प्रदेश नम्बर ५ का लेखा समिति सभापतिद्वारा गाडी फिर्ता

 पुस २८, २०७५ शनिबार ६:२८:३७ | रासस

रुपन्देही – प्रदेश नम्बर ५ को सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले प्रदेश सचिवालयले उपलब्ध गराएको गाडी शुक्रबार फिर्ता गर्नुभएको छ । 

उहाँले सचिवालयको जिन्सी शाखा प्रमुख कृष्ण गौतमलाई लु १ झ ४४१ नम्बरको गाडीको साँचो फिर्ता गर्नुभएको हो । केही दिनयतादेखि गाडी खरिदमा अनियमितता भएको भन्दै समाचार बाहिर आएको थियो । 

‘गाडीको कागजात झिकाइ छानबिन सुरु गरेकाले गाडी चढ्नु उपयुक्त नहुने भएकाले नैतिकताको आधारमा गाडी फिर्ता गरेको छु’, सभापति चौधरीले भन्नुभयो, ‘प्रदेशसभा सचिवालयले विभिन्न समितिका सभापति, दलका मुख्य सचेतक, प्रदेशसभा सचिवलगायतलाई १३ वटा गाडी खरीद गरेको थियो ।’ 

यसैबीच सार्वजनिक लेखा समितिले खरीद गरिएका सबै गाडीको फाइल झिकाएर छानबिन प्रक्रिया सुरु गरेको छ । समितिको शुक्रबार बसेको बैठकमा गाडीको विषयमा बाहिर आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खरिद गरिएका सबै गाडीको कागजातको प्रारम्भिक अध्ययनको लागि समितिका सदस्य कुलप्रसाद पोखरेलको संयोजकत्वमा छानबिन कार्यदल गठन गरेको छ । 

कार्यदलमा वैजनाथ जयसवाल र कल्पना पाण्डे सदस्य हुनुहुन्छ । संयोजक पोखरेल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को तर्फबाट प्रदेशसभा सदस्य हुनुहुन्छ भने पाण्डे राष्ट्रिय जनता पार्र्टी र जयसवाल नेपाली कांग्रेसका तर्फबाट प्रदेश सदस्य हुनुहुन्छ
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया