मोदीलाई टक्कर दिन दुई विपक्षी पार्टीकाे गठबन्धन

 पुस २८, २०७५ शनिबार १७:२६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

आउँदो लोकसभा चुनावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा उनको पार्टी भारतीय जनता पार्टी(बीजेपी)लाई टक्कर दिन समाजवादी पार्टी(सपा) र बहुजन समाज पार्टी(बसपा)बीच चुनावी एकता भएको छ ।

केही महिनापछि हुन लागेको चुनावमा मोदीलाई हराउन शनिबार अखिलेशकुमार यादव नेतृत्वको समाजवादी पार्टी र मायावती नेतृत्वको बहुजन समाज पार्टीले चुनावी एकता गरेको घोषणा गरेका हुन् । उत्तर प्रदेशमा रहेको लोकसभाको ८० सिटमध्ये दुवै पार्टीले ३८–३८ सिट बाँडफाँड गरेका छन् । 

उनीहरुले रायबरेली र अमेठी कांग्रेसलाई दिने र दुई सिट अन्य सहयोगी पार्टीलाई दिने घोषणा गरेका हुन् । उत्तर प्रदेशमा केही महिनाअघि भएको लोकसभा चुनावमा पनि सपा र बसपाबीच चुनावी एकता भएको थियो । दुई पार्टी मिलेर चुनावमा गएपछि बीजेपीले आफ्ना महत्वपूर्ण सिट गुमाएको थियो । उत्तर प्रदेशका मुख्यमन्त्री र बीजेपीकै प्रभावशाली नेता योगी आदित्यनाथको क्षेत्रसमेत बीजेपीले गुमाएको थियो । 

पछिल्लो चुनावी तालमेलले बीजेपीलाई निकै नै कठिन परिस्थितिमा धकेलिएदिएको छ । पछिल्लो लोकसभा चुनावमा सपा र बसपा धेरै क्षेत्रमा दोस्रो र तेस्रो ठूलो दलका रुपमा भएकाले पनि आउँदो चुनाव बीजेपीका लागि फलामको चिउरा चपाउनुजस्तै हुनेछ । अझ बसपा र सपा सँगै चुनावमा जाँदा प्रधानमन्त्री नरेन्द्र मोदी बनारसबाट उठ्छन् कि उठ्दैनन् भन्नेमै शंका रहेको छ  । 

उत्तर प्रदेशमा केही सिटबाहेक कांग्रेसको उपस्थिति भने बलियो रहेको छैन । त्यसकारण आउँदो चुनाव बीजेपी भर्सेस सपा–बसपा गठबन्धनबीच हुने पक्का भएको छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया