डेरीले लिन छाडेपछि किसान दूध फाल्न बाध्य

 असार ४, २०७५ सोमबार ९:०:२९ | नवराज फुयाँल

काठमाडौं – ऋण काढेर गाई फर्म सञ्चालन गर्दै आएका झापा शरणामतीका मोहन भट्टराई अहिले आफूले उत्पादन गरेको दूध फाल्न बाध्य हुनुभएको छ ।

स्थानीय स्तरमा रहेको दूध संकलन गर्ने सहकारीले किसानको दूध नलिएपछि बाध्य भएर सडकमा फाल्नुपरेको भट्टराईले बताउनुभयो । किसानले उत्पादन गरेको दूध नेपाल बहुउद्देश्यीय सहकारी लिमिटेड, मेचीनगरबाट सञ्चालित एमएनसी डेरीले लिने गरेको थियो ।

डेरीले अहिले हप्तामा २ दिन दूध लिने र ५ दिन नलिने गर्दा फाल्नुको विकल्प नरहेको उहाँले सुनाउनुभयो । ‘मैले ऋण लिएर गाईपालन सुरु गरेको हुँ’, उहाँले भन्नुभयो, ‘तर अहिले दैनिक ४० लिटर भन्दा बढी दूध फाल्नुपर्दा ऋणमा डुब्नुपर्ने अवस्था छ ।’

भट्टराई मात्रै होइन अहिले देशैभरका किसानको अवस्था यस्तै छ । बिक्री घटेको भन्दै दूध प्रशोधन उद्योगहरुले किसानले उत्पादन गरेको दूध उठाउन कटौती गरेपछि यस्तो अवस्था आएको हो । प्रशोधित दूधमा सोडालगायत अखाद्य वस्तु मिसाएको तथ्य सार्वजनिक भएपछि बिक्री घटेकाले किसानले उत्पादन गरेको दूध उठाउन उद्योगले कटौती गरेको दुग्ध सहकारी संघका केन्द्रीय अध्यक्ष नारायणप्रसाद देवकोटाले बताउनुभयो ।

अहिले उद्योगहरुले किसानबाट दूध संकलन गर्ने सहकारीहरुलाई पत्र लेख्दै दूध उठाउन कटौती गरेको उहाँको भनाइ छ । किसानले दैनिक ७÷८ लाख लिटर दूध सहकारीमा जम्मा गर्दै आएका थिए । किसानबाट संकलित दूध सहकारीले प्रसोधन उद्योगसम्म पठाउने गरेका छन् ।

प्रशोधित दूधको बिक्री घट्दा किसानले उत्पादन गरेको दूध उठाउन नसकेको डेरी उद्योगीहरुले बताएका छन् । अहिले धेरैजसो डेरी उद्योगबाट प्रशोधन भएर बजार पुगेका दूधको बिक्रि घटेको छ । सरकारी स्वामित्वको डीडीसीबाट प्रशोधित दूधको बिक्रि पनि घटेको उद्योगीहरुको भनाई छ ।

दैनिक १ लाख लिटरभन्दा बढी बिक्रि गर्दै आएको डीडीसीको प्रशोधित दूध पनि झण्डै ४ हजार लिटरले बिक्रिमा कमी आएको हो । अन्य उद्योगको प्रशोधित दूधको बिक्रि डीडीसीको भन्दा अझ धेरैले कमी आएको छ ।  

मर्कामा किसान 

दूध प्रशोधन उद्योग (डेरी)ले किसानले उत्पादन गरेको दूध लिन कटौती गरेपछि किसान भने मर्कामा परेका छन् । दैनिक रुपमा किसानले सहकारीमा संकलन गर्दै आएको दूध उद्योगले भने बमोजिम कटौती गर्नु पर्दा किसानलाई मर्का परेको दुग्ध सहकारी संघका केन्द्रीय अध्यक्ष देवकोटाले बताउनुभयो । 

अहिले उद्योगहरुले पत्र काटेरै दूध संकलन कटौती गर्न आग्रह गरेकाले किसानलाई मर्का परेको उहाँले बताउनुभयो । ‘किसानले उत्पादन गरेको सबै दूध स्थानीय बजारमा खपत हुन सक्दैन’ उहाँले भन्नुभयो, ‘उद्योगले पनि कटौति गर्दा फाल्नुको विकल्प छैन ।’

तर सरकारी स्वामित्वको डीडीसीले भने किसानले उत्पादन गरेको दूध लिन आफूहरु तयार रहेको बताएको छ । अहिले दूध उत्पादन कम हुने समय हो । ‘उद्योगलाई किसानले उत्पादन गरेको दूधको आवश्यकता छ’, उद्योगका प्रवन्धक ईश्वरी न्यौपानेले भन्नुभयो, ‘किसानले उत्पादन गरेको शुद्ध दूध लिन उद्योग तयार छ ।’

दैनिक करोडौंको कारोबार

काठमाडौं उपत्यकाभित्र मात्रै ३० वटा दुग्ध प्रशोधन उद्योग छन् । यी उद्योगबाट उत्पादन हुने प्रशोधित दूध(पाउच) दैनिक झण्डै साढे पाँच लाख लिटर उपभोक्ताले खपत गर्ने गरेका छन् । अहिले त्यो खपतको दर घटेको उद्योगीहरु बताउँछन् ।  

यो अनुपातमा किसानले हरेक दिन काठमाडौं शहरबाट मात्रै कम्तीमा २ करोड ९७ लाख रुपैयाँ गाउँ लैजान्छन् । किसानले उत्पादन गरेको दूध देशैभर रहेका १८ सय ५२ सहकारीले संकलन गर्ने गर्छन । काठमाडौंसहित देशैभरका बजारबाट भने दैनिक ४ करोड रुपैयाँ गाउँ पुग्छ । शहरबाट सर्वाधिक मुद्रा गाउँ पुर्याउने यो नै मुख्य कृषि उत्पादन हो । 

गुणस्तर खस्केको, स्वास्थ्यलाई हानी पुर्याउने अखाद्य बस्तु मिसावट भएको जस्ता कुराले प्रशोधित दूध बिक्रिमा कमी आउँदा यसको प्रत्यक्ष मारमा किसान परेका छन् ।   

कारबाहीबाट बच्न आरोपप्रत्यारोप

दूध तथा दुधजन्य वस्तुमा व्यापक मिसावट भएको भन्नेबारे गुनासो आएपछि गएको सोमबार कृषिमन्त्री चक्रपाणि खनाल आफै काठमाडौंको बालाजुमा रहेको दूध प्रशोधन (डेरी) उद्योगहरुमा छापा मार्न पुग्नुभएको थियो ।

छापामारीका क्रममा २५ ब्राण्डका दूधका पाउचको ४२ वटा नमूना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रीय प्रयोगशालामा जाँच्नका लागि पठाइएको थियो । तीमध्ये ४० वटामा स्वास्थ्यलाई हानी पुर्याउने वासिङ सोडा र साबुन बनाउन प्रयोग गरिने रसायन भेटियो । दूधमा यस्ता अखाद्य पदार्थ भेटिएपछि अहिले उद्योगी र संकलकको रुपमा रहेको सहकारी संस्थाबीच एकले अर्कालाई दोषारोपण गर्न लागेका छन् ।  

गर्मीयाममा दूध फाट्नबाट जोगाउन दूध संकलन गर्ने सहकारीका व्यवस्थापक र ठेकेदारले यस्ता हानीकारक बस्तु मिसाउने गरेको उद्योगीले आरोप लगाउने गरेको छ भने सहकारी संस्थाहरुले भने आफूहरुले किसानबाट लिने बेलैमा आवश्यक परीक्षण गरेर दूध लिने गरेकाले आफूहरुबाट कुनै खराबी नभएको बताउँदै आएका छन् ।

नेपाल डेरी एसोसिएसनका महासचिव प्रहृलाद दाहालले डेरी उद्योगले नभई किसान र सम्बन्धित दुग्ध सहकारीले नै मिसावट गर्ने गरेको आरोप लगाउनुभयो । ‘डेरी उद्योगको पनि कमजोरी हुनसक्छ, तर धेरैजसो किसान र संकलन गर्ने सहकारीले नै दूधमा सोडा मिसाउने गर्दा यस्तो समस्या आएको हो’, उहाँले भन्नुभयो । 

तर दुग्ध सहकारी संघका केन्द्रीय अध्यक्ष देवकोटाले उद्योगहरु अरुमाथि आरोप लगाएर पन्छिन नहुने बताउनुभयो । ‘उद्योगहरुले दूध लिने बेलैमा गुणस्तर परीक्षण गरेर लिन्छन्, राम्रो छैन भने फिर्ता गर्ने गरेका उद्योगले अहिले कारबाहीबाट बच्न अरुमाथि आरोप थोपर्न खोजेका हुन्’, उहाँले भन्नुभयो । किसानले कुनै मिसावट नै नगर्ने उहाँले दाबी गर्नुभयो ।  

किसानको गोठदेखि उपभोक्ताको ओठसम्म शुद्ध र मिसावटरहित दूध पुर्याउन आफूहरु प्रतिवद्ध रहेकाले किसान र सहकारीहरुले कुनै मिसावट नगरेको उहाँको दाबी छ  ।  

अन्तिम अपडेट: बैशाख ११, २०८१

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया