आइतबारदेखि कर्णाली प्रदेशबाट श्रम स्वीकृति

 माघ ६, २०७५ आइतबार ८:४६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आइतबारदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारीसँग सम्बन्धित अरु सेवा सुरु हुने भएको छ ।

कर्णाली प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट पुनः श्रम स्वीकृतिको सेवा सुरु गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार श्रम स्वीकृतिका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भइसकेको छ ।

वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले आइतबारदेखि कर्णाली प्रदेशबाट पनि सेवा सुरु गर्न लागेको हो । मन्त्रालयले पहिलो चरणमा गएको पुस १५ गतेदेखि प्रदेश नं २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश नं ५ को बुटवलबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराएको थियो । 

यस्तै सरकारले पुस २५ गतेदेखि गण्डकी प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट पनि श्रम स्वीकृतिलगायतका सेवा भएको छ । अब बाँकी प्रदेशका श्रम तथा रोजगार कार्यालयमा पनि वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रवाह गर्ने गरी आवश्यक व्यवस्था अन्तिम चरणमा पुर्‍याइएको र छिट्टै ती कार्यालयबाट सेवा प्रवाह गरिने तयारी भैरहेको मन्त्रालयले जनाएको छ ।

श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनःश्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिनेछ । 

सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायत कार्य ती कार्यालयबाटै सम्पादन हुने मन्त्रालयले जनाएको छ । 

प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिकै लागि काठमाण्डौ धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । 
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया