञ्चनजंगा संरक्षण क्षेत्रमा हिमालयन अनुसन्धान केन्द्र स्थापनाको काम भइरहेको तथा अन्नपूर्ण र शे–फोक्सुण्डो क्षेत्रमा त्यस्तै प्रकारका अनुसन्धान केन्द्र स्थापना गर्ने सरकारको नीति रहेको जानकारी पनि गराउनुभएको छ ।  

मन्त्री बस्नेतले हिमचितुवा संरक्षणको काम जडिबुटी तथा पर्यापर्यटन जस्ता कार्यक्रमसँग जोड्नुपर्नेमा पनि जोड दिनुभयो । त्यसका लागि स्थानीय समुदाय र निजि क्षेत्रका अतिरिक्त राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संरक्षण साझेदार संघसंस्था समेतसँग सहकार्य गरिनुपर्ने विचार व्यक्त गर्नुभयो । 

नेपालको कञ्जनजंघा संरक्षण क्षेत्रदेखि अपिनप्पासम्म झण्डै पाँच सय हिमचितुवा रहेको अनुमान छ । बिहीबारदेखि दुई दिनसम्म चलेको बैठकले जारी गरेको घोषणापत्रमा विश्वभर रहेका हिम चितुवाको संख्या गणनाका लागि सबै सदस्य राष्ट्रमा एक संयन्त्र निर्माण गरिने उल्लेख छ ।

त्यसका लागि सबै सदस्य मुलुकमा सम्पर्क व्यक्ति नियुक्त गरिने बताइएको छ । यस्तै घोषणापत्रमा हिम चितुवा तथा ठूला बिराला प्रजातिको अवैध निकासी पैठारी, तिनीहरुको शिकार तथा तिनका अंगहरुको अवैध व्यापार, बजारको अवैध माग तथा वन्यजन्तुविरुद्धका सबै खाले गतिविधि समेत कडाइका साथ रोक्ने बैठकले निर्णय गरेको छ ।

घोषणापत्रमा हिमचितुवाको गैरकानूनी ओसारपार र शिकारबारे सूचना आदान/प्रदानका लागि मिलेर काम गर्ने पनि उल्लेख गरिएको छ । बैठकमा हिमचितुवा पाइने देशहरु नेपालसहित भारत, चीन, रुस, अफगानिस्तान, भुटान, काजकिस्तान, किर्गिस्तान, मगोंलिया, पाकिस्तान, काजकिस्तान र उज्वेकिस्तानको सहभागिता थियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया