कडा सुरक्षाबीच अवैध संरचना भत्काइयाे

 माघ १५, २०७५ मंगलबार १९:५३:३३ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगर क्षेत्रमा अवैध रुपमा बनेका संरचना भत्काउन सुरु गरिएको छ ।

महेन्द्रनगर नगर विकास समितिको जग्गा अतिक्रमण गरी बनेका अवैध संरचना भिमदत्त नगरपालिका र संघीय आयोजना कार्यान्वयन इकाइले मंगलबार भत्काएको छ । प्रमुख राजनीतिक दलका भातृ संगठनको दबाबपछि स्थानीय प्रशासनले कडा सुरक्षाकाबीच अवैध संरचना भत्काएको हो ।

नगर विकास विघटनपछि संघीय आयोजना कार्यान्वयन इकाईले काम गर्ने जिम्मा पाएकाले सम्बन्धित कार्यालय र भिमदत्त नगरपालिकासँग अवैध संरचना भत्काउन माग गरेको जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी शंकर विष्टले बताउनुभयो । 

तत्कालिन महेन्द्रनगर नगर विकास समितिको जमिन लिज प्रकरणविरुद्ध मंगलबार कञ्चनपुरमा आम हड्ताल गरिएको थियो । यसअघि, अवैध रुपमा बनेका संरचना हटाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गएको पुस ९ गते आदेश जारी गरेको थियो । 

यसैगरी, संघीय आयोजना कार्यान्वयन इकाईले अवैधानिक तरिकाले बनेका भवन भत्काउन सूचना जारी गरिसको छ । तर, पटक पटक सूचना जारी गरिए पनि सम्बन्धित व्यक्तिले अतिक्रमिण क्षेत्रमा बनेका घर टहरा नहटाएपछि प्रहरीको कडा सुरक्षाकाबीच अवैध संरचना भत्काइएको हो ।  

यता, स्थानीय प्रशासनले आफूसँग पहल नै नगरी संरचना भत्काएको भन्दै आन्दोलनरत विद्यार्थी भने रुष्ट भएका छन् । उनीहरुले ठूला व्यापारीका संरचनाबाट सुरु गर्नुपर्नेमा प्रशासनले साना व्यवसायीबाट सुरु गरेको भन्दै असन्तुष्टि जनाएका छन् । 

प्रशासनले अवैध संरचना भत्काएपछि भने आन्दोलनरत पक्षले बन्द फिर्ता  लिएका छन् ।
 

अन्तिम अपडेट: चैत ८, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया