सिरिङबारी : महिलाले बदलेकोे गाउँ

 असार ३, २०७५ आइतबार १०:४१:५१ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – चिटिक्क परेका घर । घर नजिकै चर्पी, अलग्गै धारा र भान्सा पनि । करेसाबारीमा लटरम्म फलिरहेका तरकारीबाली । कसैले आँगनको डिलमै अकबरे खुर्सानी फलाएका छन् त, कसैले अदुवा र फलफूल । कतै भर्खरै विरुवा रोपिएको छ । कुनै विरुवा केही ठूला भइसकेका छन् । घरैपिच्छे बंगुरपालन, कुखुरापालन र बाख्रापालन गरिएको छ ।

मेन्छ्यायेम गाउँपालिका–२, पौठाकको सिरिङबारी टोलमा झुरुप्प लिम्बु बस्ती छ । खोरुंगा खोला तरेर नाक ठोकिने उकालो छिचोल्दै सिरिङबारीमा पुगेपछि देख्न पाइन्छ, त्यहाँका महिलाको यस्तो पौरख ।

‘गाउँमा अशिक्षा व्याप्त थियो’ दशक अघिसम्मको अवस्था सम्झिँदै वडा सदस्य पूर्णहाङ लिम्बुले भन्नुभयो, ‘अहिले धेरै परिवर्तन भैसकेको छ ।’ कुनैबेला काटाकाट र मारामार चल्थ्यो, तर कोही बोल्दैनथे । जाँड खाएर झैझगडा गर्नु, श्रीमान् श्रीमतीबीच मारमुङ्ग्री चल्न, छोराछोरीलाई विद्यालय नपठाउनु र सरसफाइमा ध्यान नदिनु यहाँको ठूलो समस्या थियो ।

तर अहिले गाउँमा आयमुलक काम गर्ने लहर चलेको छ । पहिलेजस्तो झैझगडा हुँदैन । जाँडरक्सी खाएर होहल्ला गर्नेहरु पनि कम भैसके । गाउँलेहरुबीच कस्तो तरकारी र फलफूल लगाउने, कहाँ लगेर बेच्ने जस्ता विषयमा सरसल्लाह हुन्छ ।

अहिले विद्यालय नजाने कुनैपनि बालबालिका छैनन्, सिरिङबारीमा । सबै घरमा चर्पी छ । पुरुषहरुभन्दा महिला सक्रिय छन् । अभियान चौतारी समूह स्थापना गरेर महिलाकै पहलमा गाउँमा परिवर्तन भित्रिएको हो ।

हिमालय महिला समूह स्थापना गरी लामो समयसम्म अभियान चौतारीमार्फत छलफल गरेर समस्याको समाधान खोजिएको वडा सदस्य पूर्णहाङले बताउनुभयो ।अभियान चौतारी त्यस्तो ठाउँ हो, जहाँ गाउँलेले आफ्ना समस्या र समाधानका उपायबारे छलफल गरी सामुहिक प्रयासबाट समाधानको बाटो रोज्छन् ।

 

सिरिङबारीमा पनि यही गरियो । समूहकै अगुवाईमा महिलाहरुले सामुदायिक शिशु हेरचाह केन्द्र खोले । विद्यालय जाने उमेर नभएका बालबालिकालाई त्यहाँ राखेर आफूहरु चाहिँ आयआर्जनका गतिविधिमा संलग्न हुन थाले ।

अहिले स्थानीय समूहको तर्फबाट सहकारीमा दुईलाख १३ हजार रुपैयाँ बचत गरेका छन् । त्यो रकमबाट केन्द्रलाई दीगो बनाउन कोष खडा गर्ने उनीहरुको अभियान छ । कोषमा रहेको रकमको ब्याजले लामो समयसम्म केन्द्र निरन्तर चल्ने आशा गरिएको समूहकी अध्यक्ष अम्बिका लिम्बुले बताउनुभयो ।

गाउँको परिवर्तनका लागि आफूहरुको चाहना भएर पनि नसकेका काम समूहमार्फत सामुहिक रुपमा गर्न सफल भएकोमा धेरै खुसी लागेको २५ वर्षीया गोमा लिम्बुले बताउनुभयो ।

काखे बच्चालाई हेरचाह केन्द्रमा राखेर आफू ६ महिनादेखि निरन्तर काममा लाग्दै आएको उहाँले बताउनुभयो । गाउँलेको चेतना विकास र परिवर्तनका लागि स्थानीय अधिकार कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको स्थानीय अगुवा सुरेश चोङवाङको अनुभव छ ।

गाउँमा व्याप्त अशिक्षाको जरो उखेल्न समूहमार्फत अभियान चौतारी सन्चालन गरेपछि धेरै समस्याहरु समाधान भएको सिरिङबारीका बासिन्दा बताउँछन् । यसका लागि एक्सन एड नेपालको सहयोगमा देउराली सोसाइटीद्वारा सन्चालित स्थानीय अधिकार कार्यक्रमले सघाएको थियो । 

अन्तिम अपडेट: चैत ११, २०८०

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया