आबुधाबीमा अलपत्र साढे ७ सय कामदारको उद्दार प्रक्रिया सुरु

 पुस २९, २०७५ आइतबार ८:४५:४५ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – यूएईको आबुधाबीमा अलपत्र १ सय ५० जना नेपाली कामदारको उद्दार प्रकृयामा यहाँको सरकारले चासो देखाएको छ । अल वासिता एमिरेट्स क्याटरिङ्ग कम्पनीको मुसाफा ४० नम्बरमा अलपत्र १ सय ५० नेपालीसहित ७ सयभन्दा धेरै कामदारको विषयमा यूएईको श्रम तथा स्थानीय प्रशाशनले चासो देखाएको हो । 

कम्पनी संचालक जोर्डन नागरिकले यूएई छोडिसकेको र कम्पनी नामसारी प्रकृयामा रहेका बेला अलपत्र परेका कामदारलाई अहिले आबुधाबीको स्थानीय प्रशाशनको समन्वयमा यहाँको श्रम मन्त्रालयले खानाको व्यवस्था गरेको छ । 

कम्पनीको क्याम्पमा पानी र बिजुलीसमेत काटिएको र खानाको समेत समस्या भएपछि स्थानीय प्रशासनले चासो देखाएर पानी र बिजुलीको व्यवस्थासहित खाना उपलब्ध गराएको कञ्चनपुरका गणेश महराले बताउनुभयो । 

नेपालीसहित भारत, पाकिस्तान, बङ्लादेश , श्रीलंका, फिलिपिन्स लगायतका कामदार अलपत्र परेपछि यहाँ रहेका सम्बन्धित देशका दूतावासले यहाँको श्रम तथा परराष्ट्रमा पत्राचार गरेका थिए । 

चौबीसै घण्टा क्याम्पको निगरानी स्थानीय प्रशाशनले गरेको र कुनै पनि समस्या भए तत्काल सम्पर्क गर्न भनेको पीडित कामदारहरुको भनाइ छ ।

क्याम्पमा अलपत्र कामदारले पाउनु पर्ने सेवा सुविधाबारे लिखित सूची स्थानीय प्रशासनले बनाएको पीडितहरुले बताएका छन । त्यही सूचीअनुसार कम्पनीको व्यवस्थापन पक्षसँग आइतबार छलफल गरेर उद्दार प्रकृया सुरु गरिने कम्पनीले जनाएको छ । 

कामदार उद्दारका लागि म्यानपावर सञ्चालक समेत यूएईमा 

नेपालबाट सोही कम्पनीमा कामदार सप्लाई गर्दै आएको सन हिल्स म्यानपावरका सञ्चालक सूर्य अधिकारी यूएई आउनु भएको छ । कामदारले महिनौदेखि तलव सेवा नपाएको र अलपत्र परेको जानकारी पाएर आफू यहाँ आएको अधिकारीको भनाइ छ । 

‘नेपाली दुतावास, कामदार र कम्पनीसँग समन्वय गरेर समस्या समाधान गर्नेछु’ अधिकारीले भन्नुभयो ‘अलपत्रमध्ये झण्डै ६४ जनाले पहिलो करार सम्झौता समेत पूरा गर्न नपाएकोले समस्या झन जटिल भएको छ।’

कामदार अलपत्र भएपछि सम्बन्धित म्यानपावरको कामकाज रोक्का गरिदिन भन्दै दूतावासले सरकारलाई पत्राचर गरेको थियो । 

आफूले झण्डै ८ वर्षको समयमा सोही कम्पनीमा झन्डै ९ सयभन्दा धेरै कामदार पठाएको र पहिलो पटक यस्तो समस्या आएको अधिकारीले बताउनुभयो । यूएईले समेत चासो देखाएको विषयमा म्यानपावर सञ्चालक समेतले चासो देखाउनु सकारात्मक भएको यूएईका लागि कार्यबाहक राजदूत सागरप्रसाद फुयाँलको भनाइ छ ।

याे पनि पढ्नुहाेस् । 
आबुधाबीमा १ सय ५० जना नेपाली अलपत्र

 

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया