लोकप्रिय वाल्मीकि आश्रम उपेक्षित बन्दै (तस्विरसहित)

 माघ ७, २०७५ सोमबार १६:८:२२ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - नेपालको धार्मिक तथा ऐतिहासिक स्थल चितवनको वाल्मीकि आश्रम संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । रामायणका रचनाकार वाल्मीकिको साधनाभूमी वाल्मीकि आश्रम लोकप्रिय भएर पनि यसमा सरकारको ध्यान गएको देखिँदैन ।  

पूर्व–पश्चिम राजमार्गको बर्दघाटबाट करिब ३० किलोमिटर दक्षिण नवलपरासीको त्रिवेणी हुँदै भारतको वाल्मीकिनगर पुगेपछि आश्रम पुगिन्छ । नेपाल र भारतका हजारौ पर्यटक आश्रममा आउने गरेका छन् । 

नेपाल र भारतको सिमानामा पर्ने यो आश्रममा नेपालीभन्दा भारतीय धार्मिक पर्यटकहरु बढी आउने गरेका छन् । 

यही स्थानमा यज्ञ गरेका वाल्मीकिले रामायणलगायत काव्य रचना गरेको भनाइ छ । संसारमा विरलै देखिने हनुमानले एउटा घुँडा टेकेको मूर्ति सीताकाे मन्दिरबाहिर प्रतिष्थापित छ ।

सीताको पाताल प्रवेशस्थल, अमूल्य गौरीशंकर शंख, हवनद्धार स्मारक, लवकुशको जन्मस्थल, सीताको सिलौटो, लवकुशले घोडा बाँधेको खम्बा, अठासी हजार ऋषिहरुले हवन गरेको कुण्ड, सीताले फल खाने स्थान, लवकुशको शिक्षा प्राप्तिस्थल, पानी पिउने गरेको पुरानो इनार र अन्य पुरातात्विक धार्मिक स्थल अवशेषका रूपमा रहेका छन् ।

यस आश्रमको उचित संरक्षण हुन नसक्दा धार्मिक पर्यटकका लागि लोकप्रिय क्षेत्र ओझेलमा पर्दै गएको जनगुनासो छ । 

आश्रमसम्म पुग्न व्यवस्थित सडक नहुँदा यहाँ आवत-जावतमा समस्या हुने गरेको छ । यस्तै प्रचार–प्रसारको अभावका कारण पनि अझै मानिसहरुले यसको बारेमा थाहा पाएका छैनन् । 

भएका पुराना संरचनाको संरक्षण, खानेपानी, विद्युत, शाैचालय र आवत-जावतका लागि सहज हुने हो भने वाल्मीकि आश्रम नेपालको महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र बन्ने स्थानीय सरोकारवाला बताउँछन् । 

नेपाल र भारत दुवै देशका पुरातत्वविद्को संयुक्त टोलीले सन् १९६५ मा निर्क्याैल गरेको वाल्मीकि आश्रम माडी नगरपालिका वडा नम्बर-१ मा पर्दछ । 

तत्कालीन राजा महेन्द्रले २०२२ सालमा यस आश्रमप्रति चासो बढाएका कारण त्यतिबेला जे संरचना बने अहिले त्यो भन्दा सुधार हुन सकेको छैन । 

मन्दिरका पुजारी स्वामी शेखर सुवेदीजी महाराजले नेपालीभन्दा भारतीय पर्यटक धेरै आउने गरेको बताउँदै यो धार्मिक स्थलको संरक्षणमा राज्यले ध्यान नदिएको दुःख व्यक्त गर्नुभयो । 

पछिल्लो समय नेपाली धार्मिक पर्यटकहरु पनि आउने गरेको बताउँदै नेपालकै भूमिबाट आश्रममा आउनका लागि बन्न लागेको त्रिवेणीको पुल छिटो बन्नुपर्ने उहाँले बताउनुभयो । 


 

अन्तिम अपडेट: चैत १२, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया