मकलमा ताप्दै गरेकाे आगाे सल्किँदा तेह्रथुमको बसन्तपुरमा डेढ करोड बढीको क्षति, तीन घर नष्ट

 माघ १०, २०७५ बिहिबार २०:५०:१९ | प्रकाश धौलाकोटी

तेह्रथुम – तेह्रथुमको लालीगुराँस नगरपालिकाको केन्द्र बसन्तपुर बजारमा बिहीबार आगलागी हुँदा डेढ करोड रुपैयाँ बढीको क्षति भएको छ ।
आगो निभाउने क्रममा एक व्यक्ति घाइते भएका छन् ।

लालीगुराँस नगरपालिका–२ को मध्यबजारमा भएको आगलागीबाट लालबहादुर याख्खाको ढुंगामाटोको गाह्रो र जस्ताको छानो भएको दुईतले घर पूर्ण रुपमा नष्ट भएको छ । 

आगो नियन्त्रणका क्रममा छिमेकी रेनुका गुरुङ र फुलमाया गुरुङको घरमासमेत क्षति पुगेको छ भने स्थानीय ५० वर्षीय गोपाल गुरुङ घाइते हुनुभएको छ । उहाँको स्थानीय बसन्तपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको नगरप्रमुख अर्जुन माबोहाङले बताउनुभयो । 

साँझ करिब पौने पाँच बजे मकलमा आगो तापेर बसेका व्यापारी छेतेन शाहको पसलबाट आगो निस्किएको थियो । 

पेट्रोल र ग्याँसको समेत व्यापार गर्ने शाहको पसलमा मकलको आगो भूइँमा पर्दा आगो सल्किएको र आगलागी भएको प्रहरीले जनाएको छ । 

नगरपालिकाको केन्द्रमै भए पनि समयमा दमकल नआएपछि स्थानीयवासीले सडकमा रहेको खानेपानीको पाइप फुटाएर आगो नियन्त्रणमा सक्रियता देखाएका कारण ठूलो क्षति  जोगियो । 

पछि दमकल र स्थानीयवासी तथा प्रहरीको सक्रियतामा करिब छ बजे आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बसन्तपुरले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया