रोजगार संयोजककाे लागि झण्डै २४ हजार जनाको आवेदन, ईमेल भेरिफाई नगर्ने आवेदकलाई भोलिसम्मको म्याद

 माघ १८, २०७५ शुक्रबार १९:०:२८ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार संयोजकका लागि झण्डै २४ हजारको आवेदन परेको छ । दरखास्त दिने अन्तिम म्याद शुक्रबारसम्म २३ हजार ९ सय ६८ जनाको आवदेन परेको हो ।

प्रदेश १ बाट ३, ६६५, प्रदेश २ बाट ३,६७१, प्रदेश ३ बाट ४,९९४, गण्डकी प्रदेशबाट १,९५५, प्रदेश ५ बाट २,३०१, कर्णाली प्रदेशबाट ३,३७८ र सुदूरपश्चिम प्रदेशबाट ४,००४ जनाको आवेदन परेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाअनुसार प्राप्त कूल आवेदनमध्ये ५८०५ जना आवेदकले आफ्नो ईमेलमा गई आवेदन भेरिफाई नगरेको पाइएको छ। तोकिएको समयसीमाभित्र आवदेन दिएका तर भेरिफाई नगरेका आवेदकहरुलाई शनिबार राती १२. बजेसम्म भेरिफाई गर्न सक्ने व्यवस्था गरिएको छ। भेरिफाई नभएका आवेदकहरुको सूची वेभसाइटमा समेत प्रकाशित गरिएको मन्त्रालयले जनाएकाे छ। साथै सम्बन्धित आवेदकको मोबाइल नम्बर तथा ईमेल ठेगानामा समेत सोको जानकारी पठाइ सकिएको पनि मन्त्रालयकाे भनााइ छ। 

प्राप्त दरखास्तहरुको तोकिएका मापदण्डहरुका आधारमा स्वचालित कम्प्युटर प्रणालीबाट रिक्त पदसंख्याको तीनगुणा बराबर आवेदकहरुको योग्यताक्रमको प्रारम्भिक सूची आजका मितिले १० दिनभित्र तयार गरी कम्प्युटर सीप परीक्षाका लागि मिति, समय र स्थान तोकी प्रधानमन्त्री रोजगार कार्यक्रमको वेभसाइट www.pmep.gov.np मा सूचना सार्वजनिक गरिनेछ।  यसको जानकारी योग्यताक्रमको प्रारम्भिक सूचीमा पर्ने उम्मेदवारहरुको मोबाइल नम्बरमा समेत पठाइनेछ।

प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि प्रत्येक स्थानीय तहअन्तर्गत रहने रोजगार सेवा केन्द्रको रोजगार संयोजकको अस्थायी दरबन्दीमा करारमा कर्मचारी नियुक्त गर्न सरकारले दुई हप्ताको समय दिएर आवेदन माग गरेको थियो । 

१० हजारभन्दा कम जनसंख्या भएका ४८ वटा स्थानीय तहमा राजपत्रअंकित प्रथम श्रेणी (नासु सरह)को र १० हजारभन्दा बढी जनसंख्या भएका बाँकी स्थानीय तहमा शाखा अधिकृत सरहको दरबन्दी सृजना गरिएको छ । 

छनोट प्रक्रिया :

रोजगार संयोजक छनौट तीन चरणमा गरिने र सबै कम्युटर प्रणालीबाट हुने प्रधानमन्त्री रोजगार कार्यक्रमका कार्यक्रम संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो । 

न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रमा प्राप्त गरेको प्रतिशतबापत ७० अंक, माथिल्लो तहको शैक्षिक योग्यता बापत थप २० प्रतिशत, २ वर्षभन्दा बढी अनुभव भएकालाई थप १० प्रतिशत अंक दिइने छ ।

पहिलो चरणमा सबै मापदण्डअनुसार सफ्टवेयर प्रणालीबाट प्रत्येक स्थानीय तहमा तीनजनाको दरले २ हजार २ सय ५९ जनाको नाम सर्टलिस्टमा निकालिने छ । त्यसपछि २५ वटा बहुबैकल्पिक प्रश्न राखेर सर्टलिस्टमा छानिएका उम्मेदवारको अनलाइनमार्फत कम्युटर ज्ञानको परीक्षा लिइने छ । 

कम्युटरले नै शैक्षिक योग्यता र काम गरेको अनुभवका आधारमा छानोट गर्ने र कम्युटर मार्फत परीक्षा दिँदा त्यतिबेला नै आफूले प्राप्त गरेका नम्बर थाहा पाउन सकिने संयोजक दाहालले बताउनुभयो । 

रोजगार व्यवस्थापन सूचना प्रणाली भएकाले रोजगार संयोजकका लागि सामान्य कम्युटर प्रणालीबारेको शिक्षालाई अनिवार्य बनाइएको छ ।

‘हामीले कम्युटर सम्बन्धी ज्ञान यति हुने भनेर मापदण्ड बनाएका छैनौं, तर सामान्य ज्ञान भएकालाई छनोट गरियो भने भोलि तालिम दिएर सफ्टवयेर चलाउन सक्ने बनाउन सकिन्छ भन्ने हाम्रो उदेश्य हो,’ संयोजक दाहालले भन्नुभयो । 

फागुनभित्र सबै प्रक्रिया पूरा गरी रोजगार संयोजक नियुक्ति गरिसक्ने र चैत १ गतेदेखि बेरोजगारहरुको सूचीकृत गर्ने काम सुरु हुने श्रम मन्त्रालयले जनाएको छ । 

रोजगार संयोजकको काम :

रोजगार संयोजकले स्थानीय तहभित्र रहेका बेरोजगार व्यक्तिको तथ्यांक संकलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्ने, सूचीकृत बेरोजगार व्यक्तिलाई परिचयपत्र वितरण गर्ने, स्थानीय तहभित्र उपलब्ध रोजगारीका अवसरहरुको पहिचान गरी त्यसको सूचना दिने, स्थानीय तहभित्रको रोजगारीको सम्भावित स्थिति विश्लेषण गरी रोजगारीको तथ्यांक संकलन गर्ने, रोजगार नक्सांकन गर्ने तथा रोजगारीका अवसरको अभिलेखांकन गर्ने, रोजगारदाताका लागि श्रमिकका बारेमा जानकारी गराउने, रोजगारदाताबाट माग भए बमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने काम गर्नेछन् । 

यस्तै बेरोजगारहरुको ज्ञान, सीप, अनुभव, क्षमता र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालिमको पहिचान गरी सम्बन्धित तालिम केन्द्रमा सिफारिस गर्ने,  आफ्नो कामका बारेमा  नियमित रुपमा सम्बन्धित गाउँ कार्यपालिका तथा नगर कार्यपालिकालाई जानकारी गराउने, ऐन तथा नियमावली बमोजिम आफूले गरेका कामका बारेमा  मन्त्रालयले तोकेको ढाँचामा मन्त्रालय र प्रदेशको रोजगारी सम्बन्धी विषय हेर्ने मन्त्रालयमा मासिक रुपमा प्रतिवेदन पठाउने काम रोजगार संयोजकले गर्नुपर्ने छ । 

योसँगै आफ्नो कार्यक्षेत्रभित्रबाट वैदेशिक रोजगारीमा जान चाहनेका लागि सूचना दिने, वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले दिने सेवा र आर्थिक सहायता वितरण सम्बन्धी कार्यमा सहयोग पुर्याउने, वैदेशिक रोजगारमा गएका व्यक्तिका परिवारलाई दिने भत्ता वितरण गर्ने काम गर्नु पर्नेछ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया