श्रमिकलाई तलब नदिने मलेसियाको डब्लूआरपी कम्पनीलाई कारबाही हुने

 माघ १७, २०७५ बिहिबार १५:५६:३ | उज्यालो सहकर्मी

सुनाखरी मगर/उज्यालो । 

मलेसिया – श्रमिकको तलब रोक्ने मलेसियाको डब्लूआरपी कम्पनीलाई मलेसिया सरकारले कारबाही गर्ने भएको छ । मलेसियाको मानव संशाधन मन्त्रालयले डब्लूआरपी एसिया प्यासिफिक कम्पनीलाई कारबाही गर्ने बताएको हो ।

तलब नदिएपछि नेपाल र बाङ्लादेशसहित विभिन्न देशका दुई हजारभन्दा धेरै कामदारले हडताल सुरु गरेका थिए । कम्पनीले तीन महिनादेखि तलब रोकेको, अतिरिक्त समय काम गरेको रकम नदिएको र अनावश्यक तरिकाले पैसा काटेको कामदार बताएका छन् । 

तर कम्पनीले भने कामदारको यो भनाईको खण्डन गरेको छ । कम्पनीका मुख्य कार्यकारी लि सोन होंग कम्पनीमा कार्यरत सबैलाई समयमै तलब दिएको र उनीहरुलाई मलेसियाको कानुन अनुसारको सुविधा पनि दिइएको दाबी गरेको मलेसियाको एक अनलाइन पत्रिका मलाया मेलले लेखेको छ ।

रबरको पञ्जा उत्पादन गर्ने यो कम्पनीले अघिल्लो वर्षको नोभेम्बरदेखि विदेशी श्रमिकको तलब रोकेको थियो । मंगलबार श्रमिकको तलब दिने सहमति भएपनि कम्पनीलाई कारबाही गरिने मानव संशाधन मन्त्रालये स्पष्ट पारेको छ । 

कम्पनीले फेरि यस्तो गल्ती नगरोस र अरु कम्पनीका लागि पनि नजिर बनोस भनेर कारबाही गर्नुपर्ने मन्त्रालयको भनाई छ । श्रम विभागले कम्पनीलाई कारबाहीको प्रक्रिया अघि बढाएको बताएपनि के कारबाही गर्ने भन्ने चाहिँ स्पष्ट पारेको छैन । 

श्रमिकले हडताल गरेपछि नेपाल, बङ्लादेशको मलेसियामा रहेका दूतावास र कम्पनीका प्रतिनिधिको सामुहिक बैठक बसेको थियो । बैठकपछि रोकिएको तलब दिने र अबदेखी समयमै तलब दिने सहमतिपछि श्रमिकहरु काममा फर्किएका छन् । 

यो पनि पढ्नुहोस् । 

मलेसियाको एक कम्पनीले तलब नदिएपछि कामदार हडतालमा

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया