विश्वकप फुटबल: अायाेजक रुसकाे लागातार दाेस्राे जित

 असार ६, २०७५ बुधबार ६:४३:३७ | उज्यालो सहकर्मी

इजिप्टलाई ३–१ ले हराएपछि आयोजक राष्ट्र रुस फिफा विश्वकपको नकआउट चरण नजिक पुगेको छ । 

मंगलबार राति भएकाे दाेस्रो खेलमा इजिप्टमाथि जित हात पारेपछि रुसले समूहमा ६ अंक बनाएको छ ।

पहिलो खेलमा उरुग्वेसँग पराजित भएको इजिप्ट भने घर फर्किने सम्भावना बढेको छ । आज हुने खेलमा साउदी अरेबियाले उरुग्वेविरुद्धको खेलमा जित निकाल्न नसकेको खण्डमा इजिप्ट बाहिरिने छ भने रुस प्रिक्वार्टर फाइनलमा पुग्नेछ ।

सेन्ट पिटर्सबर्गमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । ४७औं मिनेटमा अहमद फातिले आफ्नै पोस्टमा गोल गरेपछि रुसले अग्रता लियो ।

रोमन जोब्निनको प्रहार बचाउने क्रममा इजिप्टका फातीले आत्मघाती गोल गरेका थिए ।

५९औं मिनेटमा डेनिस चेरिसेभले गोल गर्दै रुसलाई २–० को अग्रता दिलाए । उनले मारियो फर्नाण्डेजको पासमा गोल गरेका थिए । यो गोलसँगै चेरिसेभले दुई खेलमा तीन गोल पुर्याएका छन् ।

तीन मिनेटपछि आर्टेम ज्युबाले उत्कृष्ट व्यक्तिगत गोल गर्दै रुसको अग्रता ३–० मा लम्ब्याए ।

७३औं मिनेटमा इजिप्टले पेनाल्टी पायो । इन्ज्युरीका कारण पहिलो खेल नखेलेका सलाहलाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टीलाई सलाहले नै गोलमा परिणत गरे ।

तर त्यो गोल हार टार्नका लागि पर्याप्त भएन ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया