डिएगो जाटाको ह्याट्रिकमा लेस्टर सिटीमाथि उल्भर ह्याम्पटनकाे जित

 माघ ६, २०७५ आइतबार ८:१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा डिएगो जाटाले ह्याट्रिक गरेपछि नाटकीय खेलमा लेस्टर सिटीमाथि उल्भर ह्याम्पटनले ४–३ गोल अन्तरको जित निकालेको छ ।

सुरुदेखिनै दुवै टिमले आक्रामक फुटबल खेलेका थिए । चौथो मिनेटमै डिएगो  जाटाले गोल गर्दै उल्भरह्याम्पटनलाई अग्रता दिलाएका थिए । रियान बेनेटले १२ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

पहिलो हाफमा २–० ले अग्रता बनाएको उल्भरह्याम्पटन दोस्रो हाफको सुरुआतमा भने दबाबमा आएको थियो । ४७ औं मिनेटमा डिमेरेज ग्रेले गोल गर्दै लेस्टरलाई २–१ मा ल्याएका थिए । त्यसको चार मिनेट पछि उल्भरका कोनर कोडीले आत्मघाति गोल गरेपछि लेस्टरले खेल २–२ को बराबरीमा ल्याएको थियो । 

उल्भरका जाटाले ६४ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा लेस्टरका वेस मोर्गनाले गोल गर्दै खेल तीन–तीन गोलको बराबरीमा ल्याएका थिए । 

अन्तिम ८ मिनेट सम्हाल्न नसक्दा लेस्टर पराजित हुन पुग्यो । दोस्रो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा जाटाले ह्याट्रिक गरेपछि लेस्टर पराजित हुन पुगेको हो । 

जितसँगै ३२ अंक पुर्‍याएको उल्भर नवौं स्थानमा पुगेको छ भने पराजित भएको लेस्टर ३१ अंक सहित ११ औं स्थानमा रहेको छ ।


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया