यूएईसँगको श्रम सम्झौताको मस्यौदामा आज छलफल हुँदै

 माघ १६, २०७५ बुधबार ८:१४:१७ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएईसँगको श्रम सम्झौताको मस्यौदामा छलफल गर्न प्राविधिक टोली मंगलबार यूएई आइपुगेको छ । सरकारले श्रम सम्झौता (एमओयूको) मस्यौदा टुंगो लगाउन पठाएको प्राविधिक टोलीले बुधाबार यूएईको श्रम तथा मानव संसाधन मन्त्रालयमा छलफल गर्दैछ ।

ओमानसँगको  छलफलपछि प्राविधिक टोली मंगलवार यूएई आइपुगेको र बुधबार यहाँ छलफल सुरु गर्ने नेपाली दूतावास यूएईले जनाएको छ। छलफलमा सहभागी प्राविधिक टोलीले आफ्ना कामदारको सुरक्षा, सेवा सुविधा, र शून्य लागतलगायतका विषयमा कुरा राख्दैछ । छलफल बिहीबारसम्म चल्नेछ । 

यूएईले झण्डै डेढ महिना पहिले सम्झौताको खाका नेपाललाई पठाएको थियो । यो मस्यौदामा धेरै सकारात्मक विषय भए पनि मस्यौदामा समावेश नभएका वा थप प्रष्ट हुनुपर्ने विषयमा समेत टोलीले आफ्नो धारणा राख्ने छ । छलफलका आधारमा सम्झौताको अन्तिम खाका तय हुनेछ । 

प्रस्तावमा सहमति भएका विषयलाई दुवै पक्षले मन्त्रीस्तरमा जानकारी गराउने र मन्त्रीस्तरको छलफलपछि मात्र सम्झौतामा हस्ताक्षर गरिने कार्यबाहक राजदूत सागरप्रसाद फुयाँलले उज्यालोलाई जानकारी दिनुभयो । 

सरकारले श्रम सम्झौताको मस्यौदा टुंगो लगाउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा वैदेशिक रोजगार महाशाखा प्रमुख डाक्टर रामप्रसाद घिमिरेको नेतृत्वमा पाँच सदस्यीय टोली पठाएको छ । 

यूएईसँग सन् २००७ मा गरिएको श्रम सम्झौता नवीकरण गर्न लागिएको हो । मलेसिया, यूएई, ओमान, कतार तथा खाडी देशसँग श्रम सम्झौता गर्ने र त्यसलाई थप प्रभावकारी बनाउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको प्रस्तावमा सरकारले कार्यदल बनाएर काम गरिरहेको छ ।  

यूएईमा अहिले झण्डै साढे दुई लाख नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत रहेको तथ्यांक छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया