२०१८ मा देशभरमा विभिन्न दुर्घटनामा २६ सय भन्दा बढीले ज्यान गुमाए

 पुस १७, २०७५ मंगलबार १७:५०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - सन् २०१८ मा विभिन्न दुर्घटना तथा विपदमा परेर देशभरमा २ हजार ६ सय ९५ जनाले अकालमै ज्यान गुमाएकाे तथ्यांकले देखाएकाे छ । 

यस्तै १० हजार १ सय २१ जना घाइते भएका गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिनुभयो । 

एक वर्षको अवधिमा सडक दुर्घटनामा २ हजार १ सय ५९ जना, हवाई दुर्घटनामा ५७ जना र विपद् सम्बन्धी अन्य घटनामा ४ सय ७९ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । 

यस वर्षको अवधिमा आगोले जलेर मात्रै ८७ जनाको ज्यान गएको छ भने पहिरोबाट ९१ जना, शीतलहरबाट ४७ जना, लेक लागेर २५ जना तथा जनावरको आक्रमणबाट २२ जनाले ज्यान गुमाएका छन् । 

गएको वर्ष बङ्गलादेशबाट आएको युएस एयर–बाङ्गला विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा ४९ जनाको ज्यान गएको थियो ।

सडकमा पनि यस्तै कहालीलाग्दा दुर्घटनाहरु भए । दाङमा विद्यार्थी चढेको गाडी दुर्घटना हुँदा २३ जनाको ज्यान गयो भने नुवाकोटमा मिनिट्रक दुर्घटना हुँदा २० जनाको ज्यान गयो । त्यस्तै डडेल्धुरामा १६ तथा पाल्पामा १५ जनाको ज्यान जाने लगायतका सडक दुर्घटनाहरु सन् २०१८ मा भएका थिए । 
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया