‘अरुण–३ ले सुरु गर्‍यो कांग्रेसको अधोगति’

 पुस २८, २०७५ शनिबार ११:५७:४१ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

जहाँ पनि पर्दामा देखिनेहरुकै चर्चा हुन्छ । फाइदा लुट्नेहरु अक्सर पर्दामा देखिएकाहरु नै हुन्छन् । उनीहरु जस अपजसको भागिदार पनि चाँडै हुन्छन् ।

पर्दा पछाडि गुमनाम भएर रातदिन खट्नेको चर्चा निकै कम हुन्छ तर भूमिका अब्बल । यस्तै पर्दा पछाडि बसेर नेपालको बहुदलीय राजनीतिमा सक्रिय भूमिका खेल्ने एउटा नाम हो, पुरुषोत्तम बस्नेत । 

काठमाडौंको सिफलस्थित निवासमा घाम तापिरहेका ७३ वर्षीय बस्नेतले आफ्नो राजनीतिक विगत सम्झँदा हँसिलो चेहरा बनाउँदै भन्नुभयो, ‘अहिले गणतन्त्र र संघीयता कार्यान्वयन भएको देख्दा मन औधी खुशी छ, अधिकारको विकेन्द्रिकरण मेरो बाल्यकालदेखिको सपना हो ।’

थाहा पाएमा पञ्चहरुले थुनिहाल्थे, अनेक जुक्ति लगाएर पत्रिका बाँडिन्थ्यो अनि यहाँका गतिविधि प्रवासमा रहेका बीपीहरुलाई पठाइन्थ्यो ।

कांग्रेसको भातृ संगठन ‘बालसखा दल’मा २०१२ सालमा सहभागी हुँदा उहाँ १० वर्षको हुनुहुन्थ्यो । बुबा र दाजु कांग्रेसमा सक्रिय रहेका कारण पारिवारिक वातावारणले उहाँलाई त्यतै प्रेरित गर्‍यो । धनमानसिंह परियारको रेखदेखमा रहेको बालसखा दल अन्तर्गत उहाँ काठमाडौंमा सक्रिय हुनुभयो । 

२०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र हत्याएर प्रधानमन्त्री बीपीलगायतलाई काठमाडौंमा पक्राउ गरे । पुरुषोत्तम बस्नेत पनि ओखलढुङ्गामा पक्राउ पर्नुभयो । एक महिना जेल र तीन महिना ओखलढुङ्गा सदरमुकाम छाड्न नपाइने कारबाही भोगेर बाहिर निस्केका बस्नेत त्यसपछि आजसम्मै कांग्रेसमा सक्रिय हुनुहुन्छ । 

मुख्य नेताहरु पक्राउ परेपछि पनि बस्नेतलगायतको समूह भूमिगत रुपमा कांग्रेसको विस्तारमा लागिरहेका थिए । विभिन्न साहित्यिक कार्यक्रम, विभिन्न पत्रिका प्रकाशनलगायतका काम गरी जागरण ल्याउने पहल भयो । 

२०२३ सालमा तारिणीप्रसाद कोइराला जेलमुक्त भएपछि उहाँसँग मिलेर अभियानलाई तीव्रता दिएको सम्झँदै बस्नेत भन्नुहुन्छ, ‘वागेश्वरी नजिक बस्ने तारिणी र म छिमेकी हौँ र मिल्ने सहयोद्धा पनि, सूर्यप्रसाद उपाध्याय पनि त्यो समूहमा उत्तिकै सक्रिय हुनुहुन्थ्यो ।’ 

बीपी कोइराला जेलमुक्त भएपछि उहाँहरुसँगै सक्रिय भएका बस्नेत २०२७ सालमा भारतको बनारसमा गोप्य भेलाबाट तरुण दल गठन हुँदा काठमाडौं संयोजकको भूमिकामा रहनुभयो । बनारसमै प्रकाशन हुने तरुण पत्रिका काठमाडौंमा वितरण गर्दा झेलेका समस्या सम्झँदै बस्नेत भन्नुहुन्छ, ‘थाहा पाएमा पञ्चहरुले थुनिहाल्थे, अनेक जुक्ति लगाएर पत्रिका बाँडिन्थ्यो अनि यहाँका गतिविधि प्रवासमा रहेका बीपीहरुलाई पठाइन्थ्यो ।’

तरुण दलमा सक्रिय रहँदा २०३० सालमा राजकाज अपराध ऐन अन्तर्गत जेल पर्नुभयो । राजनीतिक बन्दीको रुपमा लगातार तीन वर्ष र पटक-पटक गरी पाँच वर्षभन्दा बढी जेल बस्नुभएका बस्नेत जेलमा तीन वर्ष कृष्णप्रसाद भटराईसँगै हुनुहुन्थ्यो । बस्नेत भन्नुहुन्छ, ‘मलाई भटराई र कोइराला दुवैले धेरै विश्वास गर्थे’, त्यसबेला नक्खु जेललाई अघोषित रुपमा राजनीतिक व्यक्ति थुन्ने जेल बनाएको सम्झँदै बस्नेत भन्नुहुन्छ, ‘सँगै बसेका केही साथीहरुलाई त पञ्चायतले त्यहीबेला सिध्याइदियो ।’ 

२०३७ सालमा जनमत संग्रह हुँदा उहाँ नेपाली कांग्रेस सोलुखुम्बुको सभापति हुनुहुन्थ्यो । जनमत संग्रहका बेला धेरै नागरिकको चाहना बहुदलीय प्रजातन्त्र भए पनि राजा र पञ्चहरुले सत्ताको प्रयोग गरेर सुधारिएको पञ्चायत नतिजा देखाएको उहाँको दाबी छ । 

अरुण–३ मा भारतका पक्षबाट बोल्नेहरु र त्यही बेला घुसेका पूर्व पञ्चले पार्टीलाई धुल्याउन थाले । अहिले छिमेकीको नेतृत्वमा हिन्दू धर्मको वकालत गर्नेहरु छन्, त्यसैको असर यता परेको हुनसक्छ ।

जनमत संग्रहमा राजाले जबर्जस्त नतिजा आफ्नो पक्षमा पारेपछि अब सशक्त आन्दोलनबिना राजालाई पछाडि फर्काउन सकिँदैन भन्ने बुझेका बस्नेत प्रजातन्त्रका लागि आँधी चलाउनुपर्छ भनेर समूहमा दबाब सिर्जना गर्नुहुन्थ्यो । 

जनआन्दोलन सुरु हुँदै गर्दा २०४६ माघ महिनामा पुरुषोत्तम बस्नेतलगायत केहीलाई राजसंस्थाले पहिलो निशाना बनायो । उहाँलाई अपहरण शैलीमा सिन्धुपाल्चोकको चौतारा जेल पुर्‍याएपछि आन्दोलन थप सशक्त बन्यो र २०४६ साल चैतमा प्रजातन्त्र पुनःस्थापना गर्नुभन्दा दुई दिन अगाडि मात्र उहाँ जेल मुक्त हुनुभयो । 

२०४६ सालको राजनीतिक परिवर्तनपछि शक्तिमा आएको कांग्रेसको निर्णायक भूमिकामा रहेको समूहमा बौद्धिक नेताको छवि बनाएका बस्नेत २०४८ देखि २०५१ सालसम्म गोरखापत्र संस्थानको अध्यक्ष बन्नुभयो । त्यसबेलासम्म गोरखापत्र दरबारको मुखपत्र जस्तो रहेकोमा आफूले दरबारको दबाब झेल्दै विभिन्न ठाउँमा संवाददाता राख्ने, समाचारको क्षेत्र बढाउने र राजनीतिक चेतना अभिवृद्धिका लेख समेट्ने पहल गरेको बस्नेत बताउनुहुन्छ ।

२०४८ साल र त्यसपछि कांग्रेसले मन्त्रीमण्डल विस्तार गर्दा वा राजदूतहरु तोक्दा अन्तिम नामावली तयार गर्ने समूहमा बस्नेत सधैँजसो रहनुहुन्थ्यो । समूहमा तपाईँकहाँ जाने भन्ने प्रश्न धेरैपटक आएको सम्झदै बस्नेत भन्नुहुन्छ, ‘मभन्दा बढी खटेकाले पहिले मौका पाउनुपर्छ भन्दै टार्थेँ ।’

पहिलो संविधान सभामा सभासद रहेका बस्नेत गणतन्त्र, शक्तिको विकेन्द्रिकरण, धर्म निरपेक्षता, समावेशीकरणजस्ता विषय देशको ठूलो उपलब्धि भएको बताउनुहुन्छ । गिरिजाप्रसाद कोइरालाको नेतृत्व नभएको भए अहिलेको परिवर्तन सम्भव नभएको बताउने बस्नेत अहिले धर्मको कुरा उठाएर कांग्रेसलाई कमजोर बनाउने खेल सुरु भएको बताउनुहुन्छ ।  

बीपी, गिरिजालगायतले पहिले नै राज्यको निश्चित धर्म हुनुहुँदैन भनेर स्पष्ट गरिसकेको सन्दर्भमा अहिले पार्टीमा धर्मको विषयले प्रवेश पाउनै नहुने भन्दै बस्नेत भन्नुहुन्छ, ‘यो कुरालाई पार्टी सभापतिले बाहिरै रोक्न सक्नुपथ्र्यो, तर नेतृत्वको कमजोरी भयो ।’

अरुण–३ जलविद्युत परियोजनाका कारण अधोगति सुरु भएको कांग्रेस सिध्याउने खेल अहिले धर्ममा भैरहेको जस्तो देखिएको बस्नेतको भनाई छ । २०५१ सालमा अरुण–३ परियोजनाको योजना अघि सर्दै गर्दा त्यो परियोजना भारतको इच्छाविपरीत भएको कारण उसले कांग्रेसमा छत्तिसे समूह जन्माएर कांग्रेसलाई जीर्ण बनाएको सम्झदै भन्नुहुन्छ, ‘अरुण–३ मा भारतका पक्षबाट बोल्नेहरु र त्यही बेला घुसेका पूर्व पञ्चले पार्टीलाई धुल्याउन थाले । अहिले छिमेकीको नेतृत्वमा हिन्दू धर्मको वकालत गर्नेहरु छन्, त्यसैको असर यता परेको हुनसक्छ ।’

नेतृत्वले सबैलाई समेटेर यी समस्या समाधानको पहल गरेमा कांग्रेस सशक्त  बन्छ र अर्को चुनावमा राम्रो नतिजा आउँछ, इच्छा शक्ति नेतृत्वमा चाहिएको छ ।

सन् १९९० को दशकको सुरुमा बनाइने भनिएको अरुण–३ नेपाली ऊर्जा विकासमा अझै पनि रहस्यमय छ । जसबारेमा जान्नेहरु बोल्दैनन् र बोल्नेहरु अड्कलबाजी गरिरहेका छन् । त्यसबेला अरुण–३ माथि प्रश्न उठाउने धेरैलाई अहिले पनि विकासविरोधी भन्ने गरिन्छ । अरुण–३ रद्द गर्न अन्तिम राजनीतिक कदम चाल्ने त्यसबेलाका उपप्रधानमन्त्री माधवकुमार नेपाल पनि त्यो कामप्रति आफै सन्तुष्ट नभएको भन्दै हिमाल खबर पत्रिकाले तीन वर्षअघि एउटा लेख लेखेको थियो । 

अरुण –३ को चर्चा सुरु हुँदै गर्दा देशको राजनीतिक शक्तिको केन्द्रमै पहुँच भएका बस्नेत त्यही अरुण–३ भारतको इच्छाभन्दा बाहिरको भएको कारण त्यो रोक्न कांग्रेसमाथि नै प्रहार भएको बताउनुहुन्छ । अरुण–३ सफल भएको भए त्यसपछि अरु थुप्रै योजनासँगै आउने थिए भन्ने उहाँलाई विश्वास छ । 

नागरिकको जीवनस्तर सुधारको लागि शक्तिको विकेन्द्रिकरण जरुरी भएको बताउने बस्नेत अहिलेको संघीय संरचनाप्रति भने सन्तुष्ट हुनुुहुन्न । विपक्षीले १३-१४ वटा प्रदेशको खाका सार्वजनिक गर्दै दबाब दिइरहेका बेला आफूले पार्टीभित्र देशको अवस्थाले धान्ने थोरै प्रदेशको पक्षमा दबाब सिर्जना गरेको सम्झदै बस्नेत भन्नुहुन्छ, ‘अहिले पनि नेपालको हैसियतले धान्ने भन्दा बढी खर्चिलो छ र अझ मुख्य कुरा त हामीलाई प्रकृतिले दिएको हिमाल पहाड तराईलाई आपसमा छुट्याइदिएको छ, सबै किसिमको भूगोल पर्ने गरी थोरै प्रदेश बनाउनुपथ्र्यो र भूगोल र जनसंख्या दुवैलाई बराबर आधार मानेर प्रतिनिधित्व सुनिश्चित हुनुपर्थ्यो।’

राजनीतिशास्त्रमा स्नोत्तकोत्तर र कानुनमा स्नातक गरेका बस्नेत साहित्यमा पनि उत्तिकै रुची राख्नुहुन्छ । बीपीसँगको संगतले आफूलाई अझ बढी लेख्न प्रोत्साहन मिलेको बताउने बस्नेत राजाको विरुद्धमा अभियान चलाउने अम्लेख साहित्यिक समूहमा समेत सक्रिय रहनुभयो । सिउँडी, कल्पना, मुकुटजस्ता पत्रिकामा लेखरचना प्रकाशन गरेका बस्नेतले नेपाली कांग्रेसको इतिहास भाग १, २०६६ र भाग २, २०७२ प्रकाशन गर्नुभएको छ । कांग्रेसको इतिहास समेटिएको आधिकारिक दस्ताबेजको लेखक रहेका बस्नेत अहिले कांग्रेस अल्मलिएको देख्नुहुन्छ । 

सिर्जनशील प्रतिपक्षको भूमिका निभाउन नसक्नु, भातृसंगठनहरु सक्रिय नबनाइनु, जिल्लादेखि केन्द्रसम्म रहेको विवादको खास कारण खोजेर समाधान गर्नुको सट्टा बेवास्ता गर्नु, पार्टीमा लामो समयदेखि सक्रियलाई भूमिकाविहीन बनाइनु, गुटहरुलाई सम्हाल्नुको सट्टा बढोत्तरी गर्नु लगायतका कारण यसबेला कांग्रेस कमजोर भएको भन्दै बस्नेत थप्नुहुन्छ, ‘नेतृत्वले सबैलाई समेटेर यी समस्या समाधानको पहल गरेमा कांग्रेस सशक्त  बन्छ र अर्को चुनावमा राम्रो नतिजा आउँछ, इच्छा शक्ति नेतृत्वमा चाहिएको छ’ ।

अविवाहित बस्नेत भन्नुहुन्छ, ‘विवाह गर्ने बेलामा भूमिगत, अर्धभूमिगत, जेललगायतको जीवन बिताएकोले विवाह गर्नेबारेमा सोचिएन’, नेपालमा राजनीतिक उपलब्धि हुँदा निकै खुशी हुने गरेको बताउने बस्नेत २०४६ सालको परिवर्तनपछि विकेन्द्रिकरणको अवधारणा अनुसार काम सुरु भएको भए पनि स्थापित हुन नपाउँदै सशस्त्र द्वन्द्व सुरु भएकोले सोचेको उपलब्धि नभएको बताउनुहुन्छ । 

अहिले नागरिकको चाहना अनुसार राज्य व्यवस्था आएकोले यसलाई स्थापित गर्न सशक्त  नेतृत्व आवश्यक रहेको भन्दै बस्नेत भन्नुहुन्छ, ‘सरकार अहिलेकै तरिकाबाट चल्यो भने दुर्घटनाको खतरा हुन्छ, दल र समूहभन्दा नागरिक हितलाई मनमा राखेर काम हुनु जरुरी छ ।’
 

अन्तिम अपडेट: फागुन १५, २०७५

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया