कारागार भित्रै थुनुवाले गरे आत्महत्या

 माघ १६, २०७५ बुधबार १३:३८:० | उषा तामाङ
unn.prixa.net

दोलखा – जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाएकै रात एक थुनुवाले कारागार भित्रै आत्महत्या गरेका छन् । 

श्रीमती हत्या आरोपमा मंगलबार पूर्पक्षका लागि थुनामा पठाएका कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ लापिलाङका २४ वर्षीय च्याङा शेर्पाले कारागारको शौचालयको झ्यालमा झुण्डिएर आत्महत्या गरेका हुन् । झुण्डिनका लागी उनले जुत्ताको लेसको प्रयोग गरेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले जानकारी दिनुभयो । 

मंगलबार साँझ ५ बजे कारागार पुगेका शेर्पा करिब साढे १२ बजे पेट दुख्यो भनि कारागारको भित्री शौचालय गएका थिए । शौचालय गएका शेर्पा १० मिनेटसम्म पनि नफर्किए पछि बाहिरी गेटको माध्यमबाट हेर्दा मृत अवस्थामा फेला परेको जिल्ला कारागार दोलखाका प्रमुख मित्रबन्धु तिवारीले जानकारी दिनुभयो ।  

शेर्पाकी श्रीमती लक्की भनिने सर्किनी शेर्पा पुस १६ गते चरिकोटस्थित आफ्नै कोठामा सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । 

श्रीमती हत्या गरेको आरोपमा शेर्पालाई दोलखा प्रहरीले पुष २० गते पक्राउ गरेको थियो । पक्राउ पछि २४ दिन प्रहरी हिरासतमा रहेका उनलाई हिजो (मंगलबार) मात्रै दोलखा जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाएको थियो । 

मृतक शेर्पाको शवलाई पोष्टमार्टमका लागि चरिकोटमा रहेको शव गृहमा राखिएको छ । 

अन्तिम अपडेट: चैत ३, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया