अत्तरियामा शनिबार भएकाे युवक हत्याकाे आराेपमा चारजना पक्राउ

 माघ ७, २०७५ सोमबार १६:२४:३४ | निर्मला खडायत
unn.prixa.net

कैलाली – जिल्ला प्रहरी कार्यालय कैलालीले अत्तरियामा जारी महोत्सवमा एक युवकको हत्या गरेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।

माघ ५ गते गोदावरी–१ का अरुण भट्टलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा गोदावरी–२, शिवशक्ति टोलका बिनोद ऐरसहित तीनजनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो । 

हत्या गरी मोटरसाइकलमा भाग्न बिनोदलाई सहयोग गरेको अभियोगमा धनगढी–३, बोराडाँडीका डेविड ऐर, बिनोदलाई डेराकोठामा लुकाएको अभियोगमा भजनी–२ घर भएर धनगढी–२ उत्तरबेहडी डेरामा बस्ने मञ्जु चौधरी खड्का र धनगढी–१३ शिवटोल बस्ने लोकेश खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभुषण तिमिल्सिनाले बताउनुभयो । 

उहाँले घटनामा संलग्न थप अभियुक्तको खोजी गरिरहेको जानकारी पनि दिनुभयो ।

हत्या गरी भाग्न प्रयोग गरिएको से ४ प ५९२८ नम्बरको मोटरसाइकल बरामद गरिएको र हत्यामा प्रयोग गरिएको खुकुरी खोजी भैरहेको प्रहरीले जनाएको छ ।
मृतक भट्ट र उहाँका साथीहरु हरि राई र राजेश नेपाली लगायतसँग बिनोदको समूहको पुरानो रिस इबीका कारण हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

घटनामा घाइते भएका राई र नेपाली उपचारपछि घर फर्किएका छन् ।

अन्तिम अपडेट: चैत १, २०८०

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया