सर्वोच्च अदालतको फैसला विरुद्ध रित्तो थाल प्रदर्शन

 असार ३, २०७५ आइतबार १८:४२:७ | दीपक भट्ट
unn.prixa.net

रामेछाप– सर्वोच्च अदालतको फैसला विरुद्ध रामेछापका व्यवसायी तथा स्थानीयले थाल प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालतले विपी राजमार्ग अन्तर्गत सिन्धुली–खुर्कोट राजमार्ग हुँदै रामेछापतर्फ चल्ने ठूला मालबाहक ढुवानीका सवारीसाधन चलाउन रोक लगाएपछि गोदाममा खाद्यान्न, निमार्ण सामाग्री, ग्यास लगायतका सामाग्रीहरु खाली भएको भन्दै स्थानीय सर्वसाधारण र व्यवसायीहरुले रित्तो थाललाई चम्चाले ठटाउँदै आइतबार बिहान प्रर्दशन गरेका छन् ।

तराईका विभिन्न जिल्लाबाट रामेछापतर्फ खाद्यान्न ढुवानी सामान ओसारपसार गर्ने विपी राजमार्गमा ठूला मालबाहक गाडी सञ्चालनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरी गएको १२ दिनदेखि रोक लगाएपछि रामेछापका खाद्यान्न, निमार्ण सामाग्री र खाना पकाउने एलपी ग्यासलगायतका सामाग्रीहरु ढुवानी हुन सकेको छैन् ।

व्यवसायीहरुले यसअघि आफ्नो गोदाममा भण्डारण गरी राखेका सबै सामाग्रीहरु समेत सकिएको बताएका छन् । रामेछापको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिका अन्तर्गत व्यापारिक केद्रहरु बाम्ती, गुम्देल, प्रितीलगायतका स्थानमा व्यसायीहरुले वर्षातको समयमा बिक्री गर्न राखिएको खाद्यान्न लगायतका सामाग्रीहरु समेत सकिएको बताएका छन् ।

तराईबाट सिधै पहाडी जिल्ला रामेछापमा जोडिने एकमात्र विपी राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएपछि रामेछापका व्यवसायीहरुले खाद्यान्नलगायतका सामाग्रीहरु ल्याउन पाएका छैनन् ।

निमार्ण सामाग्री ल्याउन नपाएका व्यवसायीहरुले १२ दिनदेखि लगातार रुपमा विभिन्न विरोध कार्यक्रमहरु संचालन गर्दै आएका छन् । व्यवसायीहरुले यसअघि मोटरसाइकल र्याली, मैनबत्ती र्याली, सिठी जुलुस, जिल्ला प्रशासन कार्यालयमा मागसहितको ज्ञापनपत्र, खाली थुन्से बोकेर जुलुस प्रदर्शन गरेका थिए ।

आइतबार पनि उनीहरुले रामेछापका नागरिकहरुले खाना पाउने अधिकार सुनिश्चितताको माग गर्दै रित्तो थाल चम्चाले ठटाएर बिरोधसभा गरेको रामेछाप उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

मन्थलीका सबै बजारहरु बन्द गरी स्थानिय देवकोटा चोकबाट निस्किएको सर्वसाधरण र व्यवसायीहरुको जुलुसले बजार परिक्रममा गरी पुनः देवकोटा चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

तराईबाट रामेछापतर्फ आउने सवारीसाधनलाई बिना कारण सर्वोच्च अदालतले रोक लगाएर नागरिकको पेटमा लात हानेको भन्दै तत्काल सर्वोच्चको आदेश नसच्चिए रामेछापका नागरिक भोकै मर्नुपर्ने अवस्था आउने र यसलाई तत्काल सच्चाउनु पर्ने रामेछाप उद्योग वाणिज्य संघका कोषाध्यक्ष जेएन दाहालले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया